नासिर र निभालाई दोहोरो स्वर्ण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल पौडी संघ (एनएसए) ले आयोजना गरेको १०औँ एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याहृया हुसेन र निभा मास्केले पहिलो दिन दोहोरो स्वर्ण हात पार्न सफल हुनुभएको छ । नासिरले २०० मिटर इन्डिभिजुअल मिड्ले र १०० मिटर फ्रि स्टायलमा तथा निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पार्नुभएको हो । उमेर समूह पौडी प्रतियोगिताको महिला २०० मिटर इन्डिभिजुअल मिड्लेमा डुवाना लामाले खुलातर्फ विजय हात पार्न सफल हुनुभएको छ । लामाले उक्त दूरी २ मिनेट ३७.१७ सेकेन्डमा पूरा गरी स्वर्ण जित्नुभएको थियो । यस्तै सो स्पर्धामा निभा मास्के २ मिनेट ४०.२१ सेकेन्डका साथ दोस्रो र सियरा सुभांगी बजाज ३ मिनेट १.७४ सेकेन्डका साथ तेस्रो हुनुभयो ।

पुरुषतर्फ सोही स्पर्धामा नासिर याहृया हुसेनले स्वर्ण जित्नुभयो । उहाँले सो दूरी २ मिनेट १८.५९ सेकेन्डमा पूरा गर्नुभयो । सेरेन सिंह २ मिनेट २९.८९ सेकेन्डमा पूरा गर्दै दोस्रो र २ मिनेट ३४.४१ सेकेन्डका साथ विकास कुमाल तेस्रोे हुनुभयो । महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण जित्नुभयो । उहाँले ३५.९० सेकेन्डमा दूरी पूरा गर्नुभएको हो । यस्तै दोस्रो स्थानमा ३७.९६ सेकेन्डका साथ रोयल प्रजापती र ३८.११ सेकेन्डका साथ आर्या महर्जन तेस्रो हुनुभयो । पुरुषतर्फ तेन्जिगना मदोल रायन गुरुङले ३१.६१ सेकेन्डका साथ स्वर्ण हात पार्नुभयो ।

दोस्रो स्थानमा अनुभव सुब्बा रहनुभयो । उहाँले ३२.४२ सेकेन्डमा दूरी पूरा गर्नुभयो । यस्तै ३३.९८ सेकेन्डका साथ गौरव लामा तेस्रो हुनुभयो ।
महिला १०० मिटर फ्रि स्टायलमा डुवाना लामालाई पछाडि पार्दै निभा मास्केले स्वर्ण हात पार्नुभयो । निभाले उक्त दूरी १ मिनेट २.८७ सेकेन्डमा पूरा गर्नुभयो ।

डुवानाले १ मिनेट ३.७८ सेकेन्डमा पूरा गर्नुभयो । तेस्रो स्थानमा अनुसिया तण्डुकार रहनुभयो । उहाँले १ मिनेट ५.१७ सेकेन्डमा दूरी पुरा गर्नुभयो । पुरुषतर्फ नासिर याहृया हुसेनले ५५.८१ सेकेन्डका साथ स्वर्ण हात पार्नुभयो । दोस्रो स्थानमा रहनुभएका अनुभव सुब्बाले ५८.३० सेकेन्डमा र तेस्रो स्थानमा रहनुभएका सुविग्यमान तुलाधरले ५८.३७ सेकेन्डमा दूरी पूरा गर्नुभयो । विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, सचिव रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?