नेपालगञ्जमा पहिलोपटक घुँडा जोर्नीको सफल प्रत्यारोपण

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । नेपालगञ्जमा पहिलोपटक घुँडाको जोर्नीको सफल प्रत्यारोपण गरिएको छ । जिल्लाको कोहलपुर-१४ का एक पुरुषको पहिलोपटक घुँडाको सफलतापूर्वक अप्रेसन गरिएको हो । नेपालगञ्ज चार बाहिनी रोडस्थित हेल्थ केयर अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. तीर्थेन्द्र खड्का नेतृत्वको टोलीले ती पुरुषको अप्रेसन गरेको थियो । अस्पतालले दिएको जानकारीअनुसार कोहलपुर नगरपालिका-१४ हवलदारपुर बाँकेका ६७ वर्षीय लालबहादुर थापाको दाहिने घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण सफल भएको हो । थापा लामो समयदेखि जोर्नी खिइने रोगबाट पीडित हुनुहुन्थ्यो ।

चिकित्सकहरूको भाषामा यो रोगलाई ‘अस्टिओआर्थाइटिस’ भनिन्छ । उहाँको घुँडामा धेरै दुखाइ हुने र जोर्नी बांगो हुने समस्या थियो । थापा राम्ररी हिँड्डुलसमेत गर्न सक्नु हुँदैनथ्यो । अप्रेसनको नेतृत्व गर्नुभएका वरिष्ठ अर्थोपेडिक सर्जन डा. खड्काले यस्तो अप्रेसन नेपालगञ्जमै पहिलो भएको बताउनुभयो । उहाँका अनुसार यस्तो अप्रेसन निकै जटिल मानिन्छ । यस्तो अप्रेसनको लागि स्रोतसाधन, जनशक्ति तथा अनुभवी डाक्टरहरूको आवश्यकता पर्ने उहाँले बताउनुभयो । उहाँको अन्तिम अवस्थाको जोर्नीको समस्या थियो । अप्रेसनको विकल्प नै थिएन । हामीले दिएको सुझाव उहाँले स्वीकार गर्नुभयो । अन्ततः अप्रेसनसमेत सफल भएको छ । हामी खुसी छौँ । भेरी अस्पतालका अर्थोपेडिक विभाग प्रमुखसमेत रहनुभएका डा. खड्काले भन्नुभयो ।

खड्काको नेतृत्वमा अर्थोपेडिक सर्जनहरू डा. ऋषि विष्ट, डा. प्रकाश थापा, डा. राहुल मिश्र तथा एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डे लगायतको टिमले करिब साढे दुई घण्टा लगाएर थापाको घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो । अर्थोपेडिक सर्जन डा. खड्काले पश्चिम नेपालका करिब पाँच सय बढी बिरामीको हिप जोर्नीको आंशिक तथा पूर्ण प्रत्यारोपण तथा घुँडाको लिगामेन्टको पुनर्निर्माण गरिसकेका छन् ।

डाक्टर खड्काले बेलायतको लण्डनस्थित प्रसिद्ध वार्टफोर्ड अस्पताल तथा काठमाडौंस्थित सिभिल अस्पतालबाट जोर्नी प्रत्यारोपणमा उच्चस्तरीय तालिम लिनुभएको छ । डा. खड्काले थापाको प्रत्यारोपण आफ्नै नेतृत्वमा गर्ने निष्कर्षमा पुग्नुभयो । यता, बिरामी थापाले आफूले पुनः जीवन पाएको बताउनुभएको छ । उहाँका अनुसार यसरी नेपालगञ्जमा अप्रेसन होला र राम्रोसँग हिँड्न पाऊँला भन्ने कल्पना नै गरेको थिइनँ । थापाले अप्रेसन टोलीलाई धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?