श्रीलंकाका राष्ट्रपतिद्वारा राजीनामा, आज संसदमा सार्वजनिक गर्ने

Read Time = 5 mins

कोलम्बो । राष्ट्रपति गोटाबाया राजापाक्षले बुधबारदेखि लागू हुने गरी पदबाट राजीनमा दिनुभएको छ । उहाँँले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा आज (बुधबार) हुनेछ ।

राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका तथा ती अधिकारीले सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने डेली मिररले जनाएको छ । संसदबाट बुधबार उहाँँले गोटाबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नुहुनेछ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनुहुनेछ । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उहाँँले नै शासन सञ्चालन गर्नुहुनेछ । सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिनुभएको छ । राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको बताउनुभएको छ । यसअघि प्रधानमन्त्री विक्रमासिंघेले पनि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । शनिबार राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताइएको थियो ।

चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवं महामारीका कारण केही महिनायता श्रीलंकाले अकल्पनीय आर्थिक संकटको सामना गरिरहेको छ । आर्थिकरूपमा टाट पल्टिएको श्रीलंकामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ । बाहृय ऋणको भारीले थिलथिलो भएको टापुराष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक संकटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ ।

यसैबीच पूर्वअर्थमन्त्री एवं राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा भाइ बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उहाँँलाई संयुक्त अरब इमिरेट्सको दुबई जाने हवाई जहाज चढ्नबाट रोकिएको बताइएको छ । देशमा जारी चरम आर्थिक संकटका बेला बासिलले श्रीलंका छोड्ने प्रयास गरेकामा त्यसको हवाईजहाजका यात्रीले घोर विरोध गरेपछि अध्यागमन अधिकारीले उहाँँलाई विमान चढ्न नदिएका एजेन्सीले उल्लेख गरका छन् ।

यता सभामुख महिन्दा यापा अबेवर्देनाले राष्ट्रपति गोटाबाया र प्रधानमन्त्री रिनल विक्रमासिंघे स्वदेशमा नै रहेको बताउनुभएको छ । शनिबार राजीनामाको घोषणा गर्नुभएका राष्ट्रपति गोटाबाया भागेर तेस्रो मुलुक गएका बताइएको थियो ।

शनिबार राष्ट्रपति भवनमा प्रवेश गरेका हजारौं प्रदर्शनकारीमध्ये केहीले त्यहाँ क्यारम बोर्ड खेलेको, सोफामा सुतिरहेको, बगैँचामा रमाइलो गरेको र भान्सामा खानाको लागि खाना तयार गरेका दृश्यहरू सार्वजनिक भएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा नदिएसम्म उनीहरूले राष्ट्रपति भवनबाट बाहिर ननिस्कने बताएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?