बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

हिमालय टाइम्स
Read Time = 4 mins

डम्बर बुढा मगर/हिटा
बागलुङ । बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो । बागलुङले समग्रमा १० स्वर्ण, १३ रजत र चार कास्य पदकसहित रनिङ शिल्ड हात पार्दा नवलपुरले नौ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङ्जा ६ स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

उपाधिसहित बागलुङले रनिङ शिल्डसहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रो स्थान प्राप्त गरेको स्याङ्जाले नगद १० हजार प्राप्त गरेका छन् । असार २३ गतेबाट पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगितामा बागलुङले उसुमा तीन स्वर्ण र दुई रजत, कराँतेमा एक स्वर्ण, दुई रजत र दुई कास्य, तेक्वान्दोमा तीन स्वर्ण र तीन रजत, एथलेटिक्समा दुई स्वर्ण, चार रजत, एक कास्य, भलिबल छात्रतर्फ एक कास्य, कब्बडी छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा समग्रमा दोस्रो हुन सफल नवलपुरले भने एथलेटिक्स खेलतर्फ नौ स्वर्ण, चार रजत र पाँच कास्य पदक जितेर सनसनी मच्चाएको छ । नवलपुरले कराँतेमा एक रजत हात पार्दा तेक्वान्दोमा एक रजत र एक कास्य तथा कब्बडी छात्रातर्फ एक कास्य पदक प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थान प्राप्त गरेको स्याङ्जाले एथलेटिक्समा पाँच स्वर्ण, दुई रजत र एक कास्य, कराँतेमा एक कास्य तथा भलिबल छात्र/छात्रातर्फ एक/एक स्वर्ण प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरूलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य-सचिव तेजबहादुर गुरुङ, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, अग्रज खेलाडी खड्गबहादुर रानाभाटलगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १११ जना खेलाडी छनोट गरिएको छ । उनीहरूलाई दुई दिनसम्म पोखरामा बन्द प्रशिक्षणमा राखिनेछ । उनीहरू यही असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्य-सचिव गुरुङले जानकारी दिनुभयो । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?