मेरो अतीत मेरो अनुभव : भक्तपुरबाट नुवाकोटको जिशिअ

हिमालय टाइम्स
Read Time = 14 mins

✍️ रमेशप्रसाद गौतम

भक्तपुरबाट नुवाकोट जिल्लामा सरुवा भए । नुवाकोटको तत्कालको शिक्षा स्थिति अस्तव्यस्त नै थियो । अनियमित तरिकाले राजनीतिक प्रभावमा चाहिनेभन्दा सयौं प्राथमिक विद्यालय दिएको पाइयो तर त्यहाँ तिनको आवश्यकता थिएन । अनियमित तरिकाले पूर्वशिक्षा अधिकारीले तत्कालीन नेताहरूलाई खुशी पार्न स्वीकृति पाएका विद्यालयहरू थिए तर ती अनियमित भएकाले आर्थिक निकाशा शिक्षामन्त्रालय पठाएन । तत्कालीन शिक्षा सचिवले यो अनियमित स्वीकृति दिएका विद्यालयलाई रीत पु¥याएर निकाशा माग गर्नुहोस् भन्नुभयो । जिल्ला शिक्षा समितिबाट उक्त अनियमित विद्यालयलाई आवश्यकताअनुसार छानविन गरी उपयुक्त तरिकाले सिफारिश गरेर निकाशाका लागि शिक्षा मन्त्रालयमा अनुरोध गरेँ ।

शिक्षा समितिको बैठकमा नुवाकोट सदरमुकाम विदुरमा भिडले शिक्षा कार्यालय घेर्ने गर्दा मेला लागे झैँ हुने गर्दथ्यो । ठूलो मासले दबाब दिएर जथाभावी निर्णय गराउने प्रचलनलाई तत्कालीन सभापति अर्जुननरसिंह केसीसमेतको सहयोग लिएर भिड वा भेला हुने प्रचलनलाई निरुत्साह गरियो । म गएको दुई महिना नबित्दै शिक्षा समितिले आफ्नो स्वविवेकले कामकारबाही गर्न सुरु ग¥यो । शिक्षा क्षेत्रको तनाव र हुलहुज्जत विस्तारै सहयोगी र सकरात्मक भावमा परिणत भयो ।

जिल्लास्तरीय र अञ्चलस्तरीय परीक्षालगायत सेन्टअप टेष्टमा समेत व्यवस्थित र अनुशासित रूप सञ्चालन गर्न थालियो । शिक्षकलाई कुनै राजनीतिक नेताको पिछलग्गु हुनुभन्दा आफ्नै शिक्षण पेशाप्रति प्रतिबद्ध हुने कुरामा अर्जुननरसिंह केसीलगायत अन्य साथीहरूको समेत सकरात्मक सहयोग जुट्न गयो । परिणामतः त नुवाकोटको शिक्षा क्षेत्र व्यवस्थित हुँदै आइरहेको थियो । यसैबीच २०४६ साल माघदेखि पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन हुन थाल्यो । तत्कालीन पञ्चायती व्यवस्थाका समर्थकहरूले बहुदलवादीको विरुद्ध जिल्लामा जुलुस नारा घन्काउन थाले । तत्कालीन जिल्ला पञ्चायत सभापति अर्जुननरसिंह केसी स्वयम् नै पञ्यचायती व्यवस्थाविरोधी हुनुहुन्थ्यो ।
त्यसैले गर्दा शिक्षा समितिका अध्यक्षसमेत उहाँ नै हुनुभएको हँुदा कुनै बेला टुरमा जाँदा कांग्रेसी सभापतिको पछि लागेर जिशिअ गयो भनेर उजुर गर्दै हिँड्थे । उक्त जनआन्दोलनको प्रभाव नुवाकोटमा भन्दा यहाँका शिक्षक काठमाडौं, चितवनलगायत जिल्लाको आन्दोलनमा सहभागी भएका खबरहरू आइ नै रहे । एक दिन जिल्लाका सिडिओले तपाइँका शिक्षक काठमाडौंमा गएर ठूलो हंगामा गरिरहेका छन् । तपाइँ शिक्षा मन्त्रालयमा काज गएर आफ्ना शिक्षकलाई सम्झाई बुझाई आफ्नै जिल्लामा ल्याउनुहोस् भने । मैले भनेँ, ‘मलार्ई जिल्ला नछाड्न लिखित आदेश छ यो समयमा जिल्ला नछाड्नु भनेको छ । म आफ्नो जिल्ला छाडी जान्नँ भनेँ ।

यसपछि सिडिओले शिक्षासहायक मन्त्री क्षेत्रप्रताप अधिकारीमार्फत फोन गराई तपाइँ सिडिओको आदेश मान्नुहोस् र यहाँ मन्त्रालयमा आउनुहोस् तपाइँको हाल केन्द्रमा काम परेको छ भन्नुभयो । म मान्न तयार भइनँ । तैपनि एकचोटि शिक्षासचिव रमेशजंग थापालाई सोध्छु भनी फोन गरी उहाँले सकेसम्म जिल्ला छाडेर नआउनुहोस् जबरजस्ती पठाउँछन् भने आएर आफ्नो घरमा आराम गरेर बस्नुहोस् भन्नुभयो । अब सबैले बुझ्नुपर्छ चाँडै मुलुकमा ठूलो राजनीतिक परिवर्तन हँुदैछ । म मन्त्रालय आइन जिल्लामै बसेँ ।

यस अवस्थामा पनि विद्यालयको पठनपाठनबाट बालबालिकाको पढाइमा कुनै प्रभाव नपरोस् भन्ने हाम्रो धारणा थियो । यसले गर्दा जिल्लाको शैक्षिक भ्रमण कहिलेकाहीँ तल्कालीन जिल्ला शिक्षा समितिका अध्यक्ष अर्जुननरसिंह केसी पनि सँगै विद्यालय निरीक्षणमा जानुहुन्थ्यो । अनि रात बस्नु पर्दा सभापतिको हैसियतले उहाँहरूको लागि सुविधाजनक गेष्ट हाउसका कोठा हुन्थे तर उहाँ सुविधाजनक ठाउँमा बस्न मलाई आग्रह गर्नुहुन्थ्यो । म उहाँलाई नै सुविधाजनक ठाउँमा बस्न आग्रह गर्थें । उहाँ मान्नु हन्नथ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘रमेश म भोलि जेलमा बस्नुपर्छ त्यसबेला मैले सुुविधाको विस्तारा कोठा पाउँदिन मेरो बानी नबिगार्नुहोस् ।

यसरी नै असुविधामा बस्ने अभ्यास गर्ने नै हाम्रो लागि उचित हुन्छ भन्नुहुन्थ्यो । यसरी उहाँहरूको तत्कालीन यस किसिमको मनोभावनालाई कदर गर्न बाध्य तुल्याउनु हुन्थ्यो । मसँगै भ्रमणमा जाँदा अर्जुन दाइले कहिल्यै रक्सी पिउनु भएन । म नखाने भएर पनि होला त्यसैले म उहाँलाई दाइले पिउनु भए हुन्छ भन्थेँ तर उहाँ होइन म खान्न रमेशजी भन्नुहुन्थ्यो । साधारण दाल, भात, तरकारीमै रमाउनुहुन्थ्यो । उहाँदेखि सबै कार्यालय प्रमुख र कर्मचारी खुशी थिए । उहाँले आफू सक्दो सबैलाई सहयोग गर्नुहुन्थ्यो । म नुवाकोटमा बस्दा प्रायः शुक्रबार काठमाडौं घरमा आउँथेँ । आइतबार समयमै कार्यालयमा फर्किसक्थेँ । यो क्रम चलिरहन्थ्यो ।

कहिलेकाहीँ अर्जुन दाइ पनि सँगै काठमाडौं आउनुहुन्थ्यो । त्यस समयमा जिल्ला पञ्चायतको गाडीमा सँगै आउँथ्यौं । अनि क्षेत्रपाटी चाक्सीबारीमा आएर गाडी रोक्नुहुन्थ्यो । आदरणीय नेता गणेशमानजीलाई जिल्लाको नौलो फलफूल र तरकारी पनि ल्याउनुहुन्थ्यो । क्षेत्रपाटी गणेशमानजीको घरमा आइपुगेपछि उहाँ ओर्लिएर ब्याग समाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो रमेशजी तपाइँ गाडी लिएर आफ्नो घर जानुहोस् पछि गाडी फर्काइदिनु होला म गणेशमानजीकोमा जान्छु । तपाइँ जागिरे मान्छे भएकाले...भन्नुहुन्थ्यो ।

यता सिडिओले भने यस जिल्लाका शिक्षा अधिकारी कांग्रेसी सभापतिको पछि लागेर हिँडिरहेका छन् भनेर अञ्चलाधीश कार्यालय र गृहमन्त्रालयमा रिपोर्ट पठाउँथे । यो कुरा बागमती अञ्चलाधीश नरेन्द्रकुमार चौधरीले मलाई सुनाएका थिए । उनले भनेका थिए ‘सभापतिको गाडीमा सँगै हिँड्दैमा यस्तो लाञ्छना लगाउनु नपर्ने तर पनि तपाइँलाई जानकारीमात्र गराएको हुँ’ भने । नरेन्द्रकुमार चौधरी पहिले अञ्चलाधीश गण्डकी अञ्चलमा हुँदा म कास्कीमा शिक्षा अधिकारी थिएँ । त्यसबेला पनि उहाँले पहिलो भेटमा म पनि प्रजातान्त्रिक विचारधाराको मान्छु हुँ भन्नुभएको थियो । उहाँ शैक्षिक विषयमा मसँग सरसल्लाह गर्नुहुन्थ्यो ।

फागुनको तेस्रो हप्तातिरको कुरा हो सिडिओ मेरो शिक्षा कार्यालयको कोठामा आएर तपाइँ जस्ता नुनको सोजो नगर्ने कर्मचारीबाट देशले दुःख पाउँदैछ । मैले २५० भन्दा बढी उछृङ्खल शिक्षकहरू जो आफ्नो पठनपाठन कार्य नगरी यस जिल्लालगायत अन्यत्र जिल्लामा गएर आन्दोलन गरिरहेका छन भनेर तिनलाई कारबाही गर्न कसैलाई अवकास कसैलाई नसियत आदि गरेर २५० जनाको नाम लिष्ट म कहाँ पठाए तर मैले कसैलाई कारबाही गरिनँ । अनि सिडिओ रिसले आगो हुँदै आएर मसँग विवाद गर्दै थिए ।

यसैबीचमा त्रिशूली माविका विद्यार्थीलगायत अन्य आसपास विद्यालयका विद्यार्थीसमेतको ठूलो जुलुस सिडिओ चोर जिल्ला छोड् भन्दै नारा लगाएर आएको मेरै कोठाबाट उनले देखे । अनि उनी धरमराएर डराए जस्तो लाग्यो । जिशिअसाहेब अरू मलाई केही गर्नु पर्दैन अब जिल्ला शान्त गर्न शिक्षकहरूलाई सम्झाइदिनुहोस् भने । तर, त्यतिखेरको आन्दोलन भनेको आमजनताको आन्दोलन थियो । यसलाई तपाइँ हामीजस्ता एक–दुईजनाले रोकेर रोकिँदैन ।

बरू आन्दोलनप्रति सकरात्मक सोच राख्नु नै उपयुक्त हुन्छ र देशका समुच्च नागरिकलाई सहभागी गराउन प्रतिबन्धित दलहरूलाई फुकुवा गराई देशमा खुल्ला राजनीतिक वातावरणको निर्माणमा हामी सबैको योगदान पुर्‍याउन हामीले पनि आफ्नोतर्फबाट सहयोग दिनु समयको माग ठान्नुपर्दछ भनेँ ।

जनआन्दोलन देशव्यापी रूपमा चर्कँदै गयो । राजधानी र केही जिल्लाका सदरमुकाम सीमित विरोध प्रदर्शन देशका हरेक कुनाकाप्चासम्म पुग्यो । जनआन्दोलनको क्रममा कयौं घाइते भए र शहिद पनि भए । आन्दोलन नरोकिएर झन्झन् चर्कँदै गएमा आफ्ना देशका नागरिकको अरू क्षति बढ्ने देखेर राजाले तुरुन्तै राजनीतिक दलहरूलाई फुकुवा गरी बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको घोषणा गरे ।

आमदेशव्यापीहरूमा हर्षोल्लास गरेर सिदुरे जात्रा व्याप्त हुन थाल्यो । बहुदलीय प्रजातन्त्रको आगमनसँगै सबै राजनीतिक दलहरू खुशी भएर जिल्ला भ्रमण गर्न थाले । कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वमा सात वामघटक समेतको मन्त्रिमण्डल गठन भयो ।

यसैबीचमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नुवाकोट भ्रमणमा एउटा टोली आयो । उक्त टोलीले अर्जुननरसिंह केसीलगायत जिल्लाका नेविसंघका साथीहरू र प्रजातान्त्रिक योद्धाहरूसँग भेटघाट गर्ने काम भयो । अर्जुननरसिंह केसी र नेविसंघलगायत प्रजातान्त्रिक साथीहरूले हामीलाई कार्यालय प्रमुखमा सहयोग पुर्‍याउने शिक्षा अधिकारी नै हुन् भन्ने राय सबैले राख्नुभयो । त्यसको केही दिनपछि काठमाडौंमा मेरा नातेदारका घरमा विवाह समारोह थियो ।

उक्त समारोहमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसादको पनि उपस्थिति थियो । उहाँहरूलाई आफ्नो परिचय दिने क्रममा मेरो पालोमा म हेडमास्टरबाट शिक्षा अधिकारीमा काम गर्दै आएको झण्डै १२ वर्ष भयो भनेँ । अहिले नुवाकोटमा कार्यरत छु भनेँ । गिरिजा बाबुले तुरुन्तै उहाँलाई म चिन्दछु, हाम्रो मान्छे हो भन्नुभयो । यसले मलाई हर्षित बनायो । मैले प्रायः नेताहरूकै सामिप्य पाउँदै आएँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?