चैते धान काट्दै दाङका किसान

हिमालय टाइम्स
Read Time = 7 mins

-विवेक खड्का

दाङ । असार महिनाको अन्त्यतिर लाग्दै गर्दा दाङका अधिकांश किसानहरू धानखेतीमा व्यस्त छन् । मानो छरेर मुरी उब्जाउनका लागि किसानहरू खेत जोत्नदेखि धान रोप्न व्यस्त छन् । असारे झरीसँगै विगत तीन दिनदेखि सक्रिय मनसुन सुरु भएकाले किसानलाई धान रोप्न पानीको पनि समस्या देखिएको छैन । कतै सुक्खा स्थानमा मोटरबाट पानी तानेरै पनि किसानहरूलाई धान रोप्न भ्याइ–नभ्याई छ ।

पूर्वी देउखुरी क्षेत्रमा करिब ७० प्रतिशत खेतमा रोपाइँ सकिसकेको छ भने दाङ उपत्यकामा पनि करिब ५० प्रतिशतको हाराहारीमा रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रले अनुमान गरेको छ । कृषिलाई यान्त्रीकरणतर्फ लगिँदै गर्दा धान रोपाइँमा पनि हलगोरु र ठिगारेको साटो ट्याक्टर र पावर टेलरबाट खेत जोत्ने र सम्याउने काम भइरहेको किसानहरूले बताएका छन् । यद्यपि, रासायनिक मलको सहज आपूर्ति भने हुन सकेको छैन ।

किसानहरूले भारतीय सीमा बजारबाट ल्याएको महंगो मल प्रयोग गरेरै पनि धान रोप्ने कामलाई निरन्तरता दिइरहेको बताएका छन् । जिल्लाका अधिकांश ठाउँमा धान रोपाइँ भइरहँदा बंगलाचुली गाउँपालिका–४ डाबरका किसानलाई भने चैते धान घरमा भित्त्र्याउन हतारो छ । खेतमा पाकेको धानलाई पानीले असर गर्ने भएपछि किसानहरूलाई चैते धान घरमा भित्त्र्याउन हतार भएको हो । वैशाखको पहिलो सातातिर रोपेको धान पाकेसँगै घरमा भित्त्र्याउन  थालेको बंगलाचुली–४ डाबर निवासी किसान रत्न थापाले बताउनुभयो । उहाँका अनुसार अहिले चैते धान काट्नदेखि धान घरमा भित्त्र्याउने काम भइरहेको छ । ‘बर्खे धान भएको भए एकैपटक काटेर विस्तारै दाउने हुन्थ्यो । तर, चैते धान वर्षातको समय काट्नुपर्ने भएका कारण सकेर दाउने हुँदैन,’ किसान थापाले भन्नुभयो, ‘त्यसैले वर्षातको समयमा पानी पर्ने डरका कारण धान काट्दै घरमा लगेर धान झाट्ने गरिरहेका छौँ ।’

उहाँका अनुसार चैते धान यस वर्ष राम्रो उत्पादन भएको छ । करिब ६ कठ्ठा खेतमा चैते धान रोप्नुभएका थापाले उक्त खेतमा पुनः बर्खे धान रोपेर वर्षमा दुई बाली धान उत्पादन गर्दै आउनुभएको छ । अब उहाँ बर्खे धान रोप्ने तयारीमा जुट्नुभएको छ । त्यसैगरी बंगलाचुली गाउँपालिका–४ तल्लो गहतेरा निवासी रेश्मा गिरीलाई पनि खेतमा पाकेको चैते धान घरमा भित्त्र्याउन चटारो छ । चैते धान पाकेसँगै बर्खे धान रोप्नलाई ब्याड तयार हुन थालेपछि पाकेको धान काट्दै गरेको गिरीले बताउनुभयो । ‘खेतमा वैशाखमा रोपेको धान पाकिसकेको छ भने बर्खे सिजनका लागि ब्याड पनि तयार हुँदैछ,’ गिरीले भन्नुभयो, ‘त्यसैले अहिले पाकेको धान काट्दै गरेका छौँ । अबको केही दिनमा रोपाइँ हुन्छ ।’

असार महिनामा पानी परिरहने भएका कारण चैते धान घरमा भित्त्र्याउँदा भने समस्या हुने गरेको उहाँको भनाइ छ । ‘बर्खाको समयमा पानी परिरहने भएका कारण पाकेको चैते धान स्याहार्न समस्यै हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, धान राम्रो उत्पादन हुने भएपछि गाउँका अधिकांशले खेती गर्दै आएका छन् ।’ बर्खे धानजस्तो चैते धान नफल्ने भए पनि मौसम र पानी प्रशस्त भएको ठाउँमा राम्रो धान फल्ने गरेका कारण जिल्लाका धेरै ठाउँहरूमा चैते धानखेती हुने गरेको छ । केही वर्षअघिसम्म चैते धान रोप्ने किसानलाई सरकारले प्रोत्साहनस्वरूप बिउ निःशुल्करूपमा दिने गरे पनि पछिल्लो समय दिन छोडेको किसानहरू बताउँछन् ।

जिल्लामा बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ अन्तर्गत डाबर, घोराही उपमहानगरपालिका–१ को सुकाखोला र देउखुरीका विभिन्न ठाउँमा किसानले चैते धान रोप्ने गरेका छन् । कृषि ज्ञानकेन्द्र दाङका अनुसार जिल्लामा दुई हजार पाँच सयभन्दा बढी हेक्टरमा चैते धानखेती हुने गर्छ । चैते धान रोपेका किसानहरूले साउनको पहिलो सातासम्म पुनः उक्त खेतमा बर्खे धान रोपेर वर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन् ।

जिल्लाको ३९ हजार ९०५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३५ हजार हेक्टर बढी जमिनमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रबाट आवश्यक प्राविधिक सहयोग र पालिकाबाट उन्नत जातको बिउ–बिजन उपलब्ध हुन सके यहाँको धान उत्पादनले जिल्लाभरिको खपतलाई पूरा गरेर बाहिर निकासी गर्न पनि सकिने किसानहरूले बताएका छन् । उनीहरूले स्थानीय सरकारलाई समयमा मलबिउ उपलब्ध गराउन र आधुनिक कृषि प्रणालीमा किसानलाई जोड्न पनि आग्रह गरेका छन् । त्यस क्षेत्रको आर्थिक आयआर्जनको मुख्य आधार कृषि नै भएकाले यसलाई सहज र उत्पादनमुखी बनाउन पनि ती किसानहरूको आग्रह थियो । तर, यो सन्दर्भमा स्थानीय सरकारले भने खासै ध्यान दिन नसकेको उनीहरूको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?