ध्रुवचन्द्र गौतम : ‘लेखनयात्राको आठौं दशकको पूर्वसन्ध्या’

हिमालय टाइम्स
Read Time = 6 mins

✍️ सुशीला घिमिरे
एउटा उच्च महत्वको पुस्तक मेरा हातमा छ अहिले जसले ध्रुवचन्द्र गौतम जो नेपाली साहित्यका आख्यान पुरुष मानिनुहुन्छ उहाँकै बारेमा लेखिएको पुस्तक हो यो । पुस्तक डिएमआई साइजमा छ ३३६ पृष्ठको । त्यसकारले यसलाई ठूलो पुस्तकको वर्गमा राखिनुपर्छ । गौतमका बारे अन्य केही नाम चलेका विद्वान साहित्यकारबाट लेखिएका लेखरचना छन् यसभित्र । रमाकृष्ण सिर्जना प्रतिष्ठान काठमाडौं प्रकाशक रहेको यस पुस्तकको सम्पादक रहनुभएको छ यस प्रतिष्ठानका अध्यक्ष महेन्द्रबहादुर गुरुङ । सम्पादन सहयोगीहरूमा जयदेव भट्टराई, डा.खुमनारायण पौड्याल र डा. ईशान गौतम रहनुभएको छ ।

सर्वाधिकार प्रकाशक रमाकृष्ण सिर्जना प्रतिष्ठानमा रहेको यस पुस्तकको यो पहिलो संस्करण हो र प्रथम संस्करणमा १००० प्रति पुस्तक छापिएका छन् । पहिलो संस्करण २०७९ सालमा भएको छ । ४५० रुपैयाँ मूल्यको यस पुस्तकको मुद्रण बगलामुखी अफसेट प्रेस कोपुण्डोल ललितपुरमा भएको छ यसको लेआउट सज्जा हिमाल जिसीले गर्नुभएको छ भने आवरण देवेन्द्र गुरुङले तयार पार्नुभएको बताइएको छ । आवरणमा पहेंलो पृष्ठभूमिमा स्रष्टा गौतमको स्केचचित्र राखिएको छ । माथि पुस्तकको नाम रहेको छ भने तल सम्पादक महेन्द्रबहादुर गुरुङको नाम राखिएको छ ।

पृष्ठ आवरणमा यसै पुस्तकबाट भनेर यसभित्रको महत्वपूर्ण भनाइलाई साभार गरिएको छ । तल बारकोड र प्रकाशक रमाकृष्ण सिर्जना प्रतिष्ठानको नाम लोगोसहित दिइएको छ । पुस्तक हलुका पहेंलो कागजमा छापिएको छ र छपाइ स्तरीय छ । अशुद्धिहरू पाइँदैनन् । पुस्तकको भूमिका खण्डमा रमाकृष्ण सिर्जना प्रतिष्ठानको तर्फबाट ‘प्रकाशकीय’, यस पुस्तकका नायक ध्रुवचन्द्र गौतमको ‘सबैभन्दा छोटो, सबैभन्दा कठिन’ शीर्षकको लेखन, सम्पादक महेन्द्रबहादुर गुरुङको ‘भूमिका’ छन् । त्यसपछि विषयसूची छ । पुस्तक सात अध्यायको छ ।

पहिलो अध्यायमा स्रष्टा गौतमको लेखन यात्राको सात दशकको विस्तृत विवेचना रहेको छ भने दोस्रो अध्यायमा ‘कृतिहरूमा स्रष्टा गौतम’ शीर्षकअन्तर्गत विभिन्न नौजना लेखकले स्रष्टा गौतमका विभिन्न कृतिहरूको समालोचनात्कम लेखन गरेको पाइन्छ । यहाँ द्वारिका श्रेष्ठ, गोपाल अश्क, डा.गोविन्दराज भट्टराई, डा. कुमारप्रसाद कोइराला, प्रा.डा.लक्ष्मण गौतम, रमेश गोर्खाली, दिनेश सापकोटा, ज्ञानु अधिकारी र अनुपमा रेग्मीका लेखहरूलाई समेटिएका छन् । अध्यय तीन ‘सर्जक गौतम’ शीर्षकमा छ र यसअन्तर्गत नौजना लेखकहरूका लेखहरू समेटिएका छन् जसमा डा.ज्ञानु पाण्डे, प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेल, मोहनराज शर्मा, देवेन्द्र भट्टराई, सुकन्या वाइबा, जीवन जीवन्त, जयदेव भट्टराई, रोशन थापा ‘नीरव’ र लक्ष्मी उप्रेती हुनुहुन्छ ।

यसैगरी अध्याय चारमा ‘विचारमा स्रष्टा गौतम (अन्तर्वार्तामा आधारित)’ छ । यस अध्यायमा विभिन्न पाँचजना व्यक्तिका स्रष्टा गौतमसँगका अन्तर्वार्ता प्रकाशित भएका छन् । यहाँ नेत्र एटम, हरिहर खनाल, गीता त्रिपाठी, हरिरह विरही र तृष्ण कुँवर रहनु भएको छ ।
अध्याय-५ मा ‘काव्यिक अभिव्यञ्जनामा किशेर स्रष्टा गौतम’ शीर्षक छ । यहाँ गौतमका किशोर अवस्थामा लेखिएका कविताहरूको संग्रह दिएएको छ । जहाँ नौवटा कविताहरू रहेका छन् । सरस्वती वन्दना, कविपन, शुभ्र हिमाल, बागमती, तटस्थता असफलता, रानीपोखरीको किनारमा राराप्रति केही हरफ, अनिदित रात र हृयाङ्गरमा झुण्डिएको आकाश रहेका छन् । यसैगरी अध्याय ६ मा ‘स्तम्भकारका रूपमा स्रष्टा गौतम’ शीर्षकमा पाँचवटा आलेख छन् । अन्तिम वा सातौं अध्यायमा ‘दोस्तहरूको दृष्टिमा स्रष्टा गौतम’ शीर्षक छ । यहाँ ध्रुव सापकोटा, नगेन्द्रराज शर्मा, विनोद दीक्षित र रोचक घिमिरेका चारवटा अनुभवजन्य विचारप्रधान लेखहरू छन् ।

यसरी यो पुस्तक एकजना वरिष्ठ विद्वान साहित्यकारप्रतिको सम्मानका रूपमा आएको छ जुन स्तुत्य कार्य गरेर रमाकृष्ण सिर्जना प्रतिष्ठान प्रशंसा आर्जन गर्न सफल भएको छ । यसका लागि रमाकृष्ण सिर्जना प्रतिष्ठानलाई बधाई तथा पुस्तकको सफलताको शुभकामना छ । यसका साथै आगामी दिनहरूमा पनि यस प्रतिष्ठानबाट यस प्रकारका प्रशंसनीय कार्यहरू भइरहून् यसका लागि प्रतिष्ठानलाई अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?