संकटमा श्रीलंका : राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा, सर्वदलीय सरकार गठनका लागि राजीनामा दिन प्रधानमन्त्री सहमत

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भाग्नुभएको छ । यद्यपि उहाँलाई अज्ञात र सुरक्षित स्थानमा सारिएको बताइएको छ । यससँगै प्रदर्शनकारीहरूको समूहले राजधानी कोलम्बोस्थित उहाँको निवासलाई लगभग कब्जामा लिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ खेल्नुका साथै चिया पिइरहेको दृश्य देखिएको छ ।

राष्ट्रपतिको राजीनामा माग गर्दै उठेको प्रदर्शन हिंसात्मक बन्दै गएको हो । हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले ‘पुलिस ब्यारिकेड’ साथै राष्ट्रपति कार्यालयको गेट तोडफोड गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त आन्दोलन यस वर्षको सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक हो । जहाँ प्रदर्शनकारीहरूले श्रीलंकाको राष्ट्रिय झण्डा प्रदर्शन गर्नुका साथै राष्ट्रपति सरकार विरोधी ब्यानर देखाएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन रोकिएको छैन ।

सेना र प्रहरीले भीड नियन्त्रणमा लिन संयुक्त रुपमा प्रयास गरे पनि भीड अनियन्त्रित बन्दै गएको छ । यस क्रममा सुरक्षाकर्मीले थुप्रै अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर पनि गरेको छ । प्रहरीले कर्फ्यू लगाए पनि प्रदर्शनकारीहरू त्यसको अवज्ञा गर्दै सडकमा उत्रिएका हुन् । शनिबार बृहत प्रदर्शन आह्वान गरिएको थियो । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको समाचार एजेन्सीले लेखेका छन् । यसबाट केही घाइते भए पनि भिडलाई त्यसले खासै प्रभाव पार्न नसकेको बताइएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोटोबाया राजापाक्षे वर्तमान संकटको लागि जिम्मेबार भन्दै उाँको राजीनामा माग गरिरहेका छन् । यसअघि प्रधानमन्त्री पदमा आसिन गोटाबायाका दाई महिन्दा राजापाक्षले विरोधपछि राजीनामा दिनुभएको थियो ।

सर्वदलीय सरकार गठनका लागि बाटो खोल्ने निर्णय
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिन तयार हुनुभएको छ । आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाउनुभएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताउनुभएको हो । त्यस बैठकपछि उहाँले ट्विट गर्दै आफूले राजीनामा दिने बताउनुभएको हो । राष्ट्रपति भागेपछि प्रधानमन्त्री विक्रमासिंघेले सर्वदलीय बैठक बोलाएर नेताहरूसँग छलफल गर्नुभएको थियो । छलफलमा सर्वदलीय सरकार बनाउने निर्णय भएको पनि उहाँले बताउनुभयो । उहाँले ट्विटमा भन्नुभएको छ, ‘सबै नागरिकको सुरक्षासहित सरकारको निरन्तरताको सुनिश्चित गर्न पार्टीका नेताहरूले दिएको सर्वदलीय सरकार बनाउन दिएको सुझावलाई म स्वीकार्छु । त्यसको लागि म प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु ।’

समस्याको कारण आर्थिक संकट
श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको तीव्र ह्रासका कारण देशमा आर्थिक संकट उत्पन्न भएको हो । सरकारको आर्थिक कुव्यवस्थापन र कोरोना महामारीको प्रभावका कारण यस्तो अवस्था आएको धेरैले आरोप लगाएका छन् । वैदेशिक विनिमय सञ्चितिको अभावका कारण श्रीलंकाले तेल, खाद्यवस्तु र औषधिलगायत अत्यावश्यक वस्तु आयात गर्न नसकेपछि यस वर्षको मे महिनामा इतिहासमै पहिलोपटक ऋणको किस्ता तिर्न असफल भएको हो । श्रीलंकाले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट करिब ३.५ अर्ब डलरको अनुदान रकम खोजिरहेको छ । जसको लागि कोष र श्रीलंकाली सरकारबीच वार्ता चलिरहेको छ ।

श्रीलंका सरकारले यस वर्ष आईएमएफलगायत अन्तर्राष्ट्रिय समुदायबाट पाँच अर्ब डलरको सहायता आवश्यक रहेको बताएको छ । बिहीवार श्रीलंकाको केन्द्रीय ब्याङ्कले आधारभूत ब्याजदर एक प्रतिशतले वृद्धि गरिदिएको छ । ब्याङ्कले दिने ऋणको ब्याजदर १५.५ प्रतिशत पुगेको छ भने निक्षेपका लागि १४.५ प्रतिशत ब्याज तोकिएको छ । यो २१ वर्षकै सर्वाधिक ब्याजदर हो । वार्षिक मुद्राास्फीति अहिलेसम्मकै उच्च देखिएको छ । खाद्यपदार्थको मूल्य ८० प्रतिशतले बढ्दा मुद्रास्फीति ५४.६ प्रतिशत पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?