धितोपत्र बोर्डलाई ब्रोकरका दर्जन बढी सुझाव

Read Time = 6 mins

काठमाडौं । ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी आगामी नीति तथा कार्यक्रमका लागि एक दर्जनभन्दा बढी सुझाव दिएको छ । एसोसिएसनले धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र, पहुँच विस्तार, क्षमता अभिवृद्धि तथा व्यावसायिक सुरक्षामा जोड दिएको छ । कार्यविधि बनेको वर्षौंसम्म पनि मार्जिन ट्रेडिङ कार्यान्वयनमा आउन नसकेको भन्दै मार्जिन ट्रेडिङलाई कार्यान्वयनयोग्य बनाउन तथा मार्जिन कारोबार सुविधाको पहुँच बढीभन्दा बढी लगानीकर्तामा प्रवाह गर्न लगानी गर्ने स्रोतको दीर्घकालीनरूपमा सुनिश्चित गर्नुपर्ने, मार्जिन कारोबारअन्तर्गत खरिद गरिएका धितोपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था हुनुपर्ने, सोे रकममा व्यवसायीले आफ्नो स्वपुँजीबाट निश्चित रकम थपेर लगानीकर्तालाई कर्जा प्रवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने एसोसिएसनका सुझाव रहेका छन् ।

त्यस्तै विभिन्न बहानामा नेपालमा लगानी व्यवस्थापन गर्ने कार्यबाट धितोपत्र व्यवसायीलाई वञ्चित गरिँदै आएकोमा समग्र अर्थतन्त्र तथा पुँजीबजारको हितलाई ध्यानमा राखी धितोपत्र दलाल व्यवसायीलाई लगानी व्यवस्थापन सेवा प्रवाहका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, सेक्युरिटिज डिलर, विभिन्न खाले वित्तीय सेवा, पुँजी बजारका उत्पादन विकास र वितरणजस्ता अन्तर्राष्ट्रिय बजारमा धितोपत्र दलाल व्यवसायीले गर्ने सम्पूर्ण कार्य खुला गर्नुपर्ने, बुक बिल्डिङ विधिमार्फत् धितोपत्र जारी प्रक्रियामा धितोपत्र दलाल व्यवसायी योग्य संस्थागत लगानीकर्ताका रूपमा सहभागी हुन पाउनुपर्ने पनि माग गरिएको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा धितोपत्र दलाल व्यवसायीले आफ्नै संस्थामार्फत् दैनिक करिब बजारको आधा कारोबार गर्ने गरेको र त्यसले बजारको तरलतामा ठूलो टेवा पुर्‍याएको भन्दै नेपालमा पनि प्रोत्साहित गर्नुपर्ने, बजारको उतारचढावमा व्यवसायीको हात रहन्छ भन्ने भ्रम पनि चिर्नुपर्ने, व्यवसायी संस्था, सेयरधनी, सञ्चालक, कर्मचारी तथा एकाघर परिवारका सदस्यले आफ्नै संस्थामार्फत् कारोबार गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, आधिकारिक प्रतिनिधिमार्फत् धितोपत्र दलाल व्यवसाय देशको हरेक कुनामा पुर्‍याउने उद्देश्यले बोर्डले नै अध्ययन गरी कार्यविधिको मस्यौदालाई अन्तिम रूप दिइसकेकाले यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने माग पनि रहेका छन् ।

त्यस्तै धितोपत्र दलालको शाखा विस्तार अनुमति दिने अधिकार बजार सञ्चालकमा निहित रहनुपर्ने, शाखा विस्तारका लागि अनुमति दिने कार्यलाई सहज र सरल बनाउनुपर्ने, बजार पहुँच विस्तार गर्न सब-ब्रोकरको अवधारणा लागू गर्नुपर्ने, धितोपत्र दलाल व्यवसायीले सर्वसाधारणमा सेयर जारी गर्न पाउने, विदेशी रणनीतिक साझेदार भित्र्याउन पाउने तथा मर्जर तथा प्राप्तिमा जान पाउने व्यवस्था गर्नुपर्ने, हाल कायम धितोपत्र कारोबार शुल्क एकदमै न्यून रहेकाले पटक-पटक परिमार्जनको सट्टा केही निश्चित प्रतिशत रकम पुँजीबजार पूर्वाधार निर्माणमा लगानी गर्ने व्यवस्था गर्नुपर्ने, बोर्डको स्वायत्तता कायम गर्न बोर्ड सञ्चालक समितिको पुनर्संरचना गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्ज सरकारी स्वामित्व र नियन्त्रणमा रहेकाले प्रविधि र वित्तीय ज्ञान हस्तान्तरण हुने गरी वैदेशिक रणनीतिक साझेदारसहितको पुनर्संरचना गर्नुपर्ने, व्यवसाय विस्तार, अध्ययन अनुसन्धान, तथ्यांक विभाग जस्ता महत्वपूर्ण विभाग विस्तार गर्नुपर्नेलगायतका सुझाव रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?