सर्लाहीमा सर्पदंशका बिरामी बढे

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश मैनाली

सर्लाही । सर्लाहीमा सर्पदंशका बिरामी हृवात्तै बढेका छन् । प्रादेशिक अस्पताल मलंगवा र सर्पदंश उपचार केन्द्र नवलपुरमा सर्पले डसेर उपचार गर्न आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको अस्पतालले जनाएको छ । मलंगवा र नवलपुर दुवै स्थानमा अहिले दैनिक आठ/नौजनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका छन् ।

प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झाले पानी पर्न सुरु भएपछि सर्पदंशका बिरामी बढ्न थालेको जानकारी दिनुभयो । पानी पर्न रोकिएर घाम लाग्न थालेपछि विषालु सर्प अत्यधिक देखापर्ने गरेका छन् । नवलपुर सर्पदंश उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले करेत, गोमनलगायत विषालु सर्पले टोकेर उपचार गर्न आउने बिरामी दिनहुँ बढिरहेको बताउनुभयो ।

पौडेलका अनुसार असार महिनामा मात्रै नवलपुर सर्पदंश उपचार केन्द्रमा एक सयको हाराहारीमा सर्पदंशका बिरामीको उपचार भइसकेको छ । केन्द्रमा लालबन्दीसहित हरिवन, बागमती, हरिपुर, ईश्वरपुरलगायत विभिन्न पालिकाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

सर्पले डस्नेबित्तिकै ल्याइएका बिरामीलाई एन्टीस्नेक भेनम चलाएर उपचार गर्दै आइरहेको भए पनि गम्भीर अवस्थामा ल्याइएका बिरामीको उपचारका लागि भने समस्या भइरहेको पौडेलले बताउनुभयो । नवलपुर सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर भए पनि चलाउन जान्ने जनशक्ति नहुँदा त्यसै थन्काएर राख्नुपरेको छ । त्यस्तै, मलंगवास्थित प्रादेशिक अस्पतालमा रहेको आइसियु र भेन्टिलेटर पनि प्रयोगविहीन अवस्थामा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?