राष्ट्रिय सभा बैठकः सांसदद्धारा गभर्नरको छानविन गर्न माग

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाण्डौ । राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए÷नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभाको शुन्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गर्नुभएको हो । उहाँले नियम, कानून, मूल्य मान्यता, गल्ति र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब,आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नियम कानून मूल्य मान्यता गल्ति र नैतिकता समाजलाई सुसंस्कृत बनाउनलाई हो । सकेसम्म संघर्ष नगरेर अभियान नचलाएर दबाब नदिएर आन्दोलन नगरेर यो नैतिकतालाई स्थापित गर्नपाए राम्रो हुने थियो भन्ने प्रतिपक्ष दलका नेताको उद्घोषलाई यति खेर पुनः आत्मासाथ गर्नुपर्ने देखिन्छ । बाहिर पत्रपत्रिकामा चर्चा परिचर्चा छ । एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै हुन् सरकार छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्दछु ।’

त्यस्तै, सांसद सरलादेवी भट्टले सरकारले महँगी नियन्त्रण गरी जनतालाई राहत दिनुपर्ने बताउनु भयो । उहाँले बजार महँगीले दिनभरी काम गरेर विहान बेलुका दुई छाक खाने परिवार अहिले भोकभोकै बस्न बाध्य रहेको गुनासो गर्नुभयो । उहाँले बजार मूल्य नियन्त्रण गर्ने सरोकारवाला निकाय र सरकार मौन बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सुस्थ अर्थतन्त्र बढ्दो बेरोजगारी चरम महँगी र महँगो स्वास्थ्य उपचारबाट पीडित जनताको थाप्लोमा बजारमा महँगी बढ्दा खान नसक्ने जनतालाई झनै कठिन भएको छ । सार्वसाधरण आम्दानी हुने परिवारलाई विहान बेलुका दुई छाक टार्न पनि समस्या भइरहेको छ ।

बजारमा चारैतिर महंगी व्याप्त छ । महँगी गर्ने निकाय कुनै छैन । सरोकारवाला र सरकार दुवै मौन छ । सिद्धान्त पनि एउटै तै चुप मै चुप रहेको छ । यस्तो अवस्था कहिलेसम्म रहने हो । दुई छाक टार्न नसक्ने जनताको अधिकार कहिलेसम्म हनन हुने हो । यसतर्फ समयमा नै ध्यान दिन सरकारलाई आग्रह गर्छु ।’

सांसद सुमित्रा बिसीले सरकारले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अवस्थामा आवश्यक नै नभएको हतियार खरिद गर्न लागेको भन्दै आपति जनाउनु भयो । उहाँले सरकारले सांसदहरुसँग समेत छलफल बिना महत्वपूर्ण नागरिकता, हातहतियार किन्ने, महिला हिंसा विधेयक हतार हतारमा ल्याएको बताउनु भयो । सांसद जीसीले यौन हिंसा सम्बन्धिको संकल्प प्रश्ताव राष्ट्रिय सभामा पास भएकाले हदम्यादको बारेमा सरकारले पुनर्विचार गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ सरकारले महत्वपूर्ण नागरिकता, हातहतियार किन्ने, महिला हिंसा विधेयक हतारहतारमा ल्याएको छ । कतै पनि छलफल समेत नगरेर विधेयकहरु ल्याएको छ । यौन हिंसा सम्बन्धिको संकल्प प्रश्ताव राष्ट्रिय सभामा पास भएकाले हदम्यादको बारेमा सरकारले पुनःविचार गरोस् ।

भोकमरी र महामारीले आक्रान्त भएका जनताहरुलाई अहिले आवश्यक नभएको बेलामा पनि हातहतियार किनेर जनतालाई सुरक्षित गर्छौं भन्ने कुरा बेठिक हो । सम्बन्धित निकायले आवश्यक छैन भन्दा भन्दैपनि प्रतिपक्षको बिरोध आयो भनेर बालुवाटार बोलाएर विज्ञप्ति निकाल्ने कुरा संसदमा सरकारले जानकारी दिनुपर्छ ।’

सांसद जिसीले सम्बन्धित निकायले आवश्यक छैन भन्दा भन्दैपनि प्रतिपक्षको बिरोध आयो भनेर बालुवाटार बोलाएर विज्ञप्ति निकाल्ने कुरा संसदमा सरकारले जानकारी दिनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?