देशको ढुकुटी लुटिरहेको गठबन्धन सरकार अविलम्ब हट्नुपर्छ : ओली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन सरकार अविलम्ब हट्नुपर्ने बताउनुभएको छ । शुक्रबार छवि कार्कीको १२औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा देखाएर बसेको बताउनुभयो । उहाँले गठबन्धनको सरकारलाई अब स्वीकार्न नसकिने उल्लेख गर्दै गठबन्धन सरकार नराम्रा कामहरूको थुप्रो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारको के काम ? लाज छैन, मल दिन सकेको छैन । देशको अर्थतन्त्र यस्तो बनाएको छ । देशको साँचो लिएरै ढुकुटीमा गएर लुट्ने । यो सरकारको काम छैन । यो सरकार अविलम्ब हट्नुपर्छ । चुनावमा धाँधली, लुट हुन्छ । मतदातालाई कुटेर लखेट्छ । विकासका आयोजनाहरू सबै कटौती गरेको छ । यो सरकार नराम्रा कामको थुप्रो हो । एक वर्षमा एउटा राम्रो काम गरेन । यो सरकार हट्दैन भने जनताले टिपेर मिल्काउनुपर्छ ।’ अध्यक्ष ओलीले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने हुती नरहेको बताउनुभयो । उहाँले अर्थमन्त्री जनार्दन शर्माले आफैँ राजीनामा दिएको तर राजीनामा नदिएको भए पनि कारबाही गर्ने आँट प्रधानमन्त्रीमा नरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले प्रचण्डपथ भनेको देशलाई भड्खारोमा लाने पथ भएको आरोप पनि लगाउनुभयो । उहाँले मन्त्रालयमा सचिवले बजेट बनाउन नपाउने तर व्यापारीका मान्छे ल्याएर करका दर र अन्तःशुल्क तय हुनु देश गम्भीर संकटतर्फ उन्मुख भएको प्रमाण रहेको बताउनुभयो ।

‘ज्ञानेन्द्रले पढेको वक्तव्य मैले नै ड्राफ्ट गरेको हुँ’

एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको दाबी गर्नुभयो । माओवादीलाई के पाएर जनयुद्ध छोडे ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘२०६३ साल वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले गरेको ड्राफ्ट पढेर सुनाएका थिए । त्यो ड्राफ्ट बल्खुमा पार्टी अफिस थियो । पार्टी अफिसको चौरीमा एउटा रुद्राक्षको छेवैमा बसेर मैले गरेको थिएँ ।’ उहाँले सोही ड्राफ्ट ज्ञानेन्द्रले पढेको भन्दै त्यसमा दुईवटा कुरा रहेको बताउनुभयो । ‘त्यसमा मैले दुईवटा कुरा गरेको थिएँ, भंग गरेको संसद् पुनःस्थापना गर्दिएको छु, दलीय व्यवस्था फर्काइदिएको छु, जनताको नासो जनतामा फर्काएको छु भनेर’, ओलीले ड्राफ्ट रहेको विषयवस्तुबारे भन्नुभयो, ‘अथवा विघटित संसद्को पुनःस्थापना भएको थियो, त्यति न हो !’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?