गोकुलेश्वरवासीलाई खानेपानीको सधैँ पीडा

हिमालय टाइम्स
Read Time = 4 mins

दार्चुला । बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वर दार्चुला जिल्लाको दोस्रो ठूलो सहर हो । यहाँ डिग्री कलेज, बोर्डिङ तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखा, विशेषज्ञ डाक्टरसहितको अस्पताल, निर्माणाधीन एयरपोर्ट, शैल्यशिखर नगरपालिकासहित एक दर्जन सरकारी कार्यालय छन् । निकै व्यस्त व्यापारिक केन्द्रका रूपमा रहेको यस बजारमा केही सुविधा सम्पन्न होटल तथा पसल पनि छन् ।

सुविधायुक्त सहरको रूपमा विकास हुँदै गइरहे पनि गोकुलेश्वरमा खानेपानीको समस्या भने विकराल छ । महाकाली राजमार्ग छेउमा रहेको गोकुलेश्वर बजारको तलपट्टि चौलानी नदी छ । तर, बजारमा खानेपानीको सधैँ समस्या छ । गोकुलेश्वर बजारका व्यापारीहरू चार किलोमिटर टाढाबाट पानी ल्याएर गुजारा गरिरहेका छन् भने सरकारी निकाय पानी व्यवस्थापनमा मौन छ ।

बैतडी घर हुनुभएका व्यापारी महेश नाथले भन्नुभयो, ‘होटल सञ्चालनका डेढ किलोमिटर पाइप जोडेर घरैबाटै पानी ल्याएको छु ।’ अर्का व्यापारी मोहनसिंह भण्डारीले अढाई किलोमिटर टाढा रहेको सिन्याडी खोलाबाट निजी लगानीमा पानी ल्याएको बताउनुभयो । निजी लगानीमा धारा बनाउन नसक्नेहरूले भने चौलानी नदीकै दूषित पानी प्रयोग गरिरहेका छन् । १० वर्षअघि आग्री गाडखोलाबाट गोकुलेश्वर बजारमा पानी ल्याइएकोमा उक्त योजना पूरा नहुँदै बिग्रिएको स्थानीय तिलक धामीले बताउनुभयो ।

गोकुलेश्वर बजारका करिब दुई दर्जन व्यापारीले आ–आफ्नै तरिकाले पानी ल्याएर प्रयोग गर्दा मुहानहरू क्षयीकरण हुन लागेको नागरिक अगुवा सुरेश श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘व्यवस्थित रूपले पानीको प्रयोग नगर्दा मुहान सखाप हुन्छ । बढी पानी ल्याएका व्यक्तिको धाराबाट दिनभर खेर गइरहन्छ । तर, बजारमा ल्याएर पानी खेर जानुभन्दा मुहानमै बगे मुहान सुक्नबाट बच्ने थियो । अन्धाधुन्द प्रयोग गरिँदा भविष्यमा मुहान नै सखाप हुन्छ । त्यसैले खानेपानीको व्यवस्थित योजना बनाउनु जरुरी छ ।’

गोकुलेश्वर बजारको खानेपानी व्यवस्थित गर्न आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेटिएको नगरपालिकाले जनाएको छ । नगरपालिकास्तरीय खानेपानी समन्वय समितिले उक्त कार्यविधि तयार गर्ने शैल्यशिखर–५ का वडा अध्यक्ष जनक डाँगीले बताउनुभयो । ‘नीति तथा कार्यक्रममा समावेश गरेका छौँ, समन्वय समितिले कार्यविधि तयार गरेपछि कार्यक्रम अगाडि बढाउँछौँ,’ उहाँले भन्नुभयो । यसअघि पाँच वर्षे कार्यकाल बिताएको निवर्तमान नगर सरकारले गोकुलेश्वर बजार व्यवस्थित गर्न कुनै चासो नदेखाएको स्थानियवासीको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?