प्राचीन समयमा नाप तौलको मान

Read Time = 13 mins

✍️ डा.नारायणप्रसाद निरौला

युगअनुसार व्यवहारलाई सरल बनाउने विभिन्न मापन पद्धतिको अवलम्बन गरिन्छ । आजका किलोग्राम, लिटर, मिटर, मिनेट सेकेण्ड आदिभन्दा पहिले पनि नापतौल एवं समयका एकाइ निर्धारित थिए । व्यवहार वृत्तिलाई चलाउन अनेकौं विधि र पद्धतिको विकास भएको थियो । समय क्रमानुसार आधुनिक मान्यताले यस्ता विधि र पद्धतिलाई नयाँ रूपमा प्रतिस्थापित गर्दै गए । मानापाथीभन्दा पनि पहिले विभिन्न एकाइमा वस्तुको मापन गरिन्थ्यो र व्यापार वृत्ति चल्ने गर्दथ्यो ।

समय क्रमअनुसार यस्ता मान्यतामा परिष्कार हुँदै गएको पाइन्छ । आजको किलो, लिटर पनि भोलि अन्य एकाइमा परिवर्तन हुनसक्छन् । लामो कालखण्डमा परिवर्तन हुने भएकाले यस्ता कुरा धेरै थाह नहुन पनि सक्छ । यस्ता वस्तुको ज्ञान पुस्तकमा प्रकाशित सामग्रीबाट प्राप्त गर्न सकिन्छ । यहाँ यस्तै प्राचीन मापनका पद्धतिको चर्चा गरिन्छ ।

काल अर्थात् समय निर्धारणको प्राचीन पद्धति :
काल अर्थात् समय निर्धारणको प्राचीन परपम्परा हाल पनि विद्यमान छ । समय निर्धारणको सबैभन्दा सानो एकाइलाई त्रुटि भनिन्छ । एक त्रुटिमा सेकेण्डको ३३ हजार ७५० भाग पर्दछ । सेकेन्डलाई ३३ हजार ७५० ले भाग गर्दा जुन सूक्ष्म समय प्राप्त हुन्छ सो मानलाई त्रुटि भनिन्छ भनी ज्योतिषशास्त्रको सिद्धान्तग्रन्थ सिद्धान्तसेतुमा उल्लेख गरिएको छ । यसरी त्रुटिदेखि प्रलयसम्मको काल गणना गर्ने पद्धति ज्योतिषशास्त्रमा उल्लेख भएको पाइन्छ ।

एक दीर्घअक्षरको उच्चारण गर्न लाग्ने समय=१ विपला=२/५ सेकेण्ड हुन्छ । यसैगरी १० दीर्घ अक्षरको उच्चारण गर्न लाग्ने समयलाई एक प्राण=असु=१० विपला=४ सेकेण्ड भनिन्छ । ६ प्राण=६ असु=६० विपला=१ पला=२४ सेकेण्ड हुन्छ । यसैगरी ६० पला=१ घटी (नाडी)=२४ मिनेट । ६० घटी =१ अहोरात्र=२४ घण्टा हुन्छ । २.५ घडी=१ घण्टा, २.५ पला=१ मिनेट, २.५ विपला=१ सेकेण्ड । २ घडी=१ मुहूत्र्त=४८ मिनेट, ३.७५ मुहूत्र्त=१ प्रहर=३ घण्टा, ८ प्रहर=१ अहोरात्र=२४ घण्टाको समय हुन्छ ।

यसरी समयको मापन महाप्रलयसम्म रहन्छ । जुन चार अर्ब बत्तीस करोड वर्षमा प्रलय हुन्छ भनी बताइएको छ । चार अर्ब बत्तीस करोड वर्षलाई २ ले गुणा गरी ३० ले गुणा गरी १२ ले गुणा गर्दा हुन आउने समय मान ब्रहृमवर्षको हुन्छ । उक्त वर्षमा ३१ खर्ब १० अर्ब ४० करोड सौवर्ष हुन्छन् । यो मानलाई सयले गुणा गर्दा हुन आउने वर्षमान महाप्रलयको हो । यसरी त्रुटिदेखि प्रलयसम्मको काल अर्थात् समयको मापन गर्न प्राच्य पद्धति हाल पनि विद्यमान छन् । जसका आधारमा पञ्चांग गणनाका साथै हाम्रा तिथि पर्व निर्धारण हुने गर्दछन् । आधुनिक समय मापन मिलिसेकण्डदेखि सेकेण्ड, मिनेट, घण्टा, दिन र वर्षसम्म विद्यमान छ ।

संख्या मापन पद्धति :
संख्या मापनमा आज पनि प्राचीन पद्धति नै विद्यमान छ । एकदेखि पराद्र्धसम्मको गणना गर्ने पद्धति शास्त्रमा उल्लेख छ । एकम् (एक), दश (दश) शत (सय), सहस्र (हजार) अयुत (दश हजार), लक्ष (लाख), प्रयुत (दशलाख), कोट्य (करोड), अर्वुद (दशकरोड), अब्ज (अर्ब), खर्ब, निखर्ब, महापद्म, शङ्ख, जलधि, अन्त्य, मध्य र परार्ध गरी दशगुणोत्तर संख्या मान गणनामा छन् । आजको संख्या मापन पनि यही आधारमा विद्यमान रहेको पाइन्छ । ‘एकदशशतसहस्रायुतलक्षप्रयुतकोटयः क्रमशः । अर्वुदमब्जं खर्वनिखर्वं महापद्मशङ्वस्तस्मात् ।। जलधिश्चान्त्यं मध्यं परार्धमिति दशगुणोत्तराः संज्ञाः । संख्यायाः स्थानानां व्यवहारार्थं कृताः पूर्वैः ।।’ (लीलावती, अभिन्नपरिकर्माष्टकम्, श्लो.२) एक परार्धमा १००००००००००००००००० (एक शंख) संख्या हुन्छ । व्यवहारलाई चलाउन यसरी प्राचीन संख्या पद्धतिको निर्धारण गरेको पाइन्छ । यसभन्दा अधिक दशगुणित संख्या मापनको पनि व्यवस्था छ । यति धेरै संख्याको गणना पद्धति पाश्चात्यमा पाइँदैन । ट्रिलियनसम्मको मात्र गणना विद्यमान छ ।

दूरी मापन :
अजको मिटर किलोमिटरको प्रचलनपूर्व प्राच्य मापनमा हात, अंगुल, दण्ड (लौरो), कोश, योजको मान विद्यमान थियो । ज्योतिाषशास्त्रमा भूगोलको मापनका साथै अन्तरिक्षका ग्रहको दूरी यही आधारमा मापन गरिएको छ । ८ जौका दाना राख्दा हुने दूरी बराबर एक अंगुल (०.०१९०५ मिटर) हुन्छ । यसैगरी २४ अंगुल बराबर एक हात (०.४५७२ मिटर) हुन्छ । ४ हात=१ दण्ड (लौरो)=१.८२८८ मिटर । २००० दण्ड=१ कोश=३.६५७६ किलोमिटर । ४ कोश=१ योजन=१४.६३०४ किलोमिटरको दूरी मान हुन्छ ।

यही आधारमा दूरीको गणना गर्ने विधि प्राचीन पद्धतिमा रहेका छन् । ‘यवोदरैरङ्गुलमष्टसंख्यैर्हस्तोऽङ्गुलैः षड्गुणितैश्चतुर्भिः । हस्तैश्चतुर्भिर्भवतीह दण्डः क्रोशः सहस्रद्वितयेन तेषाम् ।।’ (लीलावती, परिभाषा, श्लो. ५) यसरी भूगोल एवं खगोलीय पिण्डको दूरी मापन गरी गणितका सूत्र उदाहरणका साथै खगोलीय विषयवस्तुको अध्ययन अध्ययापन आज पनि हुने गर्दछ ।

तौल वा भार मापन :
आजका किलोग्राम पनि यही भारमापन पद्धतिका विकसित रूप हुन् । प्राचीन भारमापन पद्धतिमा २ जौका दानाको तौल बराबर १ गुञ्जा (०.११६६३८ ग्राम) हुन्छ । यसैगरी ३ गुञ्जा बराबर एक बल्ल (०.३४९९१४ ग्राम), ८ बल्ल=१ धरण (२.७९९३१२ ग्राम), २ धरण=१ गद्याणक (५.५९८६२४ ग्राम), १४ बल्ल=१ धटक (४.८९८७९६ ग्राम) हुन्छ । ‘तुल्या यवाभ्यां कथिताऽत्र गुञ्जा वल्लस्त्रिगुञ्जो धरणं च तेऽष्टौ । गद्याणकस्तद्द्वयमिन्द्रतुल्यैर्बल्लैस्तथैको धटकः प्रदिष्टः ।।’ (लीलावती, परिभाषा, श्लो. ३) ।

यसभन्दा माथिका एकाइ पनि प्राचीन परम्परामा विद्यमान पाइन्छन् । यवनले प्रचार गरेका मानलाई निम्नानुसार बताइएको छ : ‘पादोनगद्याणकतुल्यटंकैद्विसप्ततुल्यैः कथितोऽत्र सेरः । मणाभिधानं खयुगैश्च सेरैर्धान्यादितौल्येषु तुरुष्कसंज्ञा ।।’ (लीलावती, परिभाषा, श्लो.९) अर्थात् ३६ रत्ति (गुञ्ज) को एक टंक र ७२ टंकको एक सेर हुन्छ । यसैगरी ४० सेरको एक मन हुन्छ । यो अन्न आदि वस्तुको तौल लिन यवनले बनाएको कुरा भास्कराचार्यले लीलावती नामक ग्रन्थमा उल्लेख गरेका छन् ।

तरल पदार्थको मापन पद्धति :
तरल पदार्थलाई पनि विभिन्न एकाइमा मापन गर्ने पद्धति रहेको छ । खारीको सोह्रौं भागलाई द्रोण, द्रोणको चौथो भागलाई आढक, आढकको चौथो भागलाई प्रस्थ र प्रस्थको चौथो भागलाई कुडव भनेर परिभाषा गरिएको छ : ‘द्रोणस्तु खार्याः खलु षोडशांशः स्यादाढको द्रोणचतुर्थभागः । प्रस्थश्चतुर्थांश इहाढकस्य प्रस्थाङ्घ्रिराद्यैः कुडवः प्रदिष्टः ।।’ (लीलावती, परिभाषा, श्लो. ८) अर्थात् ४ कुडवा=१ प्रस्थ (४.५४५९६ लिटर), ४ प्रस्थ बराबर १ आढक (१८.१८३८४ लिटर), ४ आढक बराबर १ द्रोण (७२.७३५३६ लिटर), १६ द्रोण बराबर १ खारी अर्थात् ११६३।७६५७६ लिटर हुन्छ ।

मुद्राको परिभाषा :
प्राचीन समयमा प्रयोग हुने मुद्रा कौडी हुन् । जसलाई बराटक भनिन्छ । २० बराटकको १ काकिणी हुन्छ । चार काकिणीको एक पण, १६ पणको १ द्रम्म र १६ द्रम्मको १ निष्क हुने व्यवस्था लीलावतीमा भास्कराचार्यले यसरी बताइका छन् : ‘वराटकानां दशकद्वयं यत् सा काकिणी ताश्च पणश्चतस्रः । ते षोडश द्रम्म इहावगम्यो द्रम्मैस्तथा षोडशभिश्च निष्कः ।।’ (लीलावती, परिभाषा, श्लो. ८)

वृत्तीय मापन :
वृत्तीय वस्तुको ज्ञानका निम्ति भगण, राशि, अंश, कला विकलाको व्यवस्था गरिएको छ । आधुनिक गणनामा डिग्री मिनेट र सेकेण्डमात्र प्रचलनमा छन् । यो ब्रहृमाण्डलाई गोलाकार (चक्र) का रूपमा परिकल्ना गरिएको छ । एक चक्रमा १२ राशि हुन्छन् । एक राशिमा ३० अंश (डिग्री) हुन्छ । ६० कला बराबर ३० अंश र ६० विकला बराबर एक कला मान हुन्छ । ६० को मापन एकाइमा प्रतिविकला पनि हुन्छन् । हाल गणनमा विद्यमान रहेका एकाइमा भचक्र, राशि, अंश, कला, विकलाका रहेका छन् । जसबाट पृथ्वीको अक्षांश, देशान्तर, आकाशीय ग्रहहरूको कोणीय अन्तर आदिको ज्ञान गर्न सकिन्छ ।

यसका साथै वर्गक्षेत्र, घनहस्त क्षेत्र, क्षेत्रमिति, चापीय क्षेत्र ज्ञान, गोलीय क्षेत्र ज्ञान, खात व्यवहार ज्ञान आदिका पनि थुप्रै एकाइ विद्यमान पाइन्छन् । जसको प्रयोग ज्योतिषका गणितीय उपपत्ति प्रदर्शनमा प्रयोग गरिन्छन् । कालक्रमसँगै कतिपय कुरा परिवर्तित हुँदै जाने गर्दछन् । समय मापनको विधि र पद्धति हाल पनि प्रचलनमा रहेको छ । तिथि गणना, वर्ष, महिना निर्धारण सूर्यको गतिका आधारमा गरिन्छ ।

प्राचीन मान्यतामा सूर्यले ३६० अंश पार गरेपछि एक चक्रभोग हुन्छ । जुन एक वर्षमा पूरा हुने गर्दछ । यसैलाई सौरवर्ष पनि भनिन्छ । यसैगरी वृत्तीय मापन विधि पनि आज प्रचलनमा रहेको छ । ३६० अंशको एक वृत्त (चक्र) मानेर हाल पनि खगोलीय गणना हुने गर्दछ । व्यवहार वृत्तिलाई सहज बनाउन अपनाइएको मापन पद्धति हाम्रा मौलिक विषयवस्तु हुन् । जसको उचित संरक्षण आज आवश्यक देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?