एथलेटिक्समा निशा पहिलो

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता राजधानीमा सुरु भएको छ । जसअन्तर्गत एथलेटिक्सको छात्रा एक सय मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरी पहिलो हुनुभयो । निशाले १२.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्नुभयो । लुम्बिनीकै रेशु थारु दोस्रो तथा बागमती प्रदेशकी कृतिका रञ्जितकार तेस्रो हुनुभयो ।

छात्रा एक हजार पाँच सय मिटर दौड ५ मिनेट २१.० सेकेन्डमा पूरा गर्नुभएकी गण्डकी प्रदेशकी जानकी खराल पहिलो हुनुभयो । कर्णाली प्रदेशकी हिमाली शाही दोस्रो तथा कर्णालीकै मोतीकला डाँगी तेस्रो बन्नुभयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा हाइजम्पमा लुम्बिनीकी प्रमिला चौधरी शीर्षस्थानमा रहनुभयो । प्रमिलाले १.३० मिटर जम्प गर्नुभयो । गण्डकीकी सीमा श्रेष्ठ र कर्णालीकी मापसना रसाइली संयुक्तरूपमा दोस्रो हुनुभयो । दुवैले १.२५ मिटर हाम फाल्नुभयो ।

यस्तै कराँतेको एकल कातातर्फ पुरुषमा बागमतीका रेहान जोवद तथा महिलामा बागमतीकै सञ्जु देशार पहिलो हुनुभएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराँते हलमा भएको प्रतियोगिताको पुरुषमा लुम्बिनीका प्रजित बैजाली मगरले रजत तथा गण्डकीका प्रिन्स गुरुङ र कर्णालीका लक्ष्मणकुमार शाहीले कास्य जित्नुभयो । महिलामा बागमतीकी प्रजिस्मा श्रेष्ठ दोस्रो तथा कर्णालीका प्रियंका शाही र ममता नेपाली तेस्रो बन्नुभयो ।

भलिबलको छात्रमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को लिगमा सुदूरपश्चिमले कर्णालीलाई ३०-३२, २५-१४ र २५-१२ को सेटमा पराजित गर्‍यो । कर्णाली पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । समूह ‘ए’ मा लुम्बिनीले मिश्रित प्रदर्शन ग¥यो । गण्डकीले लुम्बिनीलाई १८-२५, २५-१७ र ३०-२८ ले हरायो । बागमतीविरुद्धको खेलमा भने लुम्बिनी २५-१८, २३-२५ र २५-१५ ले विजयी भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्राको प्रतिस्पर्धामा गण्डकीले कर्णालीलाई २५-११ र २५-१६ को सोझो सेटमा पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गर्‍यो । जितसँगै गण्डकी समूह ‘बी’ को विजेता भयो । कर्णाली पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्यो । समूह ‘ए’ मा दोहोरो जित निकाल्दै लुम्बिनीले सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । लुम्बिनीले सुदूरपश्चिमलाई २५-२१ र २५-१२ तथा बागमतीलाई २५-२१ र २५-२३ को सिधा सेटमा पन्छायो ।

कबड्डीको छात्रमा लुम्बिनीले गण्डकीलाई ६९-३६ र कर्णालीलाई ६८-३४ तथा सुदूरपश्चिमले बागमतीलाई ६८-३४ ले पराजित गरे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको छात्रामा बागमतीले कर्णालीलाई ३१-२६, सुदूरपश्चिमले गण्डकीलाई ६६-३९ र लुम्बिनीले बागमतीलाई ३६-२४ ले हराए ।

राउन्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगिताको छात्र/छात्रा दुवैमा पाँच/पाँच टिम सहभागी छन् । लिगमा हासिल गरेको अंकका आधारमा विजेताको टुंगो लगाइनेछ ।

प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताउनुभयो । उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्चपास गरेका थिए । कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गर्नुभएको थियो । अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स संघले व्यवस्थापन गरेको ‘बी बोइङ’ मनमोहक थियो ।

ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा ओलम्पिक टर्च परिक्रमा गराउनुभएको थियो । राष्ट्रपति रनिङ सिल्ड खेलकुदको कुनै पनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको यो पहिलो हो । निर्णायकका तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीका तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ ग्रहण गर्नुभएको थियो ।

विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेशबाहेक पाँच प्रदेशको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते र उसुमा पाँच सय खेलाडी सहभागी छन् । एथलेटिक्समा २६, कराँतेमा आठ, तेक्वान्दो र उसुमा ६-६, भलिबल र कबड्डीमा दुई/दुई गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशि नौ लाख ४५ हजार रुपैयाँ रहेको छ । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेस्रोपटक हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?