एनएसएल दोस्रो संस्करण अन्योलमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबले नेपाल सुपर लिग (एनएसएल) प्रति असन्तुष्टि जनाएपछि दोस्रो संस्करणको एनएसएल अन्योलमा परेको छ । तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष र एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीसँगको सम्झौता नै त्रुटिपूर्ण भएको भन्दै खारेजका लागि एन्फा पदाधिकारी र असन्तुष्ट क्लब निचोडमा पुगेका थिए । आइतबार एन्फाले आयोजकसँग अनौपचारिक बैठक गर्‍यो । बैठकपछि एन्फाले विवाद समाधान नभएसम्म दोस्रो संस्करणको नेपाल सुपर लिग नहुने जनाएको छ ।

कोरोना महामारीका बीच सफलतापूर्वक पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) सम्पन्न भइसकेको छ । दोस्रो संस्करणका लागि मिति तोकिए पनि शहीद स्मारक ‘ए’ डिभिजन लिगका चार क्लबले असन्तुष्टि जनाउँदा अहिले अन्योलमा परेको छ । खेलाडी स्थानान्तरणको विषयदेखि फिफा र एफसीमा क्लब सिफारिस सम्बन्धमा केही प्रश्न चार ‘ए’ डिभिजन क्लबले उठाएपछि उब्जिएको समस्या दोस्रो संस्करण आयोजनाका लागि टड्कारो देखिएको हो ।

अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) मा अहिले नेतृत्व परिवर्तन भएको छ र नयाँ नेतृत्वले सम्झौता स्पष्ट नभएको र त्रुटिपूर्ण भएको बताएको छ । तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र एनएसएल आयोजकबीचको सम्झौता स्पष्ट नभएको नयाँ नेतृत्वले औँल्याएको र सोहीबारे आयोजकलाई आइतबार एन्फा मुख्यालयमा बसेको अनौपचारिक बैठकमा जानकारी गराएको महासचिव किरण राईले बताउनुभयो ।

त्रुटिपूर्ण रहेको भन्दै खारेज सिफारिस गर्ने भन्ने विषयमा आइतबार एनएसएलका प्रमुख कार्यकारी निर्देशक (सिइओ) सुदीप शर्मा र निर्देशक श्रीयान्स कार्की बुझ्न एन्फा मुख्यालय पुग्नुभएको थियो । त्यसो त दोस्रो संस्करणको एनएसएलका लागि अक्सन पनि सम्पन्न भइसकेको छ । पहिलो संस्करणमा भन्दा तीन बढी टोलीले सहभागिता जनाउँदैछन् । दुईपटक मिति तोकिए पनि दोस्रो संस्करणको एनएसएल हुने अझै अन्योल छ । त्रुटिपूर्ण सम्झौतालाई परिमार्जन गरेर विवाद समाधान भएपछि मात्र दोस्रो संस्करणको एनएसएल हुने महासचिव किरण राईले बताउनुभयो ।

सम्झौता र प्रतियोगिताको आयोजना अन्योलताको उत्तर खोज्न एन्फा पुग्नुभएका सिइओ शर्मा र निर्देशक कार्कीले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राईसँग अनौपचारिक बैठक गर्नुभएको हो । बैठकपछि बोल्दै एनएसएलका निर्देशक श्रीयान्स कार्कीले प्रतियोगिता आयोजना सम्बन्धमा साउन २ गते बस्ने एन्फा कार्यसमितिको बैठकपछि निर्धारण हुने जानकारी दिनुभयो । एनएसएल खारेजभन्दा पनि अन्योल भएका बुँदामा स्पष्ट हुँदै अगाडि बढ्ने गरी बैठमा छलफल भएको निर्देशक कार्कीले बताउनुभयो । निर्देशक कार्कीले नेपाली फुटबलको विकासका लागि सम्झौता परिमार्जनसहित अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

‘ए’ डिभिजन लिगका क्लबहरूसँगको सम्झौता बाँकी छँदै एनएसएलका टिमहरूले मार्की खेलाडीका रूपमा खेलाडी अनुबन्ध गरेपछि विवाद सुरु भएको थियो । अहिले विवाद उत्कर्षमा पुगेपछि आयोजना अन्योल भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?