कोषका सहभागीलाई १.५ प्रतिशत प्रतिफल

Read Time = 2 mins

काठमाडौं । नागरिक लगानी कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने व्याजदरमा वृद्धि गरिएको छ । २०७९ साउनदेखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक आठ प्रतिशतका दरले व्याज रकम प्रदान गरिने भएको हो ।

यसअघि कोषले सोही कार्यक्रमका तीन लाखभन्दा बढी सहभागीलाई २०७७ असारको नाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । त्यसैगरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बिमा कार्यक्रममा पनि १.५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असारमा मौज्दात रकमलाई आधार मानी प्रदान गरिने कोषले जनाएको छ ।

सो अवधिमा उल्लेखित कार्यक्रममा कायम रहेका सबै सहभागीको कोषमा रहेको खातामा कोषको साधारणसभापछि जम्मा गरिने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिनुभएको छ । सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ ।

प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैयाँ गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?