म अभिनय क्षेत्रबाट टाढा भाग्न सक्दिन, यही क्षेत्रमा छु : उत्तम प्रधान

कृष्ण भुसाल
Read Time = 13 mins

टेलिसिरियल ‘मुक्ति’ बाट सर्वाधिक चर्चामा आउनुभएका उत्तम प्रधानले तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले ‘दर्पण छायाँ’, ‘लहना’, ‘मितिनी’, ‘बसाइँ’ जस्ता चलचित्रमार्फत् दर्शकमाझ आफ्नो छुट्टै छाप छोड्न सफल हुनुभएको छ । सिक्किम चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहेर नेपाली कला क्षेत्रको विकास र संवद्र्धनमा योगदान पुर्‍याउनुभएका उत्तम कुनै समय हिट अभिनेताका रूपमा नेपाली कला क्षेत्रमा हुनुहुन्थ्यो । उत्तमले वर्षमा ६ वटासम्म चलचित्रमा काम गर्नुभएको थियो, जुन बेला वर्षमा १४ वटामात्रै चलचित्र निर्माण हुने गर्थे । नेपाली चलचित्र क्षेत्रबाट आफू टाढा नभएको बताउनुहुने उहाँले अब चाँडै नै नयाँ चलचित्र ‘दर्पण छायाँपछि फेरि’ दर्शकमाझ ल्याउने तयारी गर्नुभएको छ । मेरो नशा-नशामा कलाकारिता छ, म अभिनय क्षेत्रबाट टाढा भाग्न सक्दिन भन्नुहुने उत्तम नयाँ चलचित्र आफैँले निर्देशन गर्दै हुनुहुन्छ । ‘म अभिनय क्षेत्रबाट टाढा भाग्न सक्दिन, यही क्षेत्रमा छु,’ भन्नुहुने उत्तम प्रधानसँग हिमालय टाइम्स दैनिकका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

यतिबेला के गर्दै हुनुहुन्छ ?
म अहिले सिक्किममा छु र मेरो अर्को प्रोजेक्ट ‘दर्पण छायाँपछि फेरि’ को स्क्रिप्ट रि-राइट गर्दैछु ।

पछिल्लो समय नेपाली चलचित्रका दर्शकले यहाँलाई देख्न पाएका छैनन् नि, गुमनामजस्तै हुनुभएको छ नि ?
हो, तपाईंले भने जस्तै विगत केही वर्ष मेरा केही नयाँ प्रस्तुति दर्शकमाझ आएका छैनन् । तर, काम भने गरिरहेको छु । नेपाल आएर काम नगरेको भएर यस्तो देखिएको हो । म आफ्नो घर सिक्किमतिर नै भएकाले हो । स्थानीयमा चलचित्र, डकुमेन्ट्रीहरू गरिरहेको छु । मेरो नशा–नशामा कलाकारिता छ । म अभिनय क्षेत्रबाट टाढा भाग्न सक्दिन । तपाईंले भने जस्तै गुमनाम हुन सक्दिन । यही क्षेत्रमा छु ।

कति जति चलचित्रमा अभिनय गर्नुभयो ?
मैले अहिलेसम्म झण्डै तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेँ। र, केही वर्षदेखि म चलचित्र क्षेत्रदेखि टाढा रहनुको कारण म सिक्किममा आफ्नो घरपरिवारको काममा थिएँ, त्यसैले गर्दा टाढा बस्न कर लाग्यो तर पनि मैले सिक्किम बसेर केही चलचित्रहरूमा पनि काम गरेँ । एउटा बंगाली चलचित्र पनि गरेँ । र, अब चाँडै मेरो अर्को चलचित्र ‘दर्पण छायाँपछि फेरि’ गर्दैछु । जुन चाहिँ ‘दर्पण छायाँ’ कै सिक्वेल हो । यसको छायांकन चाँडै सुरु हुँदैछ । आशा छ दर्शकले दर्पण छायाँलाई जस्तै यो चलचित्रलाई पनि माया गर्नुहुन्छ भनेर । यो चलचित्रको निर्देशन म आफैँ गर्दैछु ।

कस्तो चलचित्र हो ‘दर्पण छायाँपछि फेरि’ ?
चलचित्र ‘दर्पण छायाँ’ ले नै मलाई दर्शकमाझ चिनाएको हो । त्यही चलचित्रको कथालाई कन्टिन्यु गर्नलाई ‘दर्पण छायाँपछि फेरि’ नामक चलचित्र निर्माणको तयारीमा रहेको छु ।

यहाँले अभिनय कहिलेदेखि सुरु गर्नुभयो ?
मेरो अभिनयको सुरुवात भन्नुपर्दा खेरी बाल्यकालदेखि नै स्टेजमा धेरैचोटि नाटकहरू गरेँ । सन् १९९९ सालमा तुलसी घिमिरेजीको टेलिचलचित्र ‘मुक्ति’ बाट पहिलोचोटि अभिनय सुरु गरेँ । पछि फेरि तुलसीसरकै चलचित्र ‘दर्पण छायाँ’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरँे ।

कसको प्रेरणाले यो क्षेत्रतर्फ आकर्षित गर्‍यो ?
प्रेरणाको स्रोत भन्दाखेरी म सानैदेखि यो नाटक अनि नाच-गानमा रुचि भएकाले साथीभाइ अनि परिवारले इन्करेज गर्ने गर्नुहुन्थ्यो मलाई ।

धेरै चलचित्रमार्फत् लोकप्रियता हासिल गर्नुभएका यहाँ आफैँलाई चाहिँ कस्तो अभिनय मन पर्छ ?
कस्तो एक्टिङ मन पर्छ भन्ने कुरा गर्ने हो भने हुन त मलाई ट्राजिडी एक्ट मन पर्छ तर एउटा कलाकार भएपछि सबै थरीको एक्ट गर्नपर्छ ।

यहाँ सिक्किम चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहेर कार्य सम्पादन गर्नुभयो, यहाँको कार्यकालमा के-कस्ता कार्य भए ?
सिक्किममा सन् २०१४ मा सिक्किम सरकारले चलचित्र विकास बोर्डको गठन गर्‍यो र त्यसको अध्यक्षका रूपमा मलाई राख्यो । तर, नयाँ बोर्ड भएकाले गर्दाखेरी हामीलाई अफिसियल डकुमेन्ट, अफिस सेटअपमा अलिक समय लागेकाले भनेजस्तो काम गर्न समय पाइएन । तर पनि हामीले एउटा चलचित्र अवार्ड शोे र केही टेलेन्ट हन्ट शोहरू गर्‍यौँ । यसको जग बसाउने काम गर्‍यौँ भन्नुपर्ला ।

एउटा कलाकारले समाजमा कस्तो सन्देश फैलाउन सक्छ ?
कलाकारलाई समाजका हरेक मान्छेले हेरिरहेका हुन्छन् । उसका राम्रा र नराम्रा कामको प्रभाव समाजमा परिरहेको हुन्छ । एउटा कलाकार भएपछि हामीले समाजलाई धेरै कुराको मेसेज दिन सक्छौं चलचित्रमार्फत् कुनै सोसियल काम गरेर ।

नेपाली भाषा, साहित्य, कला संस्कृतिमा हामी प्रचुरमात्रामा धनी छौँ तर पनि हाम्रा प्रस्तुतिले अन्य क्षेत्रसँग किन प्रतिस्पर्धा गर्न नसकेका होलान् अर्थात् हाम्रा प्रस्तुति व्यावसायिकरूपमा किन कमजोर देखिएका जस्तो लाग्छ ?
म चाहन्छु कि मेरा हरेक चलचित्र सबैका लागि एउटा राम्रो प्रेरणाको स्रोत बनून् । हाम्रो साहित्य, हाम्रो संस्कृति यसमा हामी धनी छौँ तर चलचित्र जगत्ले यसमा राम्रो गर्न नसकेको भन्दा पनि म के भन्छु भने हाम्रो मार्केट सीमित भएको कारणले पनि हो । त्यसमा अझै हाम्रो माथिल्लो तहका दर्शकहरू कम छन् ।

हाम्रो नेपाली चलचित्र विश्वको हरेक कुनामा पुग्न नसकेको पनि एउटा कारण हो । र, भारतमा नेपाली चलचित्र निर्माणको कुरा गर्नुपर्दा खेरी केही पनि फरक देखिँदैन । नेपालमा जस्तै चलचित्र यहाँ पनि बनाइन्छ तर दुःखको कुरा के छ भने जति पनि चलचित्र यो भारत तथा दार्जीलिङ, सिक्किम भेगमा बनाइन्छ र जब त्यस चलचित्रको प्रदर्शनका लागि यहाँबाट काठमाडौं जान्छौँ ती चलचित्रहरूले हलमा राम्रो समय नपाउने, डेटका लागि दुःख गर्नुपर्ने भएकाले यहाँ नेपाली चलचित्रको निर्माण बेसी नभएको जस्तो लाग्छ मलाई । र, यी सबै कुराहरूलाई हेरेर यसमा सुधार ल्याउन सक्यो भने हाम्रो नेपाली चलचित्रको मार्केट अझ राम्रो भएर जानेछ ।

आफ्नो कला क्षेत्रको जीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अब मेरो आफ्नाबारेमा कुरा गर्नुपर्दा खेरी म सिक्किममै हुर्केँ अनि यहीँ पढेँ । तर, आज नेपालले या भनौँ नेपाली चलचित्र उद्योगले जुन मलाई एउटा पहिचान दिएको छ । नेपाली दर्शकहरूले जुन मलाई माया दिनुभएको छ यसमा धेरै खुसी छु । उहाँहरूलाई हृदयबाट धन्यवाद दिन चाहन्छु अनि भविष्यमा उहाँहरूको माया र आशीर्वादको आशा राख्छु ।

आफूलाई कला क्षेत्रमा सफल भएको मान्नुहुन्छ ?
सफलता र असफलताको मापदण्ड केलाई मान्ने भन्ने हो । मैले प्रस्तुत गरेका प्रस्तुतिलाई दर्शकले मन पराइदिनुभएको छ । फेरि पनि म आफूलाई पूर्णरूपले सफल व्यक्ति भने मान्दिन । हो मैले चाहेको धेरै पाएँ । मैले आफ्नो सपना पूरा गरेँ । अहिलेसम्म मैले सिर्फ पाएको मात्र छु । जुन दिन म मेरो समाज र ठाउँलाई केही दिन सक्छु या त केही गर्न सक्छु त्यसपछि मात्रै म आफूलाई सफल व्यक्ति मान्नेछु ।

लामो समयपछि चलचित्र ‘दर्पण छायाँपछि फेरि’ मार्फत् आउँदै हुनुहुन्छ ? अब यसैलाई निरन्तरता दिनुहुन्छ कि ?
म पहिला नै चलचित्रमा निरन्तररूपमा लाग्ने थिएँ । मैले नेपाली चलचित्र क्षेत्रलाई माया मारेको पनि होइन । पारिवारिक हिसाबले सिक्किमै अडिनुपर्ने भयो । सिक्किममा रहँदा पनि त्यत्तिकै बसेको छैन । चलचित्र र डकुमेन्ट्रीको काम गरेको छु । चलचित्र विकास बोर्डको अध्यक्षमा रहेर केही कामहरू भए । अब मेरा दर्शकलाई फेरि पनि चलचित्रहरू दिनेछु । दर्शकबाट उही पुरानै माया पाउनेछु भन्ने आश छ ।

कला क्षेत्रमा आउन लागेका नयाँ प्रतिभाहरूलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ  ?
नेपाली चलचित्र उद्योगमा आउन चाहने भाइ-बहिनीहरूलाई यही भन्न चाहन्छु कि यो चलचित्र उद्योग सानो छ, यसको दायरा पनि साँघुरो भएको पाउँछु म । यसले गर्दा मुख्यगरी मिडिल क्लास फेमिलीबाट आउनेहरूलाई । यस उद्योगलाई आफ्नो प्रोफेसन बनाए सँगसँगै कुनै अरू केही अर्निङ सोर्स बनाउनुभयो भने तपाईंको जीवन सेफ हुन्छ । सही मान्छेको कुरा या सल्लाह सुन्नुपर्छ भन्छु ।

अन्त्यमा ?
अन्त्यमा, सम्पूर्ण पाठक तथा मेरा प्यारा दर्शकहरूलाई यही कुरा भन्न चाहन्छु कि ‘आफ्नो देशलाई आफ्नो परिवारभन्दा बढी र मानवतालाई आफ्नो देशभन्दा बढी माया गर्नुहोस्’ शान्ति आफैं आउँछ आफ्नो जीवनमा अनि देशमा । जय कलाकर्म ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?