बोर्डलाई ब्रोकरहरूको ज्ञापनपत्र

Read Time = 5 mins

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल धितोपत्र बोर्डको ब्रोकरसँग सम्बन्धित निर्णयप्रति आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएको छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन गर्ने निर्णय गरी संशोधन प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेपछि ब्रोकर एसोसिएसनले आपत्ति जनाउँदै बोर्ड अध्यक्षलाई सोमबार ज्ञापनपत्र बुझाएको हो । धितोपत्र दलाल व्यवसायीसँग प्रत्यक्ष सम्बन्धित नियमावली रहेकोमा धितोपत्र दलाल व्यवसायीसँग छलफलसमेत नगरी हतार-हतार ल्याइएको सेबोनको गुनासो छ ।

हाल सञ्चालनमा रहेका व्यवसायीबाट भौगोलिकरूपमा बजार तथा सेवा विस्तार हुन नसकेको भन्ने तथ्यहीन आरोप तथा नियमित चक्रमा चल्ने बजारमा आएको गिरावटबाट बजार उकास्ने बहानाका आधारमा मस्यौदामा प्रस्ताव गरिएको सेबोनको आरोप छ । विगत तीन दशकदेखि बजारको सारथीका रूपमा रहेका व्यवसायीले ओपन आउट क्राइ, सेमी अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणाली अवलम्बन र सफल प्रयोगमा नियामक र बजार सञ्चालकलाई पूर्णरूपमा सहयोग गर्दै आएकोमा पछिल्लो नियमावली ल्याउँदा भने बोर्डले ब्रोकर कम्पनीहरूलाई बाइपास गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

ब्रोकर एसोसिएसनका महासचिव गुणनिधि भुसालद्वारा जारी ज्ञापनपत्रमा भनिएको छ, ‘राफसाफ प्रत्याभूति कोष र अक्सन मार्केटजस्ता बजारका आधारभूत पूर्वाधार स्थापनामा नियामक र बजार सञ्चालक नै अग्रसर नदेखिएको अवस्थामा पनि आफ्नो जायजेथाबाट क्षति बेहोरेरै भए पनि विगत तीन दशकमा कुनै पनि लगानीकर्ताले खरिद गरेको एक कित्ता सेयर र बिक्री गरेको एक रुपैयाँ नगद गुमाउनुपर्ने अवस्था आउन नदिई बजारको विश्वसनीयता कायम गरेकै हौं । बजारका यति धेरै व्यवधान सहेर बजारलाई आजको अवस्थामा ल्याएका हामी व्यवसायीलाई काम गर्न केही सहज परिस्थिति हुनेबित्तिकै कुनै अवसर नै नदिई कुनै परीक्षण नै नगरी अयोग्यताको ट्याग लगाएर अपहेलित गर्दै व्यवसायबाट विस्थापित हुने वातावरणको सिर्जना गरिँदा बोर्डले बजारको इतिहास बिर्सिएर हामीलाई राम्रो पुरस्कार दिएको छ भन्ने हामीलाई लागेको छ । यसबाट हामी अत्यन्तै मर्माहत भएका छौँ ।’

आधारहीन अध्ययनका आधारमा व्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको संशोधन प्रस्तावले हाल सञ्चालनमा रहेका व्यवसायीलाई व्यवसाय छोड्न बाध्य पार्ने, अन्य उत्पादनमूलक क्षेत्रमा पुँजीको कमी भइरहेको अवस्थामा सीमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पुँजी लगानी गर्न हौस्याइ धितोपत्र बजारमा गरिएको जनताको लगानीलाई जोखिममा पार्ने, राफसाफमा निहित जोखिम बढ्ने र अन्त्यमा गर्न सक्ने र क्षमतावान टिक्ने नाममा सीमित समूहको नियन्त्रणमा धितोपत्र दलाल व्यवसाय पुग्ने वातावरण भई समग्र बजार नै असन्तुलित हुन जाने भन्दै प्रस्तावित नियमावली पुनः बोर्डमै फिर्ता ल्याई सरोकारवालाको छलफल चलाउन पनि एसोसिएसनले माग गरेको छ ।

प्रस्तावित नियमावलीअनुसार ब्रोकर कम्पनीले दुई करोड रुपैयाँ रहेको चुक्ता पुँजी दुई वर्षभित्र १० गुणाले बढाएर २० करोड पु¥याउनुपर्नेछ । त्यस्तै पूर्ण सेवा दिने सेयर ब्रोकरले भने ६० करोड चुक्ता पुँजी पुर्‍याउनुपर्नेछ । स्टक डिलर अर्थात् धितोपत्र व्यापारीको लाइसेन्सका लागि एक अर्ब ५० करोड रुपैयाँ पुँजी प्रस्ताव गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?