कांग्रेसको प्रस्तावित वरीयता क्रम : पहिलो नम्बरमा सभापति, १२१ औँ मा पार्टी सदस्य

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीभित्र मर्यादाक्रमको विषयलाई लिएर आपत्ति जनाएका छन् । सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारी केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका हुन् । मंगलबारको बैठकमा मर्यादाक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत भएपछि प्रदेश सभापतिहरूले आफूहरूको मर्यादाक्रम घटाइएको भन्दै असन्तुष्टि गरेका हुन् । उनीहरूले आफूलाई केन्द्रीय सदस्यभन्दा तल पारिएको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसले प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा राखिएको छ । जसमा उनीहरूलाई केन्द्रीय सदस्यभन्दा तल पारिएको छ । यही कारण सातवटै प्रदेशका सभापतिहरू लिखित रूपमा आफ्नो आपत्ति तयार पारेको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताउनुभयो । उहाँले आफूहरूको माग आफूहरूको मर्यादाक्रम केन्द्रीय सभापतिभन्दा मुनि र केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि आफूहरूले यो कुरा उठाइरहेको बताउनुभयो । ‘केन्द्रीय सदस्य उठ्नका लागि यसपटक मापदण्ड थिएन । तर, प्रदेश सभापतिका हकमा क्रियाशील सदस्य भएको १५ वर्ष राखिएको छ,’ उहाँले भन्नुभयो, ‘तर मर्यादाक्रममा हामीलाई अपमान गरिएको छ । जसमा ध्यान दिइनुपर्दछ भन्ने हाम्रो माग हो ।’

नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा मात्रै पर्ने देखिन्छ । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्व–प्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ । जसमा देउवाबाहेक अरू नेता कांग्रेसमा छैनन् । यसैगरी छैटौँमा केन्द्रीय पदाधिकारी, सातौँमा संसदीय दलका पूर्वनेता, आठौँमा पूर्वकेन्द्रीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ । यस्तै, वरीयताको अन्तिममा कांग्रेस सदस्य र त्यसभन्दा अघिल्लो वरीयतामा क्रियाशील सदस्य रहने प्रस्तावमा उल्लेख छ । कांग्रेसको वरीयतासम्बन्धी प्रस्तावमा १२१ तह निर्धारण गरिएको हो ।

वरीयताक्रमबारे विवाद उत्पन्न हुन थालेपछि सभापति देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिनुभएको थियो । उक्त जिम्मेवारी पूरा गर्दै मंगलबार पार्टी केन्द्रीय समिति बैठकमा सहमहामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको हो । पूर्व-उपप्रधानमन्त्रीको मर्यादाक्रम मुख्यमन्त्रीभन्दा पछि राखिएको छ भने भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षको मर्यादाक्रम कांग्रेसका महासमिति सदस्यपछि अर्थात् ४०औँ नम्बरमा तोकिएको छ ।

गठबन्धन गर्दा नै पार्टीले बढी सिट जित्छ : पौडेल
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच बुँदे धारणा राख्नुभएको छ । उहाँले चुनावमा गठबन्धन बनाएर जाँदा नै पार्टीले बढीभन्दा बढी सिट सुरक्षित गर्नसक्ने सहितका पाँच बुँदे धारणा राख्नुभएको हो । ‘आगामी चुनावमा गठबन्धन गरेर जानुपर्छ । चितवनमा गठबन्धन गर्दा नै राम्रो परिणाम आयो । स्थानीय तह निर्वाचनले यही सन्देश दिएको छ’, पौडेलको भनाइ छ ।

यस्तै, अर्थतन्त्र बिग्रिएको भन्दै पौडेलले यसका लागि विज्ञहरूसँग परामर्श गरेर सकारात्मक पहलकदमी लिन पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । यस्तै, पौडेलले तत्कालीन केपी ओली सरकारले आफूमातहत राखेका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत अहिले पनि प्रधानमन्त्रीमातहत नै रहेको भन्दै त्यसलाई तत्काल सच्याइनु पर्नेमा जोड दिनुभएको छ । जुन विषय त्यतिबेला कांग्रेसले उठायो अझै पनि नसच्याइएको पौडेलको भनाइ थियो । यस्तै, पार्टीका विभागलाई पूर्णता दिनुपर्नेमा पनि पौडेलले जोड दिनुभएको छ । यस्तै, भ्रातृ संस्थाका सन्दर्भमा प्लेन कमिटी बनाउने भन्ने बहसका बीच पौडेलले विधानले व्यवस्था गरेअनुसार पूर्ण कमिटी ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सोमबारदेखि सुरु भएको बैठकमा मंगलबारसम्म ४८ नेताले बोलेका छन् । बैठक बुधबार दिउँसो २ बजे पुनः बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

राजनीतिक नेतृत्वको सेवासुविधा कटौतीको प्रस्ताव
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले देशको अर्थतन्त्रलाई जोगाउन आर्थिक अवस्था नसुध्रिँदासम्म राजनीतिक नेतृत्वले लिँदै आएका सेवासुविधा कटौतीको प्रस्ताव गर्नुभएको छ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहमा कांग्रेसका सरकारहरू र जनप्रतिनिधिहरू भएका ठाउँमा बजेट बनाउँदा र खर्च गर्दा आर्थिक गतिविधि बढाउने आयोजनाहरूमा मात्र खर्च गर्न र फजुल खर्च नगर्न कांग्रेसका जनप्रतिनिधिहरूलाई केन्द्रबाटै निर्देशन दिनुपर्ने बताउनुभयो । यस्तै, संकटोन्मुख अर्थतन्त्रका बीच सरकारले महँगा हातहतियारदेखि हेलिकप्टर खरिद गर्ने भन्ने विषयमा आइरहेको समाचारहरूका विषयमा ध्यानाकर्षण गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?