जन्मदिन संस्कृति कि विकृति ?

Read Time = 9 mins

✍️ स्वामी ध्यानराज

‘जन्मदिन’ अर्थात् व्यक्ति यस पृथ्वीमा पाइला टेकेको दिनको रूपमा बुझ्ने गरिन्छ । जब आमाको गर्भमा झण्डै एक वर्ष हुर्किएपछि पृथ्वीमा व्यक्तिको पदार्पण हुन्छ । व्यक्तिको जन्म हुन्छ, कि हुँदैन ? भन्ने मान्यता एउटा होला तर जन्मदिन पृथ्वीमा आएको दिनलाई मान्ने कि गर्भ रहेको दिनलाई मान्ने ? यो अर्को बहसको विषय बन्न सक्छ । किनकि आमाको गर्भमा नै हाम्रो शरीर र चेतनाको विकास भइसकेको हुन्छ । यसैलाई बोध गरेर होला जापानमा बच्चा जन्मेपछि उसलाई एक वर्षको मानिन्छ । यो जन्मको बहस आफ्नो ठाउँमा छ यहाँ कुरा गर्न खोजिएको हो–‘जन्मदिन उत्सव !’ अथवा हाम्रो चलन चल्तीको भाषामा ‘हृयाप्पी बर्थ डे !’

पूर्वीय दर्शनमा मानिसमात्र भौतिक शरीर होइन । मानिस भौतिक स्वरूपभन्दा माथि नित्य, चैतन्य छ । मानिस आत्मारूपी भौतिक पदार्थ हो । हाम्रो शरीर एकदिन मरेर जान्छ, त्यसैले शरीरको जन्म हुन्छ, तर यो शरीरलाई चलाउने तत्व आत्मा अमर छ । न कहिल्यै जन्मिन्छ, न मर्छ । जसले आत्मालाई बोध गर्‍यो उसलाई मृत्युको भय हुँदैन । भागवत गीता भन्छ :

नैनं छिन्दन्ति शस्त्राणी नैनं दहति पावक :
न चैनं ल्केदयन्त्यापो न शृषयति मारुत : (दोस्रो अध्याय २३औं श्लोक)

अर्थात् आत्माको अवयव हुँदैन, त्यसैले आत्मालाई अस्त्रशस्त्रले काट्न सकिँदैन, आगोले पनि जलाउन सक्दैन, पानीले भिजाउन सक्दैन, हावाले सुकाउन सक्दैन । किन व्यर्थ चिन्ता गर्छौं ? कोसँग ब्यर्थ डराउँछौ ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ न त मर्छ नै ? श्रीमद्भगवद गीतामा श्रीकृष्णले अर्जुनलाई यही सम्झाएका छन् । यसरी आत्मालाई अमर मानिएको छ । त्यही भागवत् गीता पुज्ने जनहरूले कसरी जन्मदिन मनाउने ?

अर्को रोचक कुरा के छ भने, केकमा मैनबत्ती राखेर जलाइन्छ, अनि फुकेर निभाइन्छ । अग्निलाई पूर्वीय मान्यतामा भगवान् स्वरूप मानिन्छ । अझै पनि बत्ती, दियोलाई फुकेर निभाउनु हुँदैन भन्ने पूर्वीय मान्यता छ । अग्निले अग्रपथको संकेत गर्छ, अगाडि बढ्ने प्रेरणा दिन्छ । उज्यालो भविष्यको प्रतीक हो अग्नि । उपनिषद्मा पनि भनिएको छ- ‘तमसोमा जोर्तिगमय’ अर्थात् मलाई अन्धकारबाट उज्यालोतर्फ लैजाऊ । यो अन्धकार, अशिक्षा, अज्ञानतारूपी संसारबाट उज्यालो, स्वच्छ, ज्ञानरूपी भविष्यतर्फ लैजाऊ । अनि कसरी अग्निलाई निभाएर शुभ कार्य हुन्छ ?

जन्मदिनको अवसरमा केक काट्ने बेला चुच्चे टोपी लगाउने चलन पनि अचम्मको छ । क्रिश्चियनहरूले जिसस क्राइष्टको जन्मदिनको अवसरमा लगाउने टोपी कट्टर हिन्दु हुँ, सनातनी हुँ भन्नेहरूले समेत लगाएर जन्मदिन मनाइरहेका हुन्छन् । हुनतः पोशाकसँग धर्मलाई जोड्न त अतिवादी सोच होला तर लगाउनुको उद्देश्य के हो ? नबुझीकन पोशाक लगाउनु फगत अन्धविश्वास नै हो । जन्मदिनको नाममा राति १२ बजे उठेर शुभकामना दिने तथा केक काट्नेसम्मको कार्य गरिन्छ ।

हामी सबै विदेशी दास छौं । गोरो छाला भएकाले जे गरे त्यो हाम्रा लागि वैज्ञानिक हुन्छ त्यो अनुशरण गर्नैपर्छ । युरोपबाटै भित्रिएको केक काट्ने चलन यहाँ पनि संस्कृति बनिसकेको छ । युरोपका अधिकांश देशहरूमा ६ देखि ८ महिनासम्म घाम लाग्दैन, कति देशहरूमा सूर्य अस्ताउँदैन पनि । त्यसैले उनीहरूका लागि के बिहान, के साँझ, के रातिको १२ बजे, के बिहानको ६ बजे, प्रायः दिउँसोभर काम सकेर रातिमात्र पारिवारिक भेटघाट खुशीयाली मनाउने चलन हुन्छ । तर, हाम्रो देशमा त शुभ कार्यहरू बिहानमा गर्ने गरिन्छ, जन्मदिनलाई शुभ दिन मान्ने हो भने, बिहान शुभकामना लिने, दिने गर्नु उत्तम होला नि !

जन्मदिनको दिन रातिसम्म क्याफे, रेष्टुराँहरूमा सेलिब्रेसन गर्ने, सेलिब्रेसनको नाममा अत्याधिक तामसिक भोजन, माछा, मासु, रक्सी, हुक्का पिउने चलन बढ्दो छ । साथीभाइहरू माझ कसले बढी खर्च गरेर जन्मदिन मनाउने भन्ने होडबाजी नै चल्छ । आम्दानी नभएकाले ऋण खोजेरै भए पनि भड्किलो जन्मदिन मनाउने चलन छ । हाम्रो देशमा औसत एक घरमा ६ जनाको परिवार छ । अब सबैले जन्मदिन मनाउने हो भने एक वर्षमा ६ वटा जन्म दिन मनाउनुपर्ने हुन्छ ।
एकजनाको जन्मदिनमा औषत १५ हजार खर्च भए पनि वर्षमा ९० हजार खर्च हुन्छ, भनौं, औषत एक वर्षमा एक लाख । नेपालीको औषत आयु ७० वर्ष छ । यसरी एउटा परिवारले ७० लाख रुपैयाँ त जन्मदिनमा खर्च गर्छ । हुनतः परिवारसँग बसेर रमाइलो गर्ने, भोज भतेर गर्नु धेरै राम्रो कुरा हो तर बाहिर परिवारविना जन्मदिन मनाउने चलनकै कारण कैयौं युवायुवतीलाई लागूऔषध दृव्र्यसनमा समेत धकेलेको छ ।

विद्यालयका साना नानीबाबुहरूको पाठ्यक्रममै ‘हृयाप्पी बर्थ डे !’ भनेर कोर्ष नै राखिनु दुखद् हो । अचेल अधिकांश विद्यालयमा शिक्षक, विद्यार्थीहरूको जन्मदिन मनाउने गरिन्छ । जन्मदिनलाई यति महत्व दिनुभन्दा पनि भागवात् गीताका श्लोकहरू सिकाएर आध्यात्मिक चेतना विस्तार गर्न सकिन्छ । हुनत : जन्मदिनको रूपमा विकृति सँससँगै केही रचानात्मक कार्यहरू पनि सुरु भएका छन् । जन्मदिनको अवसरमा रूख रोप्ने, वृद्धाश्रम, बालाश्रममा गएर खाद्यान्न, लत्ताकपडा बाँड्ने, विद्यालयमा अक्षयकोष स्थापना गर्ने आदि । यसलाई केही हदसम्म सकारात्मक कार्यका रूपमा लिन सकिन्छ ।

मानिस जे कुरामा पनि बहाना खोजिरहेको हुन्छ । एक्लै कार्य गर्न डराउँछ । जन्मदिनको उपलक्ष्यमा भए पनि दान, सेवा गर्ने भावना जागृत हुनु राम्रो पक्ष हो । त्यसैले जन्मदिनलाई साँच्चिकै उत्सवको रूपमा मनाउने हो भने हाम्रो पूर्वीय दर्शनअनुसार तिथिको आधारमा जन्मदिन मनाउने र पारिवारिक जमघट गरी मितव्ययी तरिकाले उत्सव मनाउँन सकिन्छ । यदि व्यक्ति सम्पन्न परिवारको छ भने समाज सेवा गरेर जसलाई हातमुख जोर्न समस्या छ उनीहरूलाई सहयोग गरेर मनायो भने पक्कै पनि मानव भएर यस धरतीमा जन्म लिएको सार्थक हुन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?