महावीर पुनलाई गण्डकी रत्न सम्मान

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गर्नुभएको हो । गण्डकी प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला पुन मुलुकबाहिर भएकाले अहिले सम्मान प्रदान गरिएको गण्डकी प्रदेशले जनाएको छ ।

सो अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मिएर पनि अनुसन्धान क्षेत्रमा पुनले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । शिक्षण पेशामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले नै पुनले सफलता हासिल गर्नुभएको बताउनुभयो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको पनि जानकारी गराउनुभयो । सभामुख नेत्रनाथ अधिकारीले पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उचो भएको बताउनुभयो । आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेशभित्र जन्मिएर यहाँकै श्रीवृद्धिका लागि योगदान गरेकाबाट नामहरू छनोट गरिएको बताउनुभयो ।

विभूषण ग्रहणपछि पुनले अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरू समृद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरू रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन ।’

अनुसन्धान आफंैमा कठिन काम भन्दै पुनले सयवटा अनुसन्धानमध्ये १०/१५ वटामात्र सफल हुने भएकाले शतप्रतिशत नतिजा आउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो बजेट सिस्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन् तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन ।’

गण्डकी प्रदेशले गण्डकी विश्वविद्यालयमार्फत् आविस्कार केन्द्र खोलेकामा आफू उत्साही भएको भन्दै उहाँले आविस्कार केन्द्र खुलेकै कारण सम्मान लिन आफू तयार भएको पनि जानकारी गराउनुभयो । विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आउनुभएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नाँगीमा २०११ सालमा जन्मिनुभएको हो । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा कार्य गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?