जातीय विभेद नगर्नेलाई सम्मान

हिमालय टाइम्स
Read Time = 3 mins

खोटाङ । जातीय विभेद नगर्ने प्रतिबद्धता जनाउने खोटाङको खोटेहाङ गाउँपालिका-२ वाप्लुखाका श्यामकुमार राईलाई सम्मान गरिएको छ । राष्ट्रिय छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममार्फत् आगामी दिनमा कुनै पनि जातीय विभेद नगर्ने घोषणा गरेका राईलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ कमिटीले सम्मान गरेको हो ।

राईलाई दोसल्ला ओढाएर अबिर लगाइदिएर सम्मान गरिएकोे नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका पालिका कमिटी सचिव युवराज कालिकोटेले बताउनुभयो ।

छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित महिना दिने कार्यक्रममा राईले सबै मान्छे एक भएकाले कसैले कसैलाई विभेद नगर्न आह्वान गर्नुभयो । उहाँले आफ्नो घरमा जुनसुकै जातिलाई प्रवेश गर्न रोकतोक नहुने घोषणा गर्नुभयो । ‘म बिन्दबहादुर राईको छोरा श्यामकुमार राई हो । म अहिले ३९ वर्ष पुगेँ । हामी सबै मान्छे एक हौँ । कसैले कसैलाई विभेद गर्नु हुँदैन,’ राईले घोषणा गर्दै भन्नुभयो, ‘मेरो घरमा जो सुकै आएर पस्न सक्नुहुन्छ । बरु केही साथीहरू आएर मेरो घरमा पस्न डराउनुुहुन्छ । नडराउनुस्, कुनै छेकवार छैन ।’

गत २२ जेठमा खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीबाट सुरु गरिएको एक महिने राष्ट्रिय छुवाछुतमुक्त दिवस खोटेहाङ गाउँपालिका-७ खोटाङबजार पुगेर समापन गरिएको छ । दिवसको अवसरमा संघले दलित समुदायको सामाजिक र आर्थिक परिवर्तनका लागि स्थानीय सरकार समक्ष जनचेतनामुलक, क्षमता विकास र सघन क्षेत्र विकास कार्यक्रम गर्न माग राखेको छ ।

यस्तै, ‘जातीय छुवाछुत गर्दिनँ’ भन्ने स्वघोषणा गर्ने/गराउने, जातीय छुवाछुत गर्नेलाई सरकारी सेवासुविधाबाट बञ्चित गर्ने व्यवस्था गर्न, प्रत्येक वडामा दलित शिर्षकमा बजेट विनियोजन गर्न लगायतमा माग राखिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जनाएको छ ।

दिवस समापनको अवसरमा दलित समुदायका १८ जनालाई १० हजार बराबरको औजार र २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सचिव कालिकोटेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?