लिउद्वारा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुवात

Read Time = 3 mins

काठमाडौं । ऊर्जा, जलस्रोत सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरूपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुवात गर्नुभएको छ । काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उक्त परियोजनाको सुरुवात गर्दै मन्त्री भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास र समृद्धितर्फ अघि बढेको भन्दै नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी मुलुक चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयनका लागि आर्थिक विकास अपरिहार्य छ । त्यसका लागि हामीलाई चीनको सहयोग आवश्यक छ ।’

खासगरी चीनको आर्थिक तथा प्राविधिक सहयोगबाट भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै मन्त्री भुलालले नेपालको शैक्षिक विकास तथा गरिबी निवारणमा पनि चीनको सहयोग रहेको बताउनुभयो । सिपिसी विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल चीनको असल छिमेकी रहेको भन्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘महान् मुलुक नेपाल चीनको असल छिमेकी साझेदार हो, हाम्रो जनस्तरको सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ ।’

बालबालिका देशको भविष्य भएको उल्लेख गर्दै उहाँले बालबालिका नेपाल-चीन मितेरीको पनि भविष्य भएको बताउनुभयो । लिउले भन्नुभयो, ‘बालबालिकाको खुसीले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्न सहयोग गर्छ, सम्बन्ध अझ मजबुत बनाउँछ । उहाँहरू नेपाल-चीन सम्बन्धको नयाँ बिउ हो ।’ उहाँले ग्लोबल डेभलपमेन्ट तथा साउथ कोपरेसन फन्डमार्फत् नेपालको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभएको छ । कार्यक्रममा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना नेपालका ३५ स्कुलमा लागू भएको र पाँच लाख बालबालिका लाभान्वित भइरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?