बडी बिल्डिङ मेरो पहिलो प्रेम थियो : उदय श्रेष्ठ, प्रशिक्षक/निर्णायक

कृष्ण भुसाल
Read Time = 15 mins

हरेक मानिसका आ-आफ्ना चाहना-इच्छा हुन्छन्  । कसैका चाहना-इच्छा आफ्नै लागि हुन्छन् भने कसैका आफूसँगसँगै आफ्नो वरिपरिको परिवेश र समाजका लागि हुन्छन् । समाजको एकाई हो प्रत्येक मान्छे । उसका राम्रा-नराम्रा कार्यहरूले समाजमा त्यसको प्रभाव परिरहेको हुन्छ  । मान्छेले आफूले चाहेर सगरमाथा चढ्छन्, अनेक साहसिक कार्यहरू गर्छन् । यस्ता साहसिक कार्य गर्दा सहज कहाँ हुन्छ र ? तर, मानिस त्यसैमा सुखानूभूति गर्छन् । सुख र दुःख पनि मान्छेको मनकै अवस्था हो । सुख र दुःख आफूबाहिर हुँदैन, जम्मै आफैँभित्र हुन्छ ।

मान्छेले ज्ञानपूर्वक आफूले चाहेर सगरमाथा चढ्छन्, ठूला-ठूला साहसिक कार्यहरू गर्छन् । उनीहरू आफूले गरेका कार्यलाई नै समापन गरेको सन्तुष्टिसँग हेरेर सुखानुभूति गर्छन् । त्यसैले सुख र दुःख भनेको मनको एउटा अवस्थामात्रै हो । मान्छेको सिर्जनाशक्तिलाई, मान्छेको आत्मबललाई, उसको सफलतालाई यही कुराले परिभाषित गरिदिन्छ । सर्वप्रथम त कुनै पनि कुरा फत्ते गर्न मनमा भाव आउनुपर्छ । उदय श्रेष्ठमा पनि शारीरिक सुगठनमार्फत् बेजोड भाव सिर्जना भएको देखिन्छ । यही भावमार्फत् उहाँले आफना कर्महरूलाई सबैलाई स्वस्थ राख्ने अभियानमा हुनुहुन्छ शारीरिक सुगठनमार्फत् ।

विगत चार दशकदेखि निरन्तर हुनुहुन्छ उहाँ यो क्षेत्रमा । श्रेष्ठले खेलाडी व्यवस्थापन, प्रशिक्षक र निर्णायकका रूपमा यो क्षेत्रमा योगदान पुर्‍याउनुभएको छ । उहाँ २०३३ मा बडी बिल्डिङमा खासै रुचि नभएका बेलामा यो क्षेत्रमा होमिनुभएको थियो । नेपालमा पहिलोपल्ट भएको मिस्टर नेपालमा उहाँ दोस्रो हुनुभएको थियो । ज्योतिजंग राणा पहिलो हुनुभएको थियो । त्यसपछि थुप्रै प्रतियोगितामा उहाँले प्रथम स्थान हासिल गर्न सफल हुनुभयो । विसं. २०४० देखि २०४२ सम्म नेपाल व्यायाम मन्दिरका अध्यक्ष रहनुभएका श्रेष्ठ विभिन्न संघसंस्थामा संलग्न रहनुभयो भने अहिले आफ्नै जिम सेन्टर सञ्चालन गरिरहनुभएको छ । नेपालमै पहिलोपटक निजीस्तरबाट प्रशिक्षण सेन्टर खोलेर यो क्षेत्रको श्रीवृद्धिमा उहाँ संलग्न हुनुभएको थियो । उहाँसँग प्रशिक्षण लिनेको संख्या पाँच लाखको हाराहारीमा पुगेको श्रेष्ठ बताउनुहुन्छ ।

श्रेष्ठ चलचित्र क्षेत्रमा पनि केही समय संलग्न हुनुभयो । उहाँले ‘चोखो माया’, ‘दाजुभाइ’ जस्ता चलचित्र र केही टेलिफिल्म तथा थुप्रै विज्ञापनमा पनि अभिनय गर्नुभएको छ । हालै उहाँ उत्कृष्ट जिम प्रशिक्षक अवार्ड २०७८ बाट समेत सम्मानित हुनुहुन्छ । सरल, मृदभाषी, साधारण जीवनशैली रुचाउने शान्त स्वभावका उदय श्रेष्ठसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

हालै यहाँ उत्कृष्ट जिम प्रशिक्षक अवार्ड २०७८ बाट सम्मानित हुनुभएको छ, कस्तो महसुस गर्दै हुनुहुन्छ ।
म यो क्षेत्रमा २०३३ सालदेखि छु । यस क्षेत्रमा मैले लामो समय बिताएँ । खेलाडी व्यवस्थापन, प्रशिक्षक र निर्णायकका रूपमा मैले यो क्षेत्रमा आफूलाई संलग्न गराएँ । मेरो प्रशिक्षणमा हालसम्म पाँच लाखभन्दा बढी प्रशिक्षार्थी रहेका छन् । मेरो कर्मलाई सम्मान गर्दै मलाई उत्कृष्ट जिम प्रशिक्षक अवार्ड २०७८ बाट हिमालय जिम सेन्टरले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा सम्मानित गर्‍यो । मलाई समारोहका मुख्य अतिथि नेपाल बडी बिल्डिङ संघका पूर्वअध्यक्ष तथा नेपाली बडी विल्डिङका पहिलो अन्तर्राष्ट्रिय निर्णायक रमेशनाथ खनाल र क्लबका अध्यक्ष रामकृष्ण श्रेष्ठले अवार्ड प्रदान गरेर सम्मान गर्नुभएकोमा उहाँहरूप्रति आभारी छु ।

कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
म विगत चार दशकदेखि यो क्षेत्रमा निरन्तर छु । यतिबेला आफ्नै जिम सेन्टर अक्सफोर्ड जिममार्फत् युवाहरूको चाहनालाई पूरा गर्ने कार्यमा लागिरहेको छु ।

विगत लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, यो क्षेत्रमा लागेर के पाए जस्तो लाग्छ ?
मेरो चाहना, इच्छाको क्षेत्र हो यो । मैले सम्पूर्ण जीवन यसैमा समर्पित गरेँ । यो क्षेत्रका अनेक उतारचढावमा कत्ति पनि विचलित नभइकन आफ्नो यात्रामा निरन्तर रहेँ । यो क्षेत्रमा लागेर मैले सबैको माया पाएको छु । विभिन्न संघसंस्थाबाट मानसम्मान, अवार्ड, आफ्ना प्रशिक्षार्थीहरूको माया पाएको छु ।

यो उमेरमा पनि युवा जोसजाँगरका साथ आफ्नो कर्ममा खटिनुभएको छ बिहानदेखि साँझसम्म नै ?
हो, सायद जिम नै मेरो फिटनेसको राज हो । अन्य क्षेत्रमा भएको भए रिटार्यड लाइफ हुन्थ्यो होला । तर, ममा अहिले पनि त्यही युवा जोस र जाँगर छ । युवाहरूको संगतले मलाई झन् जोसिलो बनाएको छ ।

तपाईंलाई यस क्षेत्रमा लाग्न केले प्रेरित गर्‍यो ?
मुख्य कुरा त मभित्र एक खालको जुनुन थियो यो क्षेत्रमा लाग्नका लागि । त्यही जुनुन नै मेरो प्रेरणाको स्रोत हो भन्नुपर्ला । अर्को कुरा म यो क्षेत्रमा लाग्दै गर्दा मैले प्राप्त गर्दै गएका सफलताले मलाई झन् हौसला प्रदान गर्‍यो । २०३८ सालमा आयोजित मिस्टर नेपालमा पदक जितेँ । त्यसपछि मिस्टर काठमाडौंमा पनि आफ्नो तौल (६५ केजीभन्दा माथि) स्वर्ण जितेँ । विसं. २०४५ सालमा राष्ट्रिय निर्णायकको मान्यता पाएँ । यस्तै २०६६ सालमा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता पाएै । थुप्रै अन्तर्राष्ट्रिय, अनगिन्ती घरेलु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेँ । मैले यो क्षेत्रमा प्राप्त गर्दै गएका सफलता र मैले यो क्षेत्रमा पुर्‍याएको योगदान नै मेरा प्रेरणाका स्रोत हुन् भन्ने लाग्छ ।

आफ्नो जिम सेन्टर सञ्चालन गर्ने सोच कसरी आयो ?
मलाई भेट्ने जोकोहीले पनि बडी बिल्डिङ सिकाउन आग्रह गर्नुहुन्थ्यो । जसलाई मैले नजरअन्दाज गर्न सकिन । यस्तो आग्रहको ओइरो लाग्न थालेपछि मैले जिमखाना नखोली सुखै पाइन । शारीरिक सुगठन प्रशिक्षण गर्ने कुनै पनि व्यायामशाला सञ्चालन नभएको त्यस समयमा मैले ठूलै हिम्मत गरेर त्यो सञ्चालनमा ल्याएँ । निजीस्तरबाट सञ्चालन भएको यो नै नेपालको पहिलो जिमखाना थियो । पहिलोपल्ट मैले २०४५ सालमा ताहाचलमा जिम सेन्टर खोलेँ । पछि यसलाई पुतलीसडकमा ल्याएँ ।

पछिल्लो समय कस्ता युवायुवतीहरू यहाँसँग प्रशिक्षण लिन आउँछन् ?
पछिल्लो समय तौल घटाउन र बढाउन युवाहरू जिमतर्फ आकर्षित भएका छन् । एक वर्षको नियमित जिमले दश किलोसम्म तौल घटेको छ । फेरि जिम युवाका लागि मात्र होइन यो स्वस्थ रहनका लागि सबैलाई आवश्यक पर्दछ । स्वस्थका लागि जिम जान चिकित्सकहरूको पनि सल्लाह रहने गर्दछ । बिहानको एक घण्टाको जिमले तपाईं दिनभर नै फुर्तिलोका साथ आफ्ना कार्यसम्पादन गर्न सक्नुहुन्छ । भागदौड र व्यस्त जीवनका कारण तनाव झेलिरहेकाहरूलाई यसले केही हदसम्म मानसिक शान्ति प्रदान गर्दछ । स्वस्थ शरीरमा नै स्वस्थ मन मस्तिष्क रहने गर्दछ ।

जिम गर्दा कस्ता कुरामा ध्यान पुर्‍याउन जरुरी छ ?
यो शारीरिक व्यायाम भएकाले विशेष ध्यान पुर्‍याउन आवश्यक छ । यो एक किसिमको कला हो । आफैं युट्युबमा हेरेर अभ्यास गर्नाले शरीरमा दुष्प्रभाव पनि पर्न सक्छ । यसका लागि प्रशिक्षकको आवश्यकता पर्दछ । तालिमप्राप्त प्रशिक्षकबाट सिक्नु नै प्रभावकारी हुन्छ ।

जिमसँगसँगै खानपानमा पनि ध्यान पुर्‍याउनुपर्छ होइन ?
हो नि जिमसँगसँगै तपाईंले नियमित आफ्नो खानपानमा पनि ध्यान पुर्‍याउन आवश्यक छ । नियमित जिम गर्न थालेपछि तपाईंको शरीरको पौष्टिक आवश्यकता पनि अलि भिन्न हुँदै जान्छ । त्यसमाथि गुणस्तरयुक्त सन्तुलित भोजनले तपाईंलाई जिममा चाहिने जाँगर र शक्तिको आपूर्ति गर्दछ । शरीरलाई आवश्यक खुराकको मात्रा वैज्ञानिक आधारमा नापतौल गरी उपभोग गरेमा लाभदायक हुन्छ ।

कुनै समय चलचित्र क्षेत्रमा पनि यहाँले आफूलाई संलग्न गराउनुभयो ?
मैले ‘चोखो माया’, ‘दाजुभाइ’, जस्ता चलचित्रमा अभिनय गरेँ । यस्तै विभिन्न टेलिफिल्ममा पनि अभिनय गरेको छु । यसैगरी गोल्डेन इगल, च्याम्पियन सुज, स्पार्क सुज जस्ता विज्ञापनमा पनि खेलेँ । तर, मैले अभिनय क्षेत्रलाई निरन्तरता दिइन । बडी बिल्डिङमा मात्र मैले आफ्नो ध्यान केन्द्रित गरेँ । बडी बिल्डिङ मेरो पहिलो प्रेम थियो । त्यसैले यसैमा आफ्नो भविष्य सोचेर यही क्षेत्रमा पूर्णरूपमा समर्पित भएँ । जुन अहिलेसम्म निरन्तर छ ।

जिम र बडी बिल्डिङमा के फरक छ ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । जिमले स्वस्थ तन र प्रसन्न मन दिलाउँछ । तर, बडी बिल्डिङमा जाने हो भने सजिलो छैन । जिम बडी बिल्डिङको सानो हिस्सामात्रै हो । बडी बिल्डिङमा अथक कसरतमात्र होइन, त्यसअनुरूप आहार र आरामको पनि आवश्यकता पर्दछ । बडी बिल्डिङमा लाग्ने खेलाडीको शरीरलाई अधिकतम् प्रोटिन आवश्यक पर्छ । एक्सरसाइज अगाडि कार्बोहाइड्रेट र कयालोरी र एक्सरसाइजपछि प्रोटिन अत्यावश्यक हुन्छ । यसबाहेक बडी बिल्डिङमा लाग्नेले कम्तीमा आठ घण्टा सुत्नु आवश्यक छ । यस खेलमा धैर्यको आवश्यकता सर्वाधिक हुन्छ । यसका लागि वर्षौं वर्षको तपस्या चाहिन्छ । मिहिनेत गर्ने बानी छैन भने हल्का जिम गर्नु नै बेस हुन्छ ।

अब यो क्षेत्रबाट विश्राम लिऊँ जस्तो लाग्दैन ?
अहँ, लाग्दैन । मेरो जीवन रहेसम्म यस क्षेत्रबाट टाढा हुने कल्पना पनि गर्न सक्दिन मैले । मैले मेरो जीवन जिमलाई नै समर्पित गरेको छु ।

अन्त्यमा ?
मेरो अहिलेको लक्ष्य भनेको सबैलाई फिट बनाएर निरोगी समाज निर्माण गर्ने हो । अरू खेलमा ढल्किँदो उमेरसँगै सन्यास लिनुपर्छ तर यसमा उमेर गए पनि अवकास हुँदैन । तपाईंहरूको यो लोकप्रिय सञ्चारमाध्यममार्फत् सबैलाई आग्रह गर्न चाहन्छु जिम गरौँ निरोगी बनौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?