श्रीलङ्काका पूर्वअर्थमन्त्रीको देशबाट भाग्ने प्रयास असफल

हिमालय टाइम्स
Read Time = 2 mins

कोलम्बो । पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा भाई बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

देशमा जारी चरम आर्थिक सङ्कटका बेला बासिलले श्रीलङ्का छोड्ने प्रयास गरेकामा त्यसको हवाइजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीहरूले उनलाई विमान चढ्न नदिएका डेली मिररले छापेको छ ।

यसैबीच, राष्ट्रपति गोटाबायाले देश नछाडेको सभामुख महिन्दा यापा अबेवर्देनाले बताएका छन् । शनिबार राजीनामाको घोषणा गरेका उनी भागेर तेस्रो मुलुक गएको बताइएको थियो । प्रधानमन्त्री रनिल विक्रमासिङ्घे पनि स्वदेशमा नै रहेको दाबी उनले गरेका छन् ।

शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौँ प्रदर्शनकारीमध्ये केहीले त्यहाँ क्यारम बोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैँचामा रमाइलो गरेको र भान्सामा खानको लागि खाना तयार गरेका दृश्यहरू सार्वजनिक भएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताएका छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?