माओवादी जनयुद्धले औचित्य पुष्टि गर्न सकेन : अध्यक्ष ओली

Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले निहत्था मान्छेको हत्या र राज्यको अर्बौ क्षति पुर्याउनुबाहेक कुनै पनि औचित्य पुष्टि गर्न नसकेको बताउनुभएको छ ।

शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले हत्या गरेका ओखलढुंगाका एमाले नेता छवी कार्कीको स्मृतिमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले १७ हजार मान्छे मारेर माओवादीले के पायो ? भन्ने जवाफ दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘माओवादीले के का लागि हतियार उठाएको थियो भनेर आजसम्म उसले जवाफ नदिएको समेत बताउनु भयो। आजको प्रश्न सुनेर भोलि पर्सी प्रचण्डले जवाफ दिए हुन्छ । महान जनयुद्ध उनीहरुले के पाएर छाडे ? बहुदलीय व्यवस्था र विघटित संसदको पुनस्र्थापनाको लागि १७ हजार मान्छे मारेको हो ? फास्ट ट्र्याकबाट सत्तामा जानेबाहेक माओवादीसँग अरु कुनै उद्देश्य नभएको उहाँको भनाइ थियो ।

अर्को प्रसंगमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुटीमा बसेर खुलेआम लुटेको बताउनुभएको छ । देशको साँचो लिएर लुट्ने काममा सरकार र सरकारका मन्त्रीहरु लागेका बताउनुभयो । देशको ढुकुटीभित्रै बसेर बैधानिक रुपमा लुट्ने सरकार अब स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ ।

व्यापारीका प्रतिनिधि ल्याएर उनीहरुले डिक्टेसन गरेका आधारमा करका दर र अन्तशुल्क तय गरिएको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, 'दुनियाँमा नभएको विश्वमा कहिँ नभएको तमासा हेर्नुस् त, सचिवले बजेट बनाउन पाउँदैन व्यापारीका प्रतिनिधि ल्याएर, कुनकुन करका दर कहाँकहाँ कतिकति राख्ने भनेर उनीहरुले डिक्टेसन गरेका आधारमा करका दर र अन्तशुल्क तय हुन्छ,विभिन्न छुट तय हुन्छ,यो भन्दा लज्जाजनक के हुन सक्छ ?

देश लुट्ने काममा संलग्न भएपछि राजीनामा दिनुको सट्टा सदनबाट धम्क्याइएको अध्यक्ष ओलीले बताउनुभयो । निर्वतमान अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, 'वैधानिक रुपमा खुलेआक देश लुट्ने काम, ढुकुटीमै पसेर लुट्ने काम विश्वमा कहीँ सुन्नुभा छ ? नेपालमा हुन्छ , लाजशरम छैन फेरि रोष्टममा उभिएर मैले गल्ती गरेँ भनेर राजीनामा दिए त हुन्थ्यो नि, पखौला-हेरौला भनेर उल्टै धम्क्याएको छ, केपी ओलीको राष्ट्रवाद पर्दाफास हुन्छ भनेर मलाई राजीनामा गर्न भन्या रे, मैले कहाँ राजनीनामा गर्न भनें ? छानबिन गरेर कारबाही गर्नुस् भनेको नि ।'

अध्यक्ष ओलीले गठबन्धन दलको उद्देश्य एमालेलाई सिध्याउने, नेपालको राष्ट्रियतालाई कमजोर बनाउने, लोकतन्त्र कमजोर पार्ने, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्ने, लोकतान्त्रिक संस्थाहरु कमजोर पार्ने रहेको बताउनुभयो । अहिले पनि गठबन्धन सरकारले त्यही काम गरिहरेको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले यो सरकारको काम सकिएकोले अबिलम्ब हट्नुपर्ने बताउनु भयो यदि आफैँ नहटे जनताले टिपेर मिल्काउनुपर्ने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?