जसपा विवाद : बहुमत जुटाउन बाबुरामको कसरत, कारबाही गर्ने उपेन्द्रको तयारी

डिबी शर्मा
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । विभाजनको ‘एक स्टेप’ पर रहेको जनता समाजवादी पार्टीका दुवै पक्ष बहुमत जुटाउने कसरतमा लागेका छन् । छुट्टाछुट्टै बैठक बसिरहेका दुवै समूहले आफ्नो पक्षमा बहुमत पुर्‍याउन कसरत सुरु गरेका हुन् । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको बैठक मंगलबारदेखि काठमाडौंमा सुरु भएको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक बुधबारबाट वीरगञ्जमा सुरु भएको हो । विभाजनको अन्तिम तयारीमा रहेका दुवै पक्षका बैठकले यसबारे औपचारिक निर्णय गर्ने तयारी गरेका छन् ।

दुवै बैठकमा केन्द्रीय सदस्य तथा सांसदहरू बाँडिएका छन् । तर, कतिपय यस्ता सांसद तथा केन्द्रीय सदस्यहरू पनि छन् जो दुवै बैठकमा गएका छैनन् । पार्टी विवादमा दुवै पक्षतिर नखुलेको नेताहरूलाई फकाउने प्रयास बाबुराम पक्षले गरिरहेको छ । केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बुधबार जसपाका कार्यकारिणी सदस्य एवं सांसद राजकिशोर यादवलगायत नेताहरूलाई भेट्नुभएको छ । गौरीघाटस्थित राजकिशोर यादवको निवासमा भएको भेटघाटमा नेता पाण्डेले बाबुराम पक्षमा बहुमत कायम गर्न सहयोग गर्न आग्रह गर्नुभएको स्रोतले बताएको छ ।

उपेन्द्र यादवको पक्षमा बहुमत पुगे पार्टी एकलौटी रूपमा अगाडि बढ्ने र तानाशाही बन्ने हुँदा जसपामा बहुमत कायम गर्न सहयोगका लागि आग्रह गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार जवाफमा नेता यादवले आफू पार्टी विभाजनको पक्षमा नरहेको प्रतिक्रिया दिनुभएको थियो । तटस्थ केही नेता आफ्नो पक्षमा तान्न सकिए बहुमत पुग्ने बाबुराम पक्षको दाबी छ । बहुमत सांसद पनि आफ्नै पक्षमा रहेको समूहको दाबी छ ।

मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा २३० जना केन्द्रीय सदस्य उपस्थित भएको समूहले दाबी गरेको थियो । उता, यादव पक्षले पनि बैठकमा दुई सय बढी सदस्य उपस्थित भएको दाबी गरेको छ । जसपाको केन्द्रीय समिति ४९९ सदस्यीय रहेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनमा सजिलो हुने गरी अध्यादेश ल्याएपछि २०७७ वैशाख १० मा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई जसपा गठन भएको थियो । पछि ओलीले प्रतिनिधिसभा विघटन गर्दा दुई समूहबीच मतान्तर देखियो । अन्ततः गत भदौमा पहिलोपटक जसपा विभाजन भयो । ठाकुर-महतो पक्षले लोसपा गठन गरेका थिए ।

काठमाडौंको बैठक अवैधानिक हो, पार्टी विधान विधि र अनुशासनले चल्छ : यादव
काठमाडौंमा बहुमत जुटाउन कसरत गरिरहनु भएका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कारबाही गर्ने अर्का अध्यक्ष उपेन्द्र यादवको तयारी छ । बुधबार वीरगञ्जमा सुरु भएको केन्द्रीय समिति बैठकमा भट्टराईले बोलाएको बैठक विधानविपरीत ठहर गर्दै कारबाही गर्ने एजेण्डा छ । एक नेताका अनुसार भट्टराई पक्षको भेलामा गएका नेताहरूलाई हटाएर केन्द्रीय समिति र कार्यकारिणी समिति पुनर्गठन गर्ने तयारी छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको समूहले गरेको बैठक अवैधानिक भएको बताउनुभएको छ । वीरगञ्जमा बुधबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष यादवले पार्टीको विधानले संघीय परिषद् अध्यक्षलाई केन्द्रीय समितिको बैठक बोलाउने अधिकार नदिइएको बताउनुभयो । गुटको भेलालाई जसपाको ब्यानर प्रयोग गर्ने अधिकार नभएको उहाँको भनाइ थियो । ‘अझै पनि म भन्छु फर्किनुस्, भेला छाडेर साथीहरूलाई पार्टीमा फर्किन म आ≈वान गर्छु,’ उहाँले भन्नुभयो, ‘पार्टी विधान विधि र अनुशासनले चल्छ । त्यो पालना गर्दै अघि बढ्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?