मराङको बुलमा मोटर सरर…

हिमालय टाइम्स
Read Time = 3 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको धौलागिरि गाउँपालिका–६ मा पर्ने दुर्गम मराङको बुल गाउँमा पहिलोपटक सडक सञ्जालले जोडिएपछि स्थानीयको वर्षौंदेखिको गाउँबाट मोटर चढ्ने सपना साकार भएको छ । गाउँमा सडक पुगेपछि स्थानीय बासिन्दाहरू खुसीले फुरुंग भएका छन् ।

भौगोलिक रूपमा अत्यन्त विकट बुलसम्म सडक सञ्जाल पुगेसँगै मराङका सबै बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ ।

हालैमात्र मराङको राम्चे–जेवाङ हुँदै बुल गाउँसम्म सडक जोडिएको राम्चे–जेवाङ हुँदै बुल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद जुग्जालीले बताउनुभयो । गाउँमा सडक पुगेपछि अप्ठ्यारो पैदलमार्गको प्रयोग गरी छिमेकी गाउँसम्म आउनुपर्ने बाध्यता हटेको छ । सडक पुगेपछि वर्षौदेखि भिरपहरामा झुण्डिएर यात्रा गर्न बाध्य बुलका बासिन्दाको जनजीवन सहज हुनुका साथै गाउँमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पुर्याउन सजिलो भएको अध्यक्ष जुग्जालीले जानकारी दिनुभयो ।

‘वर्षौंदेखिको हाम्रो प्रयास सफल भएको छ, गाउँघरमै मोटरबाटो आएपछि स्थानीयवासी खुसी भएका छन्,’ जुग्जालीले भन्नुभयो । अब मराङको बुलबाट छिमेकी वडा मल्कवाङको मलम्पारतर्फ सडक विस्तार गरिने उहाँको भनाइ छ । गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीयको जीवनस्तर उकासिने सवारीचालक श्रीप्रसाद पुनको विश्वास छ । छिमेकी गाउँबाट यात्रु बोक्दै आउनुभएका पुनले अब गाउँबाटै स्थानीयलाई गन्तव्यसम्म पुर्याउन सहज भएको बताउनुभयो ।

सडक सञ्जालले करिब ७० घरधुरी लाभान्वित भएका छन् । सडक विस्तारमा गत वर्ष संसद् विकास कोषबाट १७ लाख र गाउँपालिकाबाट १० लाख बजेट विनियोजन गरिएको नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य ईश्वर सुवेदीले जानकारी दिनुभयो ।

सगरमाथा बिल्डर्स एन्ड सप्लायर्सको सञ्चालकसमेत रहनुभएका सुवेदीले समृद्धिको आधार सडक नै भएकाले सडक विस्तारसँगै नियमित मर्मतसम्भारमा समेत प्राथमिकता दिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?