अवैध लागूऔषधसहित ९ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके, पर्सा, कञ्चनपुर, झापा र संखुवासभाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट १३ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका ती किशोरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २६ वर्षीय जिबन लामिछानेलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १ ग्राम ९५० मिलीग्राम उक्त पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट ५ सय मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका-१५ बस्ने ३७ वर्षीय गौरी शंकर सिंहलगायत छन् । उनीहरुलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईबाट ५ ग्राम ६२ मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ती किशोरको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-६ मेचीपुलबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय अनुप प्रधान रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका अनुपको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

संखुवासभाको खाँदवारी नगरपालिका-३ माल्टा खोला नजिक सडकबाट ४ किलो ४२० ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिचिला गाउँपालिका-१ बस्ने ३० वर्षीय बबी गुरूङ लगायत छन् ।

बा‍.६९ प १८९८ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट सुमनचोकबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?