बाराही समाजमा नयाँ नेतृत्व

Read Time = 2 mins

ललितपुर । बाराही समाजको नवनिर्मित भवन उद्घाटन तथा ९औँ साधारणसभा शनिबार ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रम बाराही दः गुठीका थकाली सिंहबहादुर बाराहीको उपस्थितिमा भएको थियो । सो अवसरमा बाराही दः गुठी तथा बाराही समाज भवन (बाराही छेँ) को बागमती प्रदेशका सांसदद्वय ज्ञानेन्द्र शाक्य तथा शोभा शाक्य र ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य बज्राचार्यले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

समाजका अध्यक्ष पुष्परत्न बाराहीले आफ्नो कार्यकालमा समाजले आफ्नै भवन निर्माण गर्न सकेकोमा खुसी व्यक्त गर्दै सबैको साथ र सहयोग भएमा अघि बढ्न प्रेरणा मिल्ने बताउनुभयो । समाजका उपाध्यक्ष प्रेमकृष्ण बाराहीले आगामी दिनमा पनि साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।

साधारणसभाले नयाँ नेतृत्व पनि चयन गरेको छ । नवनिर्वाचित अध्यक्षमा प्रेमकृष्ण बाराही, उपाध्यक्षमा चन्द्रमान बाराही, सचिवमा दिपक बाराही (अमिर), सहसचिवमा राधाकृष्ण बाराही, कोषाध्यक्षमा उपेन्द्र, सहकोषाध्यक्ष पद्मिनी निर्विरोध चयन हुनुभएको छ । सदस्यमा भने दिलकुमार, मोहन प्रसाद, राकेश लाल, मिनुषा, सुरेश, रवीन्द्र बाराही चयन हुनुभएको समाजले जनाएको छ ।

कार्यक्रममा गुठी संस्थानका प्रमुख प्रशासक किरण शाक्य, वडा नं. ८ का वडाध्यक्ष बाबुरत्न महर्जन, नेवा देः दबुका अध्यक्ष पवित्र बज्राचार्य, २१ जातीय समाज ललितपुरका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा ज्येष्ठ नागरिकका साथै विभिन्न शैक्षिक तहमा उत्तीर्ण छात्रछात्रलाई सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?