संकटकाल घोषणाबीच श्रीलंकामा प्रदर्शनकारीद्वारा प्रधानमन्त्री कार्यालयमा कब्जा

हिमालय टाइम्स
Read Time = 11 mins

कोलम्बो । श्रीलंकामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयमा कब्जा जमाएका छन् । बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए । उनीहरूलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए । झडपमा दुवैतिरका केही मानिस घाइते भएका थिए । यसअघि गत शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जामा लिएका थिए ।

राजापाक्षे र विक्रमासिंघे दुवैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो । आफूलाई पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको छ ।

श्रीलंकामा देशव्यापीरूपमा आपतकाल घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गर्नुभएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टापछि सम्भावित हिंसाबीच संकटकाल घोषणा गरिएको थियो ।

बहालवाला राष्ट्रपति गोटाबाया राजपक्ष माल्दिभ्सतर्फ भागेपछि संसद्का सभामुखले विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपति बनाइएको घोषणा गर्नुभएको थियो । तर, श्रीलंकामा हजारौं प्रदर्शनकारीले गोटाबायासँगै रनिलले पनि राजीनामा दिनुपर्ने माग गरेका छन् । श्रीलंकाको हालत यति खराब छ कि प्रदर्शनकारी सरकारी समाचार च्यानलमा समेत प्रवेश गरेका छन् । यतिमात्रै होइन, त्यहाँ एक प्रदर्शनकारी न्यूज एंकर बनेर बसेर बोल्न थाले । हाल यस सरकारी समाचार च्यानलको प्रसारण बन्द गरिएको छ ।

यता माल्दिभ्समा रहेका श्रीलंकाली आप्रवासीले माल्दिभ्सको राष्ट्रपतिको घरनजिकै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले माल्दिभ्सका अधिकारीलाई अपदस्थ राष्ट्रपतिलाई श्रीलंकामा फिर्ता पठाउन आग्रह गरेका छन् ।

राजापाक्षे बुधबार बिहान ३.०७ मा माल्दिभ्सको भेलेना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको र माल्दिभ्सको राजधानी त्यतिबेला कडा सुरक्षामा रहेको थियो । गत शुक्रबारदेखि बेपत्ता हुनुभएका राष्ट्रपति राजापाक्षे अन्ततः माल्दिभ्स पुगेको समाचार सार्वजनिक भएपछि त्यहाँ पनि प्रदर्शन गरिएको छ ।

सन् १९४८ मा स्वतन्त्र भएको श्रीलंका अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । खाद्यान्न र औषधि जस्ता आधारभूत आवश्यकताको समेत अभाव भएको छ । पेट्रोल र डिजेल सकिन लागेको छ । यो आर्थिक संकटका लागि राजापाक्षे परिवार जिम्मेवार मानिन्छ ।

यस्ता छन् आफ्नो देश छोडेर विदेश भाग्ने विश्वका पाँच नेता
पछिल्लो समय आफ्नो देश छोडेर श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे विदेश पलाएन भएका छन् । उनी श्रीलंका छोडेर माल्दिभ्स पुगेका छन् । उनले राजीनामा नदिई देश छाडेका हुन् । राजापाक्षे पहिलो राष्ट्र प्रमुख होइनन् जो समस्या पर्दा देश छोडेर भाग्ने । यसअघि पनि परिस्थिति परिवर्तन हुनासाथ कैयौं नेताले रातारात देश छाडेका विश्व इतिहासमा घटनाक्रम रहेका छन् । यसरी देश छोडेर भाग्ने पाँच राष्ट्रपतिमा अफगानिस्तानका अशरफ गनी, युक्रेनका भिक्टर यानुकोविच, पाकिस्तानका नवाज शरिफ, पाकिस्तानकै परवेज मुशर्रफ र इरानका रजा शाह पहलवीको नाम आउँछ । आउनुहोस् यहाँ चर्चा गरौं देश छोडेर विदेश भागेका यी पाँच नेताका बारेमा ।

१ अफगानिस्तान : अशरफ गनी
ग्त वर्ष अफगानिस्तानका राष्ट्रपति असरफ गनीले देश छोडका थिए । अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि अफगानिस्तामा तालिवानले विस्तारै त्यहाँ कब्जा गर्न थाले । १५ अगस्ट २०२१ मा तालिवानले अफगान राष्ट्रपति भवन कब्जा गर्‍यो । यससँगै त्यहाँ तालिवानको शासन सुरु भएको थियो । राष्ट्रपति गनीले तालिवान राष्ट्रपति भवनमा प्रवेश गर्नुअघि नै देश छाडेका थिए । उनी भागेर संयुक्त अरब इमिरेट्स पुगेका थिए । त्यसको भोलिपल्ट अशरफ गनीले युएईबाट अफगानिस्तानका जनतालाई सम्बोधन गर्दै आफूले देश नछाडेको भए धेरै रगत बग्ने बताएका थिए ।

२. युक्रेन : भिक्टर यानुकोविच
सन् २०१० फेब्रवरीमा युक्रेनमा राष्ट्रपतिको चुनाव भयो । यस निर्वाचनमा भिक्टर यानुकोविच विजयी भए । यानुकोविचले रूस र युरोपेली युनियनसँगको सम्बन्ध सुधार गर्ने वाचा गरेका थिए । नोभेम्बर २०१३ मा, युरोपेली संघले युक्रेनसँग सम्झौता गर्ने तय थियो, तर यानुकोविच त्यसबाट फिर्ता भए । त्यसपछि युक्रेनमा विद्रोह भयो । यसअवधिमा यानुकोविचमाथि भ्रष्टाचारको आरोप पनि लागेको थियो । २२ फेब्रुवरी २०१४ मा युक्रेनी संसदले यानुकोविचलाई पदबाट हटाउने प्रस्तावमा मतदान गर्‍यो । जसमा ४४७ सदस्यमध्ये ३२८ जनाले उनलाई हटाउने पक्षमा मतदान गरेका थिए । तर, त्योअघि नै यानुकोविच देश छोडेर रसिया भागेका थिए ।

३. पाकिस्तान : नवाज शरिफ
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई दुईपटक देश छाड्नुपरेको थियो । सन् १९९९ को कारगिल युद्धपछि उनले पहिलो पटक देश छाड्नुपरेको थियो । कारगिल युद्धपछि नवाज शरिफ तत्कालीन सेना प्रमुख परवेज मुशर्रफलाई हटाउन चाहन्थे । यो कुरा मुसर्रफलाई थाहा थियो । उनका वफादारहरूले नवाज शरिफलाई घरमै नजरबन्द गरेर जेलमा हालेका थिए । पछि नवाज शरिफलाई १० वर्षका लागि साउदी अरब पठाइएको थियो । सन् २००७ मा शरिफ सर्वोच्च अदालतको आदेशमा आफ्नो परिवारसँग पाकिस्तान फर्के । शरिफ सन् २०१३ मा तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । पनामा पेपर्स लिकमा उनको नाम बाहिरिएपछि विवाद बढेको छ ।
सर्वोच्च अदालतले शरिफलाई आजीवन कुनै पनि सरकारी पदमा बस्न प्रतिबन्ध लगाएको छ । जुलाई २०१८ मा, उनलाई आयभन्दा बढी सम्पत्ति मुद्दामा दोषी पाइयो र १० वर्षको जेल सजाय सुनाइयो । तर, शरिफ त्यसपछि साउदी अरब गए ।

४. पाकिस्तान : परवेज मुशर्रफ
सन् २०१३ को चुनावमा नवाज शरिफको पार्टी पीएमएल-एन विजयी भएपछि सत्तामा आएको थियो । नवाज शरिफ प्रधानमन्त्री बने । शरिफ सरकारले मुसर्रफविरुद्ध देशद्रोहको मुद्दा दायर गरेको थियो । ३१ मार्च २०१४ मा मुशर्रफलाई आरोपी बनाइएको थियो । यसैबीच, १८ मार्च, २०१६ मा मुसर्रफ उपचारका लागि दुबई गए । त्यसयता उनी फर्केका छैनन् । मुसर्रफ अहिले पनि दुबईमा छन् र उनको स्वास्थ्य निकै खराब छ । हालै मुशर्रफको अवस्था निकै नाजुक रहेको खबर आएको थियो ।

५. इरान : रजा शाह पहलवी
इरानमा पहलवी वंशको शासन थियो । इरानको नयाँ संविधान सन् १९४९ मा लागू भयो । त्यसबेला देशका राजा रजा शाह पहलवी थिए । १९५२ मा मोहम्मद मोसादिक प्रधानमन्त्री भए तर १९५३ मा उनलाई अपदस्थ गरियो र त्यसपछि शाह पहलवी देशको सार्वभौम भए । जनताले यो विद्रोह मन पराएनन् । जनताको नजरमा रजा पहलवी अमेरिकाको कठपुतली बनेका थिए । त्यसबेला शाह पहलवीका विपक्षी नेता आयतोल्लाह रुहोल्लाह खोमेनी थिए । सन् १९६४ मा शाह पहलवीले खोमेनीलाई निष्कासन गरे । सेप्टेम्बर १९७८ मा शाह पहलवीविरुद्ध इरानमा विरोध प्रदर्शन सुरु भयो । लाखौं जनता सडकमा उत्रिए । यसलाई इस्लामिक क्रान्ति पनि भनिन्छ । १६ जनवरी १९७९ मा शाह पहलवी आफ्नो परिवारसँग इरान छोडेर अमेरिका गए । फेब्रुवरी १९७९ मा खोमेनी फ्रान्सबाट इरान फर्के । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?