नेपालमा ‘नाइबोरी फ्लाई’ किराको टोकाइ बढ्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 8 mins

डिबी शर्मा, पार्थ मण्डल/हिटा
काठमाडौं, झापा । पूर्वी र पश्चिमी तराईमा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने रसायनबाट हुने संक्रमण बढ्न थालेका छन्  । पूर्वी र पश्चिमी तराईका अस्पतालहरूमा नाइरोबी फ्लाई नामक किराबाट निस्किने रसायनबाट हुने ‘एलर्जी’का बिरामी बढ्न थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लो समय तराईका विभिन्न अस्पतालमा यसको रसायनबाट हुने संक्रमणका बिरामी बढ्न थालेका हुन् । भारतसँग सीमा जोडिएका जिल्लामा छालाको संक्रमण देखा पर्न थालेको हो । सामाजिक सञ्जालमा किराको बारेमा विभिन्न पोष्ट भाइरल भइरहेका छन् । अहिलेसम्म कतिवटा जिल्लामा संक्रमण देखियो भन्ने यकिन तथ्यांक सरकारसँग पनि छैन । बर्खायाममा बर्सेनि नाइरोबी फ्लाई किराबाट निस्किने रसायनबाट हुने संक्रमणका बिरामी देखिने गरेको चिकित्सकहरू बताउँछन् ।

लक्षण

  • जनैखटिरा जस्तो फोका आउने ।
  • ठूलो खालको पानी फोका आउने ।
  • पिप फोका आउने ।
  • छाला रातो हुने ।
  • पोल्ने र चिलाउने
  •  रातो डाबर तथा बिमिरा आउने ।
  • रातो धर्सेखालको एलर्जी हुने ।

कसरी जोगिने ?

  • किरा आएको ठाउँमा ‘स्प्रे’ छर्कने ।
  • साँझ झ्याल ढोकाहरू बन्द गर्ने ।
  •  झ्याल ढोकामा जाली राख्ने ।
  • किरा छिर्न नमिल्ने खालको झुल लगाउने ।
  • झाडी तथा पानी भएको ठाउँहरू सफा राख्ने ।
  • पूरा बाहुले लुगा लगाउने ।
  • किराले सरायन छोडेर संक्रमण भइहाले मजाले पखाल्ने (साबुन लगाउन हुँदैन) ।
  • धेरै नै दुःख दिएमा नजिकको स्वास्थ्य संस्थासँग सम्पर्क गर्ने ।

घातक छैन, डराउनु पर्दैन : डा. धर्मेन्द्र कर्ण

सौन्दर्य तथा छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार नाइरोबी फ्लाई बिटल्स प्रजातिको किरा हो । विश्वभर यसका धेरै प्रजाति छन् । यो हरेक वर्षाको मौसममा देखिन्छ । यसको रसायनबाट हुने संक्रमण अहिले हल्ला भएजति ‘डरलाग्दो’ नरहेको उहाँले बताउनुभयो । ‘यो किरा बर्खामा बर्सेनि देखिन्छ । यसबाट हुने संक्रमण पनि बर्सेनि नै देखिन्छ,’ उहाँले भन्नुभयो, ‘यो किराले टोक्दैन । हाम्रो शरीरमा बसेको बेला केही गरी छोइयो अथवा माडियो भने यसबाट निस्किने ‘केमिकल’ (रसायन)ले विभिन्न लक्षणहरू देखाउन थाल्छ । अहिले पनि दुई–तीन सातादेखि मैले यस्तै बिरामी हेरिरहेको छु । प्रत्येक वर्ष हेर्छु । वर्षायाममा प्रत्येक सिजनमा देखिन्छ । सामाजिक सञ्जालमा चाहिनेभन्दा बढी चर्चा भइरहेको छ ।’

गम्भीर समस्या आउँदैन

यसको संक्रमणबाट मानिसलाई गम्भीर असर नगर्ने उहाँले बताउनुभयो । तर, पुराना छालाका बिरामी र दम रोगीलाई भने बढी सताउन सक्ने उहाँको भनाइ छ । ‘यो किरा जहाँ बस्छ, त्यहाँ एउटा रसायन निकाल्छ । शरीरमा बसेका ठाउँमा हातले चलाउँदा बढी रसायन निकाल्छ । सुरुमा चिलाउने, पोल्ने रातो फोका आउने हुन्छ,’ उहाँले भन्नुभयो, ‘किराले रसायन छोडेको हात जहाँ जहाँ छोयो त्यहाँ एजर्ली हुन्छ । शरीरभित्र त्यस्तो नराम्रो असर गर्दैन । गम्भीर समस्या हुँदैन । यो किरा धेरै नै ठाउँमा फैलियो भने धेरैलाई देखिएर गम्भीर हुन सक्छ । कहिलेकाहीँ दीर्घ एलर्जी भएकाहरूलाई बढी सताउन सक्छ । ज्यानै जाने सम्भावना एकदम विरलै हुन्छ ।’ किराले निकालेको रसायन आँखा वा मुखमा परे समस्या हुनसक्ने उहाँको भनाइ छ । नाइरोबीको संक्रमण एक वा दुई सातामा निको हुन्छ । यसको लागि खास उपचार छैन । किराले टोकेपछि चिकित्सकको सल्लाहअनुसार एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनुपर्ने डा. कर्ण बताउनुहुन्छ ।

‘नाइरोबी फ्लाई’ किरा झापामा भेटिएको छैन : स्वास्थ्य कार्यालय झापा
नाइरोबी फ्लाई नामक किरा झापामा नभेटिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । भारत पश्चिम बंगालको दार्जिलिङ जिल्लाका अधिकांश सहर र सिक्किममा समेत नाइरोबी फ्लाई ‘एसिड फ्लाई’ नामक किरा भेटिए पनि सीमावर्ती नाकासँग जोडिएको झापामा सो किरा नभेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख युवराज घिमिरेले शुक्रबार जानकारी दिनुभयो । ‘नाइरोबी फ्लाई किरा अहिलेसम्म जिल्लामा देखा परेको छैन, हामीले १५ वटै पालिकाका स्वास्थ्य शाखालाई त्यसबारे सोधिसक्यौँ, प्रमुख घिमिरेले भन्नुभयो, ‘काँकडभिट्टा नाकामा रहेको हेल्थ डेस्कलाई पनि किराबारे जानकारी छैन ।’

नाइरोबी फ्लाईको टोकाइबाट बिरामी पर्न थालेको खबर फैलिएपछि शुक्रबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकमा यसबारे मात्र छलफल मात्र भएको थियो । तर, कुनै निर्णय भने नभएको उहाँले बताउनुभयो । नाइरोबी फ्लाई किरा हालसम्म फेला नपरेको र छिमेकी राष्ट्र भारतमा देखा परेकाले सजक रहन सबैलाई उहाँले आग्रह गर्नुभयो ।

यता, मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा. केशव ढकालले झापामा डढुवा वा जनैखटिरा रोग जस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भने नदेखिएको बताउनुभयो । उहाँले यस्तो संक्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको प्रष्ट पार्नुभयो । डा. ढकालले भन्नुभयो, ‘प्रत्येक वर्ष यो समस्या देखा पर्छ । विगतमा भन्दा अहिले बढी देखिएको हो । डरलाग्दो र भयानक रोग भने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?