पाल्पाका स्थानीय सरकार बने ‘पूर्ण खोप’ सुनिश्चित

हिमालय टाइम्स
Read Time = 4 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाका दशवटै स्थानीय सरकारहरू ‘पूर्ण खोप’ सुनिश्चितता भएका छन् । पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि यहाँका पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । दशवटै स्थानीय तहहरूले पालिकाभरका सम्पूर्ण बालबालिकाले खोप पाए नपाएको बारेमा सर्वेक्षण गरेका थिए ।

जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि यहाँका पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । यो अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालकालिकाहरूलाई समेत खोजेर पूर्ण रूपमा खोप सुनिश्चितता गरिएको छ ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा यस वर्षदेखि टाइफाइडविरुद्धको खोप थप भएको हो ।

त्यससँगै जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै जिल्लाका १० वटै स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको स्वास्थ्य कार्यालयका प्रमुख डा. गिरीले बताउनुभयो । उहाँका अनुसार छिट्टै जिल्ला खोप समन्वय समितिको बैठक बसी जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरिनेछ ।

निस्दी गाउँपालिकालाई आइतबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएसँगै यहाँका दशवटै पालिका पूर्ण खोप सुनिश्चितता भएका हुन् । तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकालाई शनिबार घोषणा गरिएको थियो भने यहाँका बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका रामपुर नगरपालिकालाई यसअघि नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको थियो ।

पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पूरा गर्नुपर्ने हुन्छ । यहाँका सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पूरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पालाई २०७० मा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।

बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ । यसअघिका वर्षहरूमा यहाँका पालिकाहरूमा कोरोना महामारी र विविध कारणले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न नसकिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?