तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

कावासोती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्व नवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन् ।

नवलपुरका तीन स्थानीय तहका १६ वडालाई समेटी तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । कावासोती नगरपालिकाको वडा नं ४, ९, १०, १२, १५, १६ र १७, मध्यबिन्दु नगरपालिकाको वडा नं १, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिकाको १, २, ३, ४ वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । तरकारी जोन कार्यक्रम आर्थिक वर्ष २०७६/०७७ बाट सुरु भएको हो ।

परियोजना सुरु हुनुपूर्व यी क्षेत्रमा तरकारी खेतीको क्षेत्रफल ५१२ हेक्टर रहेको थियो भने हाल विस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन स्थानीय तहका ९९ समूह, छ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आबद्ध छन् भने दुई हजार ३५५ घरधुरी तरकारी जोनमा संलग्न छन् ।

नवलपुर जिल्ला कृषिमा अब्बल मानिन्छ । यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्या बाक्लै छ । यो क्षेत्रमा परियोजना सुरु हुनु अघि नै धेरै किसान तरकारी खेतीमा लागेका थिए तर परियोजना लागू भएपछि किसान थप हौसिएका छन् । धेरै नयाँ किसानसमेत तरकारी खेतीमा आकर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेती गर्ने कृषकलाई ठूलो राहत मिलेको छ ।

जोनमा आबद्ध हुप्सेकोट-१ जुकेपानीको लेकबेँसी कृषक समूहका कृषक शङ्कर थापाले तरकारी जोन परियोजना लागू भएपछि मलचिङ, स्प्रे ट्याङ्की, जोख्ने काँटालगायतका सामग्री पाउँदा कृषक निकै उत्साहित भएको बताउनुभयो ।

परियोजनाका बारेमा जानकारी नहुँदा पालिकामा मात्रै निर्भर रहनुपरेको, पालिकाबाट सानो सहयोग हुने गरेकोमा परियोजनामा आबद्ध भएपछि कृषकलाई आवश्यक धेरै सामाग्री अनुदानमा पाउँदा लागत घटेको उहाँ बताउनुहुन्छ ।

परियोजनाको कामबाट आफ्नो समूह निकै खुसी भएको उहाँले बताउनुभयो । “परियोजनाले विभिन्न सहयोग गरिरहेको छ, प्राविधिक ज्ञानसमेत प्रदान गर्ने गरेको छ”, “यसले धेरै सहजता मिलेको छ”, कृषक शङ्कर थापाले भन्नुभयो, “यसले कृषि पेसा गर्न उत्प्रेरित गरेको छ ।”

जुकेपानीकै सुनौलो महिला कृषक समूहकी अध्यक्ष कृष्णमाया रानामगरले तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको बताउनुभयो । विशेष गरेर कृषि सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले कृषक बढी लाभान्वित भएको उहाँले बताउनुभयो । निर्वाहमुखी खेती गर्दै आएकोमा अहिले व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको उहाँले बताउनुभयो ।

हुप्सेकोटको जुकेपानी क्षेत्रमा अधिकांश किसान काँक्रा खेती गर्छन् । जुकेपानीबाट मात्रै एक सिजनमा रु १० करोड बराबरको काँक्रा बिक्री गरिएको छ । त्यसबाहेक टमाटर, आलु, बोडी, भिन्डी करेलालगायतका खेती गर्ने गरिएको छ ।

यस्तै कावासोती-१७ का किसान जोगबहादुर महतोले पनि परियोजना किसानका लागि निकै फलदायी भएको बताउनुहुन्छ । परियोजनाबाट प्राप्त बीउबिजन राम्रो हुने भएकाले उत्पादन पनि राम्रो भएको उहाँको भनाइ छ । अनुदानमा सामाग्री पाउँदा किसानलाई धेरै राहत मिलेको उहाँले बताउनुभयो । परियोजना सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वको कार्यालयका कर्मचारी कृषकका समस्या समाधान गर्न लागि परिरहेका छन् ।

कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले परियोजना लागू भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोनअन्तर्गत कार्यालयले गर्ने सहयोगमा क्षेत्र विस्तारमा बीउबिजन, उत्पादन सामग्रीमा ५० प्रतिशत अनुदान र सिँचाइ आयोजनामा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिनुभयो । तरकारी खेतीले छोटो समयमा उत्पादन दिने र आम्दानी गर्न सकिने पेसा भएको कारण अहिले युवासमेत तरकारी खेतीतर्फ आकर्षित भएको र कतिपय वैदेशिक रोजगारीमा जाने युवालाई गाउँमै रोक्न सफल भएको समेत उहाँको भनाइँ छ ।

तरकारी जोन परियोजनाअन्तर्गत जिल्लामा विशेष गरेर काँक्रा र टमाटर खेतीलाई प्राथमिकता दिएको छ । त्यसबाहेक आलु, बोडी, भिन्डी करेला, घिरौँला, खुर्सानीलगायतका तरकारी खेती यहाँ गरिन्छ । परियोजना नहुँदा किसानले उत्पादन सामाग्री सबै आफ्नै खर्चमा किन्नुपर्दा लागत बढी लाग्ने गरेको थियो । अहिले अनुदानमा सामाग्री पाएपछि भने उत्पादन लागत घट्दा नाफा बढी भएको किसान बताउछन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?