५७ वर्षकाे राजनीतिक जीवनमा आफूले कहिल्यै मानव अधिकार उल्लंघन नगरेको ओलीको दावी

Read Time = 5 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत समेत गराउनु भयो ।

बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औं स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र हामीलाई मानव अधिकार उलंघनकर्ता ठान्ने भूल नगर्न पनि चुनौति दिनुभयो । गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हाल्दा समेत आफ्नो राजनीतिक जीवनका ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उलंघन नगरेको ओलीको दावी थियो ।

उहाँले आफूले मानव अधिकारको उलंघन अहिलेसम्म नगरेको र अव पनि नगर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तीको कार्यकाल, जागिरको रुपमा नलिई आर्दश, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘मैले गृहमन्त्रीको हैसियतमा गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय पनि सम्हालेको छु । र, मैले परराष्ट्र त आफ्नो ठाउँमा छ । प्रधानमन्त्रीको हिसावले पनि सम्हालेको छु । जस भित्र अरु मन्त्रालयहरु रक्षादेखि लिएर सबै मन्त्रालय पनि पर्छन, गृह पनि पर्छ । म दावी साथ के भन्न सक्छु भने–यी ५७ वर्षदेखिको मेरो लडाईँ मूलतः मानव अधिकारका लागि हो । मेरो लडाई भनेको मानव अधिकारका लागि । र, म अर्को के भन्छु भने–मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उल्लंघन गरेको छैन । मैले मानव अधिकारको उल्लंघन गरेको छैन । र, मानव अधिकारको उल्लंघन गर्दिन । त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाँही मानव अधिकारको उल्लंघनकर्ता ठान्ने भूल गर्छ भने त्यो भूल हो । हामीे मानव अधिकारका लागि मैले मानव अधिकार दिवसको अवसरमा पनि बोल्दा भनेको थिँए–मानव अधिकार मेरो जागिर होईन । मानव अधिकार मेरो एक कार्यकालको नियुक्ती होइन । मानव अधिकार मेरो आर्दश हो । मेरो निष्ठा हो । मेरो उद्देश्य हो । मेरो गन्तव्य हो । मेरो यात्रा हो । र, मेरो पुग्ने गन्तव्य हो । त्यसकारण मानव अधिकार आयोगका माननीय सदस्य सबै आउनु परेन तर कोही त आउनु पथ्र्यो । मानव अधिकारको क्षेत्रमा यो एलाईन्स क्रियाशील छ भने यसलाई उहाँहरुले आफूभन्दा पृथक होइन, सहयोगी ठान्नुपर्दथ्यो । अव उहाँहरु किन आउनु भएन । यसो मेरो अनुमान है । म एकिन पनि भन्न सक्दिन । यो चाँही मानव अधिकार विशुद्ध मानव अधिकार होइनकि भन्ने ठान्नु भयो कि ? विशुद्ध मानव अधिकार भनेको हुँदै हुँदैन । मानव अधिकार भनेको मानव अधिकार हो, त्यो अशुद्ध पनि हुँदैहुँदैन । त्यसकारण मानव अधिकारलाई विशुद्ध र अशुद्ध, आंशिक र पूर्ण ठान्ने धारणा भ्रान्ति हो, त्यो सही धारणा होइन । यदि उहाँहरुले त्यसो ठानेर नआउनू भएको हो भने त्यो नठान्दा हुन्छ भन्ठान्छु मैले ।’

ओलीले राजनीति विकृत भए मानव अधिकारको उलंघनको घटना बढेर जाने तथ्य पनि पटकपटक स्मरण गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?