हिमालयनमा सिभिल गाभिने

Read Time = 2 mins

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने भएको छ । बुधबार दुई बैंकबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको हो । हिमालयनले सिभिललाई ८१ प्रतिशत स्वापमा प्राप्ति गर्ने सम्झौतामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार सिभिल बैंकको सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८१ कित्ता सेयर कायम हुनेछ ।

सम्झौताअनुसार मर्जरपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ भने सञ्चालक समितिमा सिभिल बैंकको हालको सञ्चालक समितिको प्रतिनिधित्व हुने छैन । बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा र वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल रहने बताइएको छ ।

हाल हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ र सिभिल बैंकको नौ अर्ब सात करोड ५८ लाख ४३ हजार आठ सय ९० रुपैयाँ छ । दुई बैंक मर्जरपछि चुक्ता पुँजी २० अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?