‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु

Read Time = 5 mins

काठमाडौं । तीन दिनका लागि ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै कुलपति कर्माचार्यले नेपाली कलाक्षेत्रमा क्यारिकेचरको महत्व पछिल्लो समय बढ्दै गएको बताउनुभयो । उनले कार्टुन, पत्रकारितासँगै कलामा समेत क्यारिकेचरको विशिष्ट महत्व रहेको जनाउँदै यसलाई अझै समृद्ध पार्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपालमा कार्टुनसँगै क्यारिकेचरको महत्व र आवश्यकता बढ्दै गइरहेको विचार व्यक्त गरे । कार्टुनिष्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर प्रदर्शनीमार्फत समाजका विशिष्ट व्यक्तित्वलाई चिनाउन खोजिएको बताउनुभयो ।
प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले कार्टुन–क्यारिकेचर कला विधामा महिला कलाकारलाई प्रश्रय दिने उद्देश्यले गत पुस २८-३० गतेसम्म महिला कलाकार सहभागी गराएर क्यारिकेचर कार्यशाला गरेको बताउनुभयो । क्लबका अध्यक्ष वासु क्षितिजले पत्रकारिता र कलाकारितामा क्यारिकेचरको महत्व विशिष्ट रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘क्यारिकेचर अर्थात् ‘अनुहारको व्यंग्यात्मक हाउभाउ’ व्यंग्यचित्रको अर्को पाटो हो । रङ र रेखाद्वारा व्यक्तिको भावसहितको बढाइचढाइ अर्थात् अतिरञ्जना गरिएको चित्रको रूपमासमेत क्यारिकेचरलाई बुझ्ने गरिन्छ ।’

नाफा परिसरमा तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा अशोकमान सिंह, अविन श्रेष्ठ, जीवन राजोपाध्याय, वासु क्षितिज, देवेन्द्र थुम्केली, रविन्द्र मानन्धर, केशवराज खनाल, योगेश खपाङ्गी, राजेश मानन्धर, सागर शाह, भानु भट्टराई, महेश बस्ताकोटी, रवि मिश्र, रामकृष्ण थापा, उमेशचन्द्र अधिकारी, दीपक गौतम, सानुराज डंगोल, अकृन अधिकारी, सुजिता महर्जन, रमिला महर्जन, एनबि गुरुङ, पल्पसा मानन्धर, प्रकाश थापा प्रथा, एलिना पोखरेल, असिना भण्डारी, अर्पिता शाक्यले कला, साहित्य, खेलकुद, चलचित्र, व्यापारलगायत क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ ।

यस्तै, प्रदर्शनीमा वामन चालिसे, विश्व थापा, सुदर्शन सिग्देल, चाँदनी जोशी, दिव्या श्रेष्ठ, ज्योत्स्ना उदास, कीर्ति तिमिल्सेना, मनरा प्रजापति, निरुपा राजभण्डारी, प्रतिमा चौधरी, रामहरि रिमाल, राजकी अर्याल, सदीश्री थापा, सोना नेपाली, सुश्रीना शाक्य, स्वस्तिका बलामीलगायत कलाकारले बनाएका क्यारिकेचर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?