शोधनान्तर घाटा दुई खर्ब ७० अर्ब

Read Time = 7 mins

काठमाडौं । सरकारले आयातमा कडाइ गरे पनि अर्थतन्त्रका सूचकमा भने खासै परिवर्तन आएको छैन । व्यापारघाटा बढ्दोक्रममा रहेको छ भने रेमिट्यान्स विदेशी मुद्रा सञ्चिति निरन्तररूपमा घट्दोक्रममा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्प २०७८/०८९ को ११ महिना अर्थात् जेठसम्मको तथ्यांकअनुसार शोेधनान्तर स्थिति झण्डै दुई खर्ब ७० अर्ब अर्थात् दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा १५ अर्ब १५ करोडमात्रै घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड आठ लाखले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा दुई अर्ब २६ करोडले घाटामा रहेको छ ।

त्यस्तै २०७८ असारमा १३ खर्ब ९९ अर्ब तीन करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठमा ११ खर्ब ७६ अर्ब ८४ करोडमा सीमित भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असारमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठमा १९.६ प्रतिशतले कमी आई नौ अर्ब ४५ करोड कायम भएको छ ।

राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असारमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठमा १७.१ प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ८९ करोडमा झरेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असारमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठमा ६.१ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ९५ करोडमा झरेको छ । २०७९ जेठको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.० प्रतिशत रहेको छ ।

११ महिनामा १७ खर्ब ६३ अर्बको आयात
११ महिनामा कुल वस्तु व्यापारघाटा २५.० प्रतिशतले वृद्धि भई १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.६ प्रतिशतले बढेको थियो । आयात २७.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । त्यस्तै ११ महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई एक खर्ब ८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो, ऊनी गलंैचा, जिंक सिटको निर्यात बढेको छ भने अलैंची, चिया, औषधि (आयुर्वेदिक), दन्त मञ्जन, तारलगायतको घटेको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्ट्सको आयात बढेको छ भने एमएस विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाललगायतको आयात घटेको छ ।

रेमिट्यान्स वृद्धिदर पनि ३.८ प्रतिशतमात्रै
समीक्षा अवधिमा रेमिट्यान्स आय पनि ३.८ प्रतिशतले मात्रै वृद्धि भई नौ खर्ब चार अर्ब १८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आय १.५ प्रतिशतले वृद्धि भई सात अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १०.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने उल्लेख्यरूपमा वृद्धि भई तीन लाख १३ हजार तीन सय ६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २०८.३ प्रतिशतले वृद्धि भई दुई लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।

मूल्यवृद्धि ८.५६ प्रतिशत
जेठ महिनामा मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धि दर ४.१९ प्रतिशतमात्रै थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.४३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठसम्म वार्षिक बिन्दुगत मासिक औसत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ । २०७८ जेठको तुलनामा २०७९ जेठमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सुर्तीजन्य पदार्थ, मदिराजन्य पेय पदार्थ र दाल तथा गेडागुडी समूहको मूल्यवृद्धि क्रमशः २२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशतको मूल्य वृद्धिदर रहेको छ । २०७८ जेठमा क्रमशः ३.८७ प्रतिशत, ४.४७ प्रतिशत, ४.३२ प्रतिशत र १.७२ प्रतिशतमात्रै रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?