अधिकांश साथीहरुले गठबन्धन गरेरै चुनावमा जाँदा राम्रो हुने धारणा राख्नुभएको छ : कांग्रेस प्रवक्ता महत

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिन सुझाव दिएको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताउनु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने धेरैजसो सदस्यहरुले स्थानीय तह निर्वाचनमा समग्रमा गठबन्धनले राम्रो गरेकोले अब संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले भन्नुभयो, 'अधिकांशले आउने निर्वाचनमा पनि निरन्तरता दिएर जाँदा राम्रो हुने धारणा राख्नुभएको छ । अहिलेका कमीकमजोरी र कहाँ–कहाँ समस्याहरु रहे भन्नेबाट सिकेर त्यसको आधारमा गठबन्धनका लागि मध्यनजर राख्नुपर्छ । स्थानीय तह निर्वाचनमा कुन दलको कति मत आयो त्यसलाई महत्वपूर्ण आधार मान्नुपर्ने कुराहरु साथीहरुले राख्नुभएको छ ।'

गठबन्धन गरेरै जानुपर्ने निष्कर्ष रहेको भन्दै उहाँले कसरी गर्ने भन्ने विषयमा छलफल पछि हुने बताउनु भयो। 'निर्वाचनमा अरुले गठबन्धन गर्दा के परिणाम आएको थियो सबैलाई थाहा छ,' उहाँले भन्नुभयो, 'विविध अनुभवका आधारमा गठबन्धनलाई निरन्तरता दिएर निर्वाचनमा जाँदा राम्रो हुन्छ भन्ने साथीहरुको निष्कर्ष छ । कसरी गर्ने, कसरी जाने भन्ने कुरामा पछि छलफल हुन्छ ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?