एन्फाले एनएसएलसँगको सम्झौता रद्द गर्ने

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) सँगको सम्झौता रद्द गर्ने भएको छ । शुक्रबार असन्तुष्ट चार ए डिभिजन क्लबसँगको छलफलपछि एन्फा एनएसएलसँगको सम्झौता रद्द गर्ने निर्णयमा पुगेको हो ।

एन्फाले कार्यसमिति बैठक बोलाएर उक्त विषय प्रस्तुत गर्ने भएको छ । एन्फाले शुक्रबार चार असन्तुष्ट ए डिभिजन क्लव थ्रिस्टार, मनाङ मस्र्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) सँग छलफल गरेको थियो । चार क्लबले एन्फा र एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टबीच भएको सम्झौताका केही बुँदामा तीव्र आपत्ति जनाएपछि सम्झौता रद्द गर्ने सहमति बनेको थ्रिस्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले जनाउनुभयो । ‘एनएसएल र एन्फाबीचको सम्झौताका कतिपय बुँदाहरूमा त्रुटि थियो । त्यसैले सम्झौता खारेज गर्नुपर्ने भन्ने कुरा क्लबहरूले गरेका थिए,’ बैठकमा सहभागी थ्रिस्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले भन्नुभयो, ‘सम्झौता खारेज गर्नका लागि एन्फाको कार्यसमितिमा लैजाने सहमति भएको छ ।’

बैठकमा असन्तुष्ट चार क्लब थ्रिस्टार, मनाङ मस्र्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) का प्रतिनिधिको उपस्थिति रहेको थियो । चार वर्षअघि एन्फाले चौधरी ग्रुप स्वामित्वको नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीसँग एनएसएल आयोजनाको औपचारिक सम्झौता गरेको थियो । पहिलो संस्करण काठमाडौंमा भव्यताका साथ आयोजना भएको एनएसएलको दोस्रो संस्करण काठमाडौं र पोखरामा आयोजनाको तयारी थियो । त्यहीबीच क्लबहरूले प्रक्रिया पूरा नगरी आफ्ना खेलाडी अनुबन्ध गरिएको भन्दै एन्फा र एनएसएलसँग असन्तुष्टि जनाएका थिए ।

ए डिभिजनका क्लबहरू मच्छिन्द्रसँगै थ्रिस्टार, मनाङ मस्र्याङ्दी, एनआरटी, सातदोबाटो, संकटा, जावलाखेल र फ्रेन्ड्स क्लबका पदाधिकारी/सदस्यहरूले गत वर्ष फागुनमा आफ्नो स्वीकृति लिएर मात्रै अन्य क्लब (एनएसएल टिम) लाई खेलाडी अनुबन्ध गर्न आग्रह गरेका थिए । त्यसलाई बेवास्ता गरेको भन्दै ती आठ क्लबले छलफलपछि मात्रै एनएसएलको अक्सन गर्न माग गर्दै एन्फालाई ध्यानाकर्षण गराएको थियो ।

एन्फाले क्लबहरूसँग बैठक गर्दै एनएसएललाई अक्सन रोक्न आग्रहसमेत गरेको थियो । तर, एन्फाको आग्रहलाई एनएसएलले अस्वीकार गर्दै अक्सन सम्पन्न गर्‍यो । विशेषगरी शहीद स्मारक ‘ए’ डिभिजन लिगका मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ क्लब, मनाङ-मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब गरी आठ टिमले स्वीकृतिबिना खेलाडीलाई नेपाल सुपर लिगको अक्सनमा सूचीकृत गरिएको भन्दै गम्भीर आपत्ति जनाएका थिए ।

तर, यस सिजनमा थप तीन टोली थप्दै एनएसएलले दश टोली पु¥याएको थियो । अघिल्लो वर्ष सात टोलीमात्र थिए । योपटक नयाँ टिम स्पोर्टिङ इलाम दी मेची, वीरगञ्ज युनाइटेड र झापा फुटबल क्लब थपिएका थिए । अघिल्लो वर्ष विराटनगर सिटी, काठमाडौं रेजर्स, ललितपुर सिटी, चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसी थिए । काठमाडौंले उपाधि जित्दा धनगढी उपविजेता बनेको थियो ।

विवादका बीच एन्फा निर्वाचन भयो । तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गर्दै पंकजकुमार नेम्बाङ अध्यक्षमा निर्वाचित हुनुभयो । अध्यक्ष निर्वाचित भएपछि नेम्बाङले क्लबहरूसँग छलफल गर्नुभएको हो । उक्त छलफलबाट एनएसएलसँगको सम्झौता रद्द गर्ने सहमति भएको छ । यसअघि एन्फाले नै दोस्रो संस्करणका लागि भदौ २५ देखि कात्तिक ५ गतेसम्म आयोजनाको मिति एनएसएललाई दिएको थियो । तर, अब एन्फा कार्यसमितिले क्लबहरूसँग भएको सहमति अनुमोदन गरेमा एनएसएलको दोस्रो संस्करण नहुने पक्का भएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?