दक्षिण सहयोग सहायता कोषले नेपालको विकासमा सहयोग पुग्नेछ : लिउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उहाँले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको हो ।

सोमबार काठमाडौंको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुसी भए मात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुसी हुन जरुरी रहेको बताउनुभयो । उहाँले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गर्नुभयो ।
प्रमुख लिउले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र चीन दुई मुलुकबीचको सामाजिक संगठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले नेपाली बालबालिकाहरूलाई चीनमा भ्रमणका लागि जान पनि आग्रह गर्नुभयो । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकालाई स्वागत गर्न पाए आफू झनै खुसी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरूसँग भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले नेपाल-चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण गरी स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने विश्वास राखेको बताउनुभयो ।

यस्तै, नेपाल भ्रमणमा रहनुभएका लिउले नेपालको राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताउनुभएको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूसँगको भेटमा उहाँले पार्टीहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताउनुभएको नेता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो । ‘नेपाल र नेपालको कुनै पनि पार्टीहरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन र चिनियाँ कम्युनिष्ट पार्टीको नीति रहेको कुरामा उहाँले जोड दिनुभयो’ भेटपछि श्रेष्ठले पत्रकारहरूसँग भन्नुभयो ।

नेता जियानचाओले नेपालको विकासको प्रक्रियामा चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौताअनुसार नेपालले ठोस योजना छनोट गरेमा ठोस रूपमा छलफल गर्न सकिने बताएका नेता श्रेष्ठले जानकारी दिनुभयो । भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालको विकास प्रक्रियामा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै चीनमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको समस्या समाधान गर्न चीनको ध्यानाकर्षण गराउनुभएको थियो । नेता श्रेष्ठका अनुसार नेपाल र चीन बीचको व्यापार घाटा कम गर्ने विषयमा पनि चिनियाँ सहयोगको अपेक्षा गरिएको प्रचण्डले बताउनुभएको थियो ।

चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउनुभएका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासहितका उच्च अधिकारीहरू र प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ । यस्तै, उहाँको विभिन्न दलका नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय छ । सिपिसीका विदेश विभाग प्रमुख लिउको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार बेलुकी रात्रिभोज आयोजना गर्नुभएको थियो । उहाँ बुधबार स्वदेश फर्किनुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?