नागरिकता विधेयक पारित गर्न एनआरएनएको दबाब

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रधानमन्त्रीका साथै प्रमुख प्रतिपक्षी दललगायत विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गरी आफ्ना माग पूरा गर्न दबाब दिएको छ । सोहीक्रममा पछिल्लो समय एनआरएनएको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरी सरकारले प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे छलफल गरेको छ । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलगायतका पदाधिकारीले विधेयक ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष ओली तथा एमालेलाई धन्यवाद दिनुभयो । साथै विधेयक अन्तिम चरणमा आइसकेकाले एनआरएनएको भावनाअनुरूप पारित गराउन पहल गरिदिन पनि प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको पवित्र भावनालाई संविधानमा संस्थागत गरेको अवगत गराउँदै विदेशमा बसेका सबै नेपालीले देशको समृद्धिमा सहयोग गरिरहेकाले संविधानमा गैरआवासीय नेपाली नागरिकताका लागि गरिएको व्यवस्थाअनुसार नै विधेयक आउने र संसदीय प्रक्रियाबाट पारित गरिने जानकारी गराउनुभयो ।

त्यसैगरी प्रतिनिधिमण्डलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि भेटेर सोही आग्रह गरेको छ ।

अध्यक्ष नेपालले संविधानमा गैरआवासीय नेपाली नागरिकताका लागि जुन व्यवस्था गरिएको छ, त्यहीअनुरूप विधेयक आउने र प्रतिनिधिसभामा पेश हुने नागरिकता विधेयकमा केही कुरा छुटेको भए संशोधनसहित पास गरिने बताउनुभयो ।

त्यस्तै प्रतिनिधिमण्डलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), परराष्ट्रमन्त्री डा. नारायण खड्का, मुख्यसचिव शंकर दास वैरागीसँग पनि भेट गरी नागरिकता विधेयकका बारेमा ध्यानाकर्षण गराएको छ । मंगलबार एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री शेरबहादुर देउवाले एनआरएनएका अन्य मागसहित नागरिकता विधेयक अघि बढाइएको जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?