ओलीबाट प्रभावित छौँ, एमालेसँग चुनावी सहकार्य हुनसक्छ : कमल थापा

Read Time = 2 mins

गोरखा । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आगामी आम निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना रहेको बताउनु भएको छ। गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमा गोरखा आइपुग्नुभएको थापाले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।

‘अहिलेसम्मको हाम्रो कुराकानी व्यवहारलाई दृष्टिगत गर्दा नेकपा एमालेसँगको सहकार्यको सम्भावना बढी छ । यसबारेमा प्रारम्भिक कुरा पनि भइसकेको छैन। तर, हाम्रो अनुभवको आधारमा एमालेसँग सहकार्य गर्न सक्ने सम्भावना अलि बढी देख्छौँ ।’ उहाँले भन्नुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा विगतमा राजनीतिक स्थिरता र सम्बृद्धिको निमित्त भएका कामबाट आफूहरू प्रभावित भएकाले सहकार्यमा सम्भावना देखेको उहाँले तर्क गर्नुभयो ।

‘ओलीकै नेतृत्वमा लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा निकाले त्यसबाट, पृथकतावादी सोच लिएर हिँडेका सिके राउत र विप्लव माओवादीलाई समेत राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सफल भएको कारणले गर्दा खेरी हामी तुलनात्मक रुपमा नेकपा एमालेसँग नजिक भएको महशुस गर्छौँ’, उहाँले बताउनु भयो ।

राप्रपा नेपाललाई आगामी निर्वाचनबाट राष्ट्रिय पार्टीको रुपमा स्थापना गराउने अभियानमा आफुहरू लागेको उहाँले बताउनु भयो । ‘हामीले सबै प्रदेशमा, स्थानीय तहमा र वडास्तरमा भदौभित्र संगठन बिस्तार गरिसक्छौँ । त्यसपछि आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रुपमा स्थापना गराउँछौँ’, उहाँले भन्नुभयो ।
अश्विन दानी/न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?