किन गुरुलाई उच्च मानिन्छ ? यस्तो छ महत्व

Read Time = 9 mins
A A- A+

 काठमाडौं । गुरुको स्थान उच्च मानिन्छ । आफ्नो आफ्नो देश र परम्परा अनुसार सबैले गुरु जयन्ती मनाउने गर्दछन ।

ॐ असतो मा सद्गमय ।

तमसो मा ज्योतिर्गमय ।

मृत्योर्मा अमृतं गमय ।

ॐ शान्तिः शान्तिः शान्तिः ॥

अर्थात्

‘हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।’ यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् ।

उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यस्को महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।

हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्छौ । गुरुले आफ्ना शिष्यहरूसँग आत्मा र परमात्माको बीचमा सेतु भेएर काम गर्छन् । जसरी सूर्यको प्रकाश परावर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउँछ राम्रा गुरुको ज्ञान लिएका शिष्यहरूले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन।

नेपाली पात्रो अनुसार असार महिनाको पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मानिन्छ । गुरु व्यासको सम्झनामा गुरु पूर्णिमा मनाइने परम्परा शुरु भएको मानिंदै आएको विश्वास गरिन्छ । गुरु व्यासले चार वेद, अथर पुरण, महाभारत र श्रिमद भागवत गीता पनि लेखेका हुन । उनी गुरुहरूका गुरु दतरात्रयका पनि गुरुका रुपमा मनिन्छन।

गुरु पूर्णिमाको महत्व

गुरु पूर्णिमाको दिन समस्त हिन्दू भक्तजनहरूले गुरु व्यास प्रति आदर र सम्मन प्रकट गर्दै आराधना गर्दछन । हिन्दू संस्कृतिमा कुनै पनि तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि गुरु पूर्णिमाको दिनलाई अति उतम मानिन्छ । परापूर्व कालमा गुरु पूर्णिमाकै दिनलाई अति उतम मानेर ॠषि मुनिहरूले मन्त्र, तन्त्र साधना र व्यासको बम्हशास्त्रमा भएको ज्ञान प्राप्त गर्न कुनै एक ठाउँमा बसेर साधना सुरु गर्दथे । यसै दिनदेखि चतुर्माश सुरु हुन्छ । खेतमा रोपाइ सकिएको हुन्छ, मन्द मन्द बर्खाको आगमनको थालनी भएको हुन्छ । खेतमा नव जीवनको रुपमा टुसा पलाएका हुन्छन्, र  खेतलाहरूको पनि फुर्सदमा हसिला देखिन्छन ।

गुरु को हुन् ?

‘गु’ को अर्थ अन्धकार हो र ‘रु’ को अर्थ अन्धकारलाई चिर्ने उज्ज्यालो हो । त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन, ति महान व्यक्ति गुरु हुन् ।

ती मात्र गुरु हुन जसले हाम्रो मन भित्र भएको अन्धकार रूपी माया मोहलाई नाश गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउछन उनै साक्षात गुरु हुन । गुरु नै सर्बसक्तिमान प्रभु हुन । गुरु नहुदा कुनै कुराको ज्ञान को सम्भावना छैन  ।

परापूर्व कालमा गुरुकूलमा बसेर शिक्षा लिने चलन थियो । बर्षौसम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समयले अब कचुली फेर्यो तर गुरुको महत्व कहिले काम भएन । स्कुल होस्, कलेज वा विश्वबिद्यालय, वा अरु कुनै कला मन्दिर जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन्।  ती हाम्रा गुरु हुन जसले अज्ञानताको अध्यारोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवनलई सुन्दर बनाउने बाटो देखाउँछन  आजका सबै आबिस्कारहरू सबै हाम्रा महान गुरुका शिक्षा र ज्ञानका उपक्रमहरू हुन्। जसले गुरुको महत्व बुझेको  छ, उसले ज्ञानको महत्व बुझेको छ  ।

गुरु ती हुन जस्ले हाम्रो जीवनमा सत्य र ज्ञानको आमुल्य शिक्षा दिन्छन ।  गुरु पूर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरूलाई श्रद्धा र भक्तिसहित मिठाइ प्रसाद, लुगा कपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्दछौ । यस्ता उपहारहरू लाई गुरु दक्षिणा पनि भनिन्छ ।

गुरुको सबै भन्दा ठूलो दक्षिणा भनेको उनले देखाएको बाटोको अबलम्बन र पढाएको पाठको सहि पालना नै हो । आफ्नो शिष्यको सफलतामा खुशी खोज्ने महानताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ ।

भागवत गीतामा साँचो गुरुको चरित्र कस्तो हुनु पर्छ भन्ने कुरा लेखिएको छ । साचाँ  गुरु उनै हुन जसमा साँचो रूपमा ज्ञान प्रदान गर्न सक्ने क्षमता हुन्छ, ज्ञानी भएर पनि उनमा घमण्ड रत्ति भर हुँदैन । जसलाई भगवान सबै कारक हुन र हामी सबै उनका कारण मात्रै हुन भन्ने ज्ञान हुन्छ । जसलाई सहि ज्ञानको अर्थ थाह छ । जो त्यसैमा जीवन बिताउछ ।  जो रिष राग लोभ मोह भन्दा धेरै पर हुन्छ । उही सच्चा गुरु हुन्।

संसार जत्तिकै आधूनिक र ज्ञानहरू जत्तिकै सहज र ब्यवसायीक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरूमा पनि गुरुहरूलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरूलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरूलाई आजजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरुमार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।

गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,

गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः’

अर्थात्

गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,

गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?