प्रजापतिको सन्दर्भ र तिनको प्रभाव

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 17 mins

प्रजापति भनेको पिता, राजा भन्ने अर्थ हुन्छ । प्रजा भन्नाले सन्तान र जनताका अतिरिक्त लोकलोकान्तरका सारा जीव भन्ने पनि हुन्छ । पौरस्त्य वाङ्मयमा प्रजापतिका सम्बन्धमा विशेष किसिमको व्याख्या उपलब्ध छ । प्रजापति दुई प्रकारका मानिन्छन् । पहिलो हो अनिरुक्त प्रजापति, दोस्रो हो सर्व प्रजापति । यजुर्वेदमा अनिरुक्त प्रजापतिका सम्बन्धमा तलका मन्त्रमा भनिएको छ :
प्रजापतिश्चरति गर्भे अन्तरजायमानो बहुधा विजायते ।

तस्य योनिं परिपश्यन्ति धीरास्तस्मिन् ह तस्थुर्भुवनानि विश्वा (यजु, ३१, १९) ।।
यो मन्त्रका तीन प्रकारका अर्थ हुन्छन् । यसका तिनै प्रकारका अर्थलाई यहाँ क्रमशः म अनुच्छेद अनुच्छेदमा व्याख्या गर्दैछु । ‘प्रजापतिः’ सारा प्रजाका स्वामी (परमात्मा) ‘अजायमानः’ नित्य भएका कारणले उत्पन्न नहुने नजन्मने भएर पनि ‘गर्भे अन्तश्चरति’ जरायुज, अण्डज, स्वेदज, उद्भिज आदि चारै प्रकारका जीवका गर्भमा जीवरूपबाट प्रवेश गरेर विचरण गर्दछ र ‘बहुधा विजायते’ अनेकौं प्रकारले सन्तानोत्पादन गर्दछ या जीवरूपमा जन्म लिन्छ । परमात्मा निर्विकार, नित्य हुन्छ र त्यो कहिल्यै पनि जन्ममृत्युमा पर्दैन यी घनचक्करभन्दा माथि या पृथक छ तापनि स्वप्रेरित मायाबाट चाहिँ स्वयं नै कार्यकारणात्मक जगत् रूपमा देखापर्दछ ।

यस भनाइबाट त्यो (परमात्मा) नै गर्भमा प्रवेश गर्नेवाला, गर्भलाई नै पैदा गराउनेवाला या त नानारूपमा उत्पन्न हुनेवाला हो भन्ने सिद्ध गरिएको देखिन्छ । ‘धीराः’ विद्वान् विज्ञव्यक्तिहरू ‘तस्य’ त्यो परमात्मालाई ‘योनि’ स्थान र स्वरूपमा सर्वत्र देख्छन् । ‘विश्वा भुवनानि’ सबै (चौधै) लोक ‘तस्मिन् ह तस्थु’ त्यही परमात्माका आधारमा रहेका हुन्छन् भन्ने जान्दछन् । अर्थात् घडा माटाका आधारमा रहेको हुन्छ र पट चाहिँ तन्तु (धागा) का आधारमा रहेको हुन्छ जसरी त्यसैगरी कार्यकारणात्मक यो जगत् पनि त्यसैमा रहेको हुनाले ईश्वर तथा जगत्का बीचमा अभेद सम्बन्ध छ भन्ने सिद्ध हुन्छ । न्याय दर्शनको यो तर्कलाई वेदविद्हरू यसरी व्याख्या गर्दछन् :

प्रजाहरूका स्वामी परमात्मा नित्य हुने भएका हुनाले जन्ममृत्यु विवर्जित हुँदाहुँदै पनि जगत्को उपकार तथा भक्तमाथि अनन्त करुणा या दयाका कारणले ‘गर्भे अन्तश्रति’ गर्भमा प्रवेश गरेर ‘बहुधा विजायते’ मत्स्य, कूर्म बराहादिका साथै मानव आदि अनेकौं प्रकारका योनिहरूमा जन्मन्छ । या अनेक अवतार लिन्छ । ‘धीरा’ विद्वानहरू ‘तस्य योनिं’ त्यसको उत्पत्ति स्थान र समयका साथै के कारणले अवतार लिएको हो भन्ने रहस्यसमेत जान्दछन् । पुराणले यसै अर्थमा अवतारको कार्यकारणभाव शृंखला निर्माण गरेर सुन्दर आख्यान उपाख्यानबाट साधारण मान्छेले पनि बुझ्न सक्ने गरी बताएका छन् ।

‘परिपश्यन्ति’ सबै प्रकारले उत्पत्ति भएकामा त्यो ईश्वरलाई नै देख्दछन् । ईशावास्योपनिषत्ले यसकै आधारमा यो चराचर नै ईश्वरमय छ भनेको पनि देखिन्छ । ‘विश्वा भुवनानि तस्थु’ यसै ईश्वरका आधारमा यो अनन्तकोटि ब्रहृमाण्ड अडेको छ । यसको मत्लव लोकमर्यादाको स्थिरता नै परमात्माको अवतारको मूल कारण हो भन्ने देखिन्छ र यसलाई गीताले पनि ‘यदायदा हि धर्मस्य ग्लानिर्भवति भारतः अभ्युत्थामधर्मस्य तदात्मानं सृजाम्यहम्’ भनेर यसै शुक्ल यजुर्वेदको मन्त्रका आधारमा भनेको हो भनेर ठोकुवा गर्न सकिन्छ ।

यसले पुराणले गरेको अवतारवादको कल्पनालाई वेदविज्ञानाश्रित सिद्ध गरेको देखिन्छ । जसरी सारा खोला, खोल्सा नदी नाला समुद्रमा पुगेर परिश्रान्त बन्छन् त्यसैगरी पौरस्त्य शास्त्र, दर्शन ज्ञानविज्ञान सारा गीत कवितासम्म पनि वेदाधारमा नै अडेका र फैलेका पनि देखिन्छन् । ‘प्रजापतिः’ तेत्तीस प्रकारका देवतामा व्याप्त रहने प्रजापति (वेदमा) तेत्तीस प्रकारका देवता छन् । तिनैलाई पुराणादिले तेत्तीस करोड बनाएर वर्णन गरेका छन् । ‘गर्भे अन्तश्चरति’ सबै पदार्थका बीच या मध्यभाग (केन्द्र) मा घुम्दछ ।

त्यो स्वयं चाहिँ ‘अजायमानः’ नजन्मने भएर पनि शक्ति रूपबाट नित्य छँदाछँदै पनि ‘बहुधा विजायते’ अनेकौं प्रकारले वस्तु पदार्थादिलाई विस्तार गरी नै रहन्छ । ‘धीराः’ धैर्यवान् विद्वानहरू ‘तस्य योनिं’ त्यो प्रजापतिको स्थानका सम्बन्धमा ‘परिपश्यन्ति’ जनकारी राख्दछन् । ‘विश्वा भुवनानि’ समग्र भुवन (चौधै) हरूमा भएका पदार्थ ‘तस्मिन् ह तस्थु’ त्यही प्रजापतिका आधारमा रहेका हुन्छन् ।

यो मन्त्रको यस व्याख्याबाट केन्द्रशक्तिको विज्ञान प्रकट हुन्छ । आधुनिक वैज्ञानिकहरू पनि प्रत्येक पदार्थको केन्द्रमा एउटा शक्ति हुन्छ भन्ने मान्दछन् जसका आकर्षणमा नै सारा पदार्थ स्थिर रहेका हुन्छन् भन्छन् । हो, त्यो शक्तिको आधार वेदमा भनिएको यही आधिदैविक विज्ञानमा पनि प्रजापतिलाई देवता मानिएको हो भन्ने निष्कर्षमा पुग्न बल मिल्छ । यसलाई ‘अनिरुक्तो वै प्रजापतिः’ भनेर अनेकौं ठाउँमा श्रुतिले पनि दोहो¥याएको भेटिन्छ । यो केन्द्रशक्ति निरवयव मानिन्छ, यसको भाग छैन । त्यसो भएको हुनाले नै यसलाई अनिरुक्त भनिएको हो । त्यो प्रजापति केन्द्रमा रहन्छ र केन्द्रबाट नै विभिन्न प्रकारका किरण विविध प्रकारका पदार्थमा निकाल्दै वृक्ष, प्राणी आदि पनि त्यसैका आश्रयमा बढ्छन् ।

यसै भएको हुनाले नै प्रजापति देवता नै भिन्नभिन्न रूपबाट उत्पन्न हुनेगरेको देखिन्छ । यद्यपि गोला पदार्थको सही ज्ञान साधारणै दृष्टिमा पनि हुन्छ तर चेप्टा लामा आकारका पदार्थको केन्द्रको ज्ञान भने असाधारण वैज्ञानिक दृष्टिबाटै पत्ता लाउनुपर्ने अवस्था देखिन्छ । अतः श्रुतिले भन्यो प्रजापतिको स्थान विद्वान्ले नै जान्दछन् । प्रजापतिकै आधारबाट नै सबै लोक स्थिर रहेका पनि छन् । यदि कुनै अधिक गरौं पदार्थमा ठीक केन्द्रस्थान पत्ता लाउन सकिएला यदि यसो भयो भनेमात्रै एउटा औंलाले पनि त्यसलाई धारण गर्न सकिएला ।

भागवतमा यसै गणितको प्रयोग भएको छ । कृष्णले गोवर्धन पर्वत औंलाले उठाएको कुरो श्रीमद्भागवतले गरेको छ । जसरी भिन्न-भिन्न पदार्थमा प्रजापति छ त्यसैगरी समग्र ब्रहृमाण्डमा पनि त प्रजापति नै छ जसलाई हिरण्यगर्भ आदि सूत्रात्मक नामबाट शास्त्रमा वर्ण गरिएको भेटिन्छ । त्यही नै ब्रहृमाण्डको केन्द्रमा रहन्छ पनि । अब यजुर्वेदको अर्को मन्त्र हेरौं-
प्रजापते न त्वदेतान्यन्यो विश्वा जातानि परिता वभूव ।
यत्कामास्ते जुहुमस्तन्नो अस्तु वयं स्याम पतयो रयीणाम् ।।
अर्थात् ‘हे प्रजापति ¤ तिम्रा अतिरिक्त अरू कोही पनि छैन यी उत्पन्न हुनेवाला पदार्थलाई अभिव्याप्त पारेर यिनका चारैतिर घेरिएर रहन सकोस् । (तिमी नै आफूले उत्पन्न गराएका पदार्थमा चारैतिर अभिव्याप्त भएर तिनलाई मर्यादाबद्ध गर्दछौं) सर्व प्रजापति नै सबै प्रकारका यज्ञको भोक्ता पनि मानिएको छ । हामी जुन कामनाले यज्ञ गर्दछौं र त्यो यज्ञमा आहुति दिन्छौं हाम्रो कामना पूर्ण होओस् (गराऊ) । वास्तवमा यज्ञबाट नै तिनको पदार्थ र प्रजापतिको पनि स्वरूप संघठन हुन्छ र नै यज्ञको सफलताका निमित्त उसैलाई प्रार्थना गरिन्छ । हामी सबै प्रकारका सम्पत्तिका स्वामी बन्न पाऊँ ।

वस्तुतः सर्व प्रजापति नै सम्पतिरूप पदार्थको अधिष्ठाता मानिन्छ । पिण्डरूपको सर्वप्रजापतिलाई नै सम्पत्ति भन्न सकिन्छ । तत् तत्पदार्थमा विद्यमान् चैतन्यका रूपमा सम्पत्तिको अधिष्ठाता भएर रहेको हुन्छ । यस मन्त्रमा त्यही अभिमानी या (व्याप्त) चैतन्यतिर नै अभिलक्षित भएको देखिन्छ । यसो भएकै कारणले उसैसँग सम्पत्तिका निमित्त प्रार्थना गरिन्छ । यो शक्ति नै प्रत्येक पदार्थमा व्याप्त भएर रहेको हुन्छ । अथवा हाम्रो मन, प्राण र वाक्रूप यो प्रजापति नै सत्तारूपबाट सबै पदार्थमा अनुप्रविष्ट भएको हुन्छ र यही नै पदार्थको सत्ता पनि हो । वैदिक विज्ञानका अनुसार केन्द्रशक्ति र यी पदार्थहरूमा व्याप्त रहने शक्ति एउटै हो ।

केन्द्रशक्तिमा रहेको विश्वास नै त्यो व्यापक शक्ति भएको हुनाले दुवैलाई प्रजापति शब्दबाटै व्यवहार गरिएको देखिन्छ वेदमा । वेदमा प्रजापतिको वर्णन यत्रतत्र भेटिन्छ । जुनजुन पिण्डादिको जुनजुन देवता अधिष्ठित हुन्छन् ती पनि तिनै प्रजापति रूपबाट सम्बोधित रहेका पाइन्छन् । वास्तवमा प्रजापति ईश्वर पनि हो र जीव पनि हो भन्ने देखिन्छ । ईश्वरप्रजापति आधिदैविक छ भने अधिभूत चाहिं उसैका सन्तान या (प्रजा) हुन् भन्ने देखिन्छ । यसरी हेर्दा जीवप्रजाति आध्यात्मिक हुन्छ र शरीरादि चाहिँ त्यही अध्यात्म प्रजापतिको सन्तान हो भन्ने निष्कर्षमा पुगिन्छ । वास्तवमा दुवै आफ्ना प्रजाका स्वामी हुन् । एउटा समष्टि रूपको छ भने अर्को व्यष्टि रूपको ।

वास्तवमा ईश्वरकै अंश जीव हो । ईश्वर बिम्ब स्थानीय हुन्छ भने जीव चाहिँ त्यसकै प्रतिबिम्ब । जस्तो कि सूर्यको प्रतिबिम्बन ऐना या जलमा हुन्छ । त्यहाँ पनि आफ्नो केन्द्र बनाएर नै त्यसले चहक फैलाउने गर्दछ । यो हामी सबैले बुझेको, देखेको र वाम्बार अनुभव गरेको कुरो हो । यसरी हेर्दा जीव ईश्वरभन्दा पृथक होइन भन्ने नै सावित हुन्छ । ईश्वर नै साना उपाधिका घेरामा आएर परिछिन्न भएको हो ।

हामीले के कुरो बुझ्नुपर्छ भने दृष्टान्तका सबै धर्म द्राष्टान्तमा नपाइन या न मिल्न पनि सक्छन् । दृष्टान्त कुनै कुरो बुझाउनका लागि मात्रै उपयोग गरिएको हुन्छ । मूलवस्तुका विलक्षणतालाई शास्त्रकारले विभिन्न शास्त्रीय युक्तिबाटै परिपुष्ट पारिदिएका हुन्छन् ।

अंशाशिभावलाई नै लिने हो भने पनि यो संसारमा अंश या अवयवबाट नै अंशी या अवयवीको ज्ञान हुन्छ गराउन सकिन्छ । यो प्रक्रिया न्यायदर्शनसम्मत पनि मानिन्छ नै । सानासाना धागालाई मिलाएर थानका थान कपडा बनिन्छन् । एक एक वृक्ष मिलेर नै डरलाग्दो वनको रूप प्रकट भएको अनुभव सिद्धै छ ।

व्यक्ति व्यक्तिको समष्टि नै समाज हो । यसरी अंशबाट अंशीको निष्पत्ति सर्वत्र नै भएको देखिन्छ । जनजनको समूह या समष्टिलाई जन्ती या जनता भनिन्छ । मैले यहाँ दिएका उदाहरणमा पहिले अंश अनिमात्रै अंशीको कुरो गरेँ तर वेदले यो मान्दैन । पहिले अंशी अनिमात्र अंश या अवयव भन्छ । माथि प्रजापतिका सम्बन्धमा पनि पहिले अनिरुक्त प्रजापति अनि सर्वप्रजापतिको कुरो यजुर्वेदले गरेको छ । अंशीविना अंशको अस्तित्व नै हुँदैन । अंशी भनेर वेदले त्यो केन्द्रीय सत्ता (जसलाई) ईश्वर भनेर प्रतिपादन गरेको भेटिन्छ ।

विशाल आगाको भुंग्रामा जसरी अपरिमित दाहकशक्ति हुन्छ त्यसैगरी शक्ति भएको त्यो ईश्वर हो त्यसले आफ्ना प्रज्वलित ज्वालाबाट उछिट्याएका साना साना आगाका झिल्का जो कुनै झरिला हुन्छन् त कुनै उड्दाउड्दै झ्याप्प निभ्ने पनि हुन्छन् ती जीव या प्राणी समग्र भनेर पनि बुझ्न सकिन्छ । यस दृष्टान्तमा फेरि पनि ईश्वर र जीवमा जस्तो पूर्णता छैन किनभने झिल्का उछिट्टिँदा उछिट्टिँदै आगाका ह«ासमा घटोत्तरी पनि हुनसक्छ तर ईश्वर र जीवमा यो लागू हुँदैन भन्ने कुरालाई पुष्ट्याइँ प्रदान गर्दै श्रुति भन्छ :
पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।
पूर्णस्य पूणमादाय पूर्णमेवाऽवशिष्यते ।।
ईश्वरको स्वरूप पनि पूर्ण छ र त्यसबाट उत्पन्न जीव पनि आफ्ना स्वरूपमा पूर्ण नै छ । पूर्णबाट नै पूर्ण उत्पन्न भएको हुन्छ परन्तु पूर्णबाट पूर्ण निकालेपछि पनि पूर्ण नै शेष रहन्छ भन्ने यो आध्यात्मिक विषय यहाँ प्रतिपादित गरेको भेटिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?