टिजरमा आयो ‘परदेशी-२’

Read Time = 4 mins

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी-२’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार ‘रिमा इन्टरटेनमेन्ट’ युट्युबमार्फत् टिजर सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा आउने मिति पनि तय गरिएको छ । यो चलचित्र दशैँको टीकाको पाँच दिनअघि असोज १४ गतेबाट सिनेमाघरमा आउने भएको छ ।

साढे दुई मिनेटको टिजरमा चलचित्रका मुख्य कलाकारहरू अभिनेता दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा शिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ । ‘परदेशी-२’ लोकप्रिय गायक प्रकाशको डेब्यु चलचित्र हो ।

यसअघि ‘परदेशी’ मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको टिजरबाट आँकलन गर्न सकिन्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा-व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको कुरा पनि टिजरबाट बुझन् सकिन्छ । प्रेम, वियोग, संवेदना, द्वन्द्व, गीत सबैको अंश टिजरमा मिश्रित छ ।

नारायण इन्टरनेसनल प्रालिको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गर्नुभएको हो । चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका गीतकार रमेश बिजीले लेख्नुभएको हो ।

चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतका कलाकारहरूको समेत अभिनय छ ।

बिबी अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ भने गीतमा निर्देशक रायमाझीसँगै प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ । सुदीप कुँवरको सह-निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायांकन गर्नुभएको हो भने दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह-सम्पादन छ ।

ईश्वर घिमिरे/रामहरि डंगोलको पोस्ट प्रोडक्सन, मनोज श्रेष्ठ र दिनेश विष्टको भिएफएक्स, मिराज अर्यालको टाइटल डिजाइन, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन र ५.१ मिक्सिङ रहेको चलचित्रको डबिङ र फोले मनोज खड्काले गर्नुभएको छ । चलचित्रको वितरकमा काठमाडौंका लागि डिसिएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?