बुढीगंगाको मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणामअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी हुनुभएको छ । मेयरमा विजयी बानियाँले चार हजार सात सय ७७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्धी रङ्गबहादुर खाती तीन हजार सात सय ७४ मत ल्याएर पराजित हुनुभएको छ ।

यसैगरी, उपमेयरमा विजयी एमाले उम्मेदवार कुँवरले चार हजार सात सय २७ मत ल्याउदा प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी रिता शाही (शाह) तीन हजार सात सय ५५ मत ल्याएर पराजित हुनुभएको छ ।

१० वडा रहेको बुढीगंगा नगरपालिकामा सात वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसले तीन वडा जितेको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ । बुढीगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैशी, ९ मा मीनबहादुर सिंह र १० मा दलबहादुर साउद विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर-४ मा मीनबहादुर शाह, ७ मा भुवन सिहं केसी र ८ मा रमेशबहादुर रावल विजयी हुनुभएको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा दोस्रो पटक निर्वाचन गरेको हो । दोस्रो पटक भएको निर्वाचनमा नौ हजार एक सय २८ मत ६६ दशमलव ८३ प्रतिशत मत खसेको थियो । बुढीगंगा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् ।

३० वैशाखमा सम्पन्न चुनावमा भने ७५ दशमलव ५८ प्रतिशत मत खसेको थियो । ३० वैशाखमा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको निर्वाचन आयोगको ठम्याइ छ । निर्वाचन आयोगका अनुसार वडा नमबर २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?