विषय होइनन्, विषय हुन् !

डा. नारायण चालिसे
Read Time = 14 mins

हिजोआज भेट भयो कि मित्रहरूले पनि ठट्टा गर्छन् ‘कुरा गर्दा पनि कतै तेरो लेखको विषय भइन्छ कि भनेर डर लाग्छ ।’ गहिरा कुरा गर्दा वा ज्यादै हलुका कुरा गर्दा पनि साथीहरू तर्सिन्छन् । कारण मेरा कुरा नगरिदेओस् भनेर होइन बरू नराम्ररी नभनिदेओस् वा राम्ररीमात्र कुरा गरिदेओस् भनेर हो । अर्थात् हामी आफू जस्ता छौँ त्योभन्दा पनि राम्रो हामीलाई चाहिएको हुन्छ ।

तर, आफू त्योभन्दा राम्रो वा सबैभन्दा राम्रो के कसो गर्दा भइन्छ ? त्यतातिर भने ध्यान पुर्‍याउन आवश्यक ठानिएको हुँदैन । कुरा सत्य पनि हो जे कुराले एकभन्दा बढी व्यक्ति, समुदाय वा राष्ट्रको निम्ति प्रभाव पार्छ त्यस्ता कुरा भन्न मन लाग्छ । लेखनलाई नै परिवर्तनको यात्रा ठान्ने हामीहरूले सानाठूला जेजस्ता हुन् राष्ट्रसँग जोडिएका कुरा गर्नु राम्रो हो भन्ने लाग्छ ।

यस अर्र्थमा मेरो अभियानमा धेरै अनुहारहरू छन् । धेरै घटना छन् । विषय र प्रवृत्ति छन् । जे लेखे पनि विषय बन्नु भनेको राम्रो पनि हो र नराम्रो पनि हो । राम्रा कुरा, प्रभावकारी कुरा, गुणात्मक कुरा र सन्देश बाँड्न पाए पो त्यसको सार्थकता रहन्छ । तर हामीलाई त्यहाँसम्म पुग्नुभन्दा पहिल्यै ससाना कुराले अल्झाइराख्छन् । जुन कुरा नभनिकनै हुनुपर्ने हो तिनै कुरा भन्दाभन्दै नहुनु अर्को दुःखको कुरा हो । हामी जनता र नेता इमानदार हुन आवश्यक छ भनेर सधैँभरि भनिरहनुपर्ने विषय होइन । हामी अरूतिर एउटा औंला ठड्याउँदा आफूतिर फर्किएका चारवटा औँलाको खबर्दारी बुझ्नतिर लाग्दैनौं ।

हामी र हाम्रा कर्म के कति नागरिक धर्मअनुकूल छन् ? कतै हामी नै पनि कर्तव्य र दायित्वबाट टाढा पो छौँ कि भनेर आत्मालोचना गर्नतिर लाग्ने हो भने अरूप्रति उठाइएका कतिपय प्रश्नको उत्तर आफ्नै कर्म र व्यवहारबाट मिल्छ । शिक्षकले राम्ररी पढाउनुपर्छ । विद्यार्थीले राम्ररी पढ्नुपर्छ भन्ने हाम्रो माग हुन्छ जहिले पनि तर हामी जेजस्तो पेशा वाव्यवशायमा छौँ के हामीले आफ्नो दायित्व त्यसरी नै निर्वाह गरेका छौँ त जो अरूबाट अपेक्षा गरेका छौँ ? निश्चय आफूतिर फर्केर हेर्ने धैर्य र आँट हामीसँग चाहिन्छ । आँटी मानिसले आफूबाट शुद्धीकरणको अभियान थाल्नुपर्छ । आफूबाहेक अरूबाट मर्यादा अनुकूल काम भएन भन्ने नै हाम्रो गुनासो रहन्छ सधैँ ।

नेताले देश विकासमा अमूल्य योगदान दिनुपर्छ । कर्मचारीले इमानदार भएर राष्ट्रसेवाको काम गर्नुपर्छ । किसानले इमानदारीपूर्वक कृषिकर्म गर्नुपर्छ । अख्तियार प्राप्त निकायका सबैले इमानदारीपूर्वक काम गर्नुपर्छ बेइमानी कसैले कहीँ कतै गर्नु हुँदैन । यस्तै–यस्तै कुराहरू वर्षौँदेखि वर्षौँसम्म भनिरहनुपर्ने पनि कहिँ समाचार वा लेख हुनुपर्ने हो र ? तर, हाम्रा लेख यस्तै प्रकृतिका हुन्छन् र तिनैलाई रोचक ढंगले पढ्नुपरेको छ ।

कति मजाले भनिदिएछ फलानाले यो लेखमा । क्या राम्ररी सरकारलाई गाली गरेछ फलानाले । स्वतन्त्र उठेर यत्रा पार्टीका सामु फुइँ लाउने बालेनलाई, मोटर साइकल चढेर एक्लै काम गर्न खोज्ने साम्पाङलाई, पार्टी बदलेरै पनि सरकारमा गइरहनुपर्ने आलेलाई, पार्टी फुटाएरै पनि अध्यक्ष बन्नुपर्ने थापालाई, नयाँ पार्टी खोलेर देश सेवा गर्न रहर गर्ने लामिछानेलाई, पार्टीको हविगत भएपछि मुर्छा परेका मिश्रलाई, नयाँ पार्टीमा गएर ठूलो भाग खाने सपना देखेका नवराजलाई पालो मिचेर बढुवा खाने हाकिमलाई यसरी नै भन्नुपर्छ । ठीक गरेछ फलानाले भनेर मुख मिठ्याउने वा यसैका विपक्षमा लेखकलाई गाली गर्ने यस्तै विडम्बनाले परिचालित छ समाज ।

केही राम्रा र आवश्यक कुराहरू पनि गरिएलान् यस क्रममा तर तिनले पनि तात्विक अन्तर राख्दैनन् । हामीलाई चाहिएको योभन्दा भिन्न समाचार वा लेखहरू हुन् जसले हामीमा उत्साह जगाऊन्, पे्ररित गरून् र सन्तोष दिऊन् तर त्यस्ता विषय पाइँदैनन् लेख्नको निम्ति । र, यदि कुनै साथी वा प्रवृत्ति लेखका विषय बनेका छन् भने यसै कारणले बनेका छन् ।

जीवनको यात्रामा यस्ता धेरै दृश्य र घटानाको साक्ष भइन्छ कति भन्न मिल्छन् र कति भन्न मिल्दैनन् । टाढाबाट निकै सुन्दर लागेको मानिस नजिकै आउँदा कुरूप लागेको छ । असुन्दर भनेर तर्केको मानिस संगत बढ्दै जाँदा सुन्दर लागेको छ । सुन्दरताको यो सापेक्ष परिभाषामा मैलेजस्तै अरू कसैले पनि यस्तै सापेक्ष भिन्न धारणा बनाउँदो हो । मैले बनाउने धारणामा कसैलाई कहाँ अटाउँछु अर्कोले अर्कै ठाउँ राख्ला । बुझाइका यी भिन्न रूप अनि हेराइका अनगिन्ती कोणमा कसैले जस्केलाबाट चिहाएको पनि देखिन्छ । झ्यालबाट छिरेको वा बुइँगल पसेको पनि थाहा लाग्छ । सुकिलो चरित्रमा आज उभिएका कुनै दिन त्यति सुकिला थिएनन् ।

उतिखेरको मैला पखाल्नमै धेरै समय लाग्यो कसैलाई । कोही सुकिलाहरू आज धमिलिएका छन् । बाग्लुङ्का नवराज पौडेलले कांग्रेस परित्याग गरेर ओलीको हातबाट एमाले ग्रहण गरे । तीसौं वर्ष कांग्रेसमा बिताएर पनि मैले केही पाइन भन्ने गुनासो नवराज र उषालाई होला । हुन पनि हो कोही पनि जोगी बन्नकै निम्ति राजनीतिमा लाग्दैन । अनि पाउनु भनेको के होला ? सांसद, मेयर, उपमेयर वा यस्तै आफ्नो हैसियतअनुसारको पद होला ।

अनुहारमै चिथोर्नु जस्तो भयो होला कसैलाई कसैले हाइसञ्चो मानेका होलान् । मौसमी रङ्ग बदलेर बाँचेका यहाँ धेरै छन् । यता गए खान पाइएला कि उता गए कुम्ल्याउन सजिलो होला कि ? अझ त्यही व्यक्तिले आफूलाई बढी नैतिकवान् र इमानदार ठानेको छ । यस्ता अनगिन्ती समाचार पढ्न र सुन्न पाइन्छ । दल बदलेर लाभको सपना देख्ने सनातनी परम्परा बनेको छ । यिनै र यस्तै हुन् हाम्रा रोचक समाचारहरू ।

हुनुपर्ने त अर्कै थियो-कालीगण्डकी डाइभर्सनमा सहमति जुटाएर गण्डकी प्रदेश सरकारले बुहत् परियोजनामार्फत राष्ट्रलाई उपयोगी हुनेगरी कालीगण्डकी परियोजना अघि बढाएको छ । मार्फाको स्याउको माग विश्वबजारमा बढ्दै गएर हालको उत्पादनले थेग्न नसक्ने अवस्था आएकाले अरू दुई सय हेक्टर जग्गामा स्याउ उत्पादन कार्य सुरु गरेको छ । कर्णाली सरकारले आजका मितिदेखि आफ्नो राज्यलाई अन्न भण्डारको राज्य घोषणा गरेको छ । सात नम्बर प्रदेश सरकारले टनकपुर महाकली ब्यारेजबाट भारतकै बराबरी नेपालमा पानी पाउने गरी सम्झौता नवीकरण गरेको छ । काठमाडौँ महानगरले फुटपाथमा व्यवशाय गरेर जीविको पार्जन गर्न बाध्य पाँच सय विपन्न परिवारलाई अमुक ठाउँ वैकल्पिक व्यवशाय र जीवनयापनको अवसर दिएर समस्याको समाधान गरेको छ ।

फोहरले आक्रान्त काठमाडौँको फोहरबारे स्थायी व्यवस्था गरेको छ । फोहरबाट मोहर बनाउने नयाँ परियोजना लागू भइसक्यो जसमा पाँच हजार श्रमिकले रोजगारी पाइरहेका छन् । बागमती सरकारले हेटौँडा सिमेन्ट कारखानालाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ । लुम्बिनी सरकारले लुम्बिनी घुम्न आउने पर्यटकको चापलाई ध्यानमा राखेर अरू दशवटा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ । बुटवल धागो कारखानाबाट उत्पादित धागोको माग भारतमा बढ्दै गएकाले कारखानको क्षमता वृद्धिको काम तीव्र गतिमा भइरहेको छ । एक नम्बर प्रदेश सरकारले सगरमाथा आधार शिविरसम्मको मोटर मार्ग अनि पाथीभरामा केबलकार सुचारु गरेको छ । तराई प्रदेश खाद्यान्नमा आत्मनिर्भर राज्य बन्न सफल भएको छ ।

तराईमा उत्पादित चामल, तेल, दाल र गहुँले नेपालको खाद्यान्नको आवश्यकता पूर्णरूपले धान्न थालेको छ । राष्ट्रिय परियोजनाअन्तर्गत दैलेखबाट पेट्रोल उत्पादन सुरु भयो । हिमाली क्षेत्रमा पाइने मूल्यवान् वनस्पति यार्सागुम्बाबाट यसवर्ष सरकारलाई दश अर्बको आम्दानी भयो । यसवर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर दश हजार डलर पुगेको छ र आगामी वर्ष यो आम्दानी बढाएर बाह्र हजार डलर पु¥याउने सरकारी प्रतिबद्धता छ । त्रिवि चिकित्साशास्त्रबाट उत्पादित डाक्टरले विश्वमा जटिल मानिएको शल्यक्रिया गर्न सफलभएका छन् । अक्फोर्ड विश्वविद्यालयका पचास जना प्रोफेसरहरू नेपाल संस्कृत विश्वविद्यालयमा आएर पौरस्त्य वाङ्मयका विभिन्न विषयमा रिसर्च गर्दैछन् ।
नेपालका विभिन्न विषयका सय जना प्राध्यापकहरूलाई सरकारले संसारका विभिन्न विश्वविद्यालयहरूमा नयाँ-नयाँ विषयको अध्ययन र अनुसन्धान गर्न पठाएको छ । अब नेपाली जनताको निःशुल्क स्वाथ्योपचार सरकारले गर्ने छ । नेपाल अब बेरोजगार नागरिकशून्य देश बन्न सफल भएको छ । नेसंवि वा अन्य विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमै उत्कृष्ट बन्न सफल भएका छन् । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नेपाली साहित्यकारलाई प्राप्त भएको छ ।

लोकतान्त्रिक सरकारको जनमुखी, प्रगतिशील काम र कार्यबाहीबाट सन्तुष्ट रहेका नेपाली जनताले पुनः अर्को पाँच वर्षे कार्यकालका लागि वर्तमान प्रधानमन्त्री देउवाकै पार्टीलाई दुई तिहाइ मतले विजयी बनाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई विश्वसमाजवादी नेताको सम्मान प्राप्त भएको छ । सशस्त्र युद्धका अगुवा प्रचण्डले पछिल्लो समयमा शान्तिको निम्ति पुर्‍याएको योगदानको कदर गर्दै विश्वशान्ति पुरस्कार प्रदान गरिएको छ ।

बिग्रँदो अर्थतन्त्रलाई सुधार गरी आर्थिक मन्दीबाट देशलाई बँचाएर अर्थमन्त्रीले एसियामै आफूलाई अब्बल अर्थमन्त्री प्रमाणित गरेका छन् । नेपालका शिक्षा र स्वास्थ्यमन्त्री विश्वकै उत्कृष्ट मन्त्रीको सूचीमा परेका छन्, आदि आदि । प्रिय सञ्चेतना ! अबका लेखहरू यस्तै सार्थक र रोचक विषयमा लेख्न मन छ । मलाई अर्थहीन विषयमा लेख लेख्न बाध्य नपार !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?