उपसभामुख निर्वाचनमा भिडेका पुष्पा भुसाल र विद्या भट्टराईको राजनीतिक क्रियाशीलता यस्तो छ

Read Time = 6 mins

काठमाडौं । शुक्रबार हुने उपसभामुख निर्वाचनमा कांग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराईको मात्र उम्मेदवारी परेको छ । भुसाल अर्घाखाँची र भट्टराई कास्कीकी हुनु हो ।

अर्घाखाँची पोखराथोककी भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध हुनुहुन्छ । नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील हुनु भएको उहाँ नेपाल महिला संघको महासचिव भएर पनि काम गर्नुभयो । महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आउनु भएकी भुसालले विश्वविद्यालयमा प्रध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ बढाउनु भएको थियो ।

२०१७ फागुन १ गते जन्मिनु भएकी भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको भएको छ। त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्रध्यापन गनुभएकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुनु हो । उहाँ केही समय कानुन व्यावसायमा पनि सक्रिय भएर लाग्नुभयो । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएर उहाँले संविधान निर्माणमा भूमिका खेल्नुभयो ।

त्यसेबला उहाँले संविधान मस्यौदा समितिमा रहेर काम गर्नुभयो । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गनुभएकी नेता हुनु हो भुसाल । २०७४ सालको चुनावबाट समानुपातिक सांसदमा निर्वाचित भएर आएपछि भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार हुनु हुन्थ्यो । २ चैत २०७४ मा भएको उपसभामुखको चुनावमा भुसाल सांसद शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुन पुग्नुभएको थियो । तत्कालीन वाम गठबन्धनकी उम्मेदवार तुम्बाहाम्फे २०१ मत प्राप्त गर्दै विजयी हुँदा भुसालले ५८ मत प्राप्त गर्नुभएको थियो ।

तुम्बाहाङ्फेले राजीनामा दिएपछि रिक्त भएको सोही पदमा भुसालले अहिले फेरि उम्मेदवारी दिनुभएको छ । यो पटक उहाँलाई कांग्रेससहित पाँचदलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

उहाँको पारिवारिक पृष्ठमूमि राजनीति हो । २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहनु भएका काशीनाथ गौतमका छोरी हुनु हो भुसाल । २०१७ सालमा पञ्चायत सुरु भएपछि काशीनाथ गौतम १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा पनि सँगै हुनु हुन्थ्यो ।

उपप्राध्यापकको जागिर छोडेर सांसद हुनु भएको विद्या भट्टराई

विद्या भट्टराई विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय हुनु भएको नेता हुनु हो । उहाँ एमाले नेता राजन भट्टराईका बहिनी समे हुनु हो ।

२०४२ सालमा कक्षा ७ मा अध्ययन गर्दादेखि नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसँग नजिक भएर काम गरेको बताउने विद्याले पद्मकन्या क्याम्पसमा अध्ययन गर्दा विद्यार्थी आन्दोलनमा होमिनु भयो । उहाँले अनेमसंघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षसमेत भएर काम गर्नुभएको छ ।

२०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुख भएर काम गर्नुभयो । ०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेदवारी लिएर काम गर्नुभयो । त्यसबेला रवीन्द्र अधिकारी अनेरास्ववियुको महासचिव हुनु हुन्थ्यो। ०५६ मा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य र कार्यालय सचिव, बुद्धिजीवी परिषद सदस्य हुँदै विद्या प्राध्यापक क्षेत्रमा प्रवेश गर्नुभयो ।
०६२÷०६३ को जनआन्दोलनपछि एमालेको संघीय मामिला विभागको सदस्य भएर काम गर्नुभएको विद्यासँग उच्च शिक्षा पाठयक्रम निर्माण समितिको सदस्य भएर काम गरेको अनुभव छ ।

त्रिभुवन विश्वविद्यालयमाको खुल्ला सेवा आयोग परीक्षा पास गरी ०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायीरुपमा उपप्राध्यापकको जागिर सुरु गर्नुभएको उहाँ रवीन्द्र अधिकारीको निधनपछि तत्कालीन नेकपाको निर्णय मानेर कास्की–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनु भयो र जित्नुभयो ।

सांसद भएर आएपछि उहाँले जनजीविकाका सवालहरुमा आवाज उठाउँदै आउनु भएको छ । महँगी, भ्रष्टाचार, अनियमितता र न्यायका विषयमा उहाँले सरकार र सरोकारवालाहरुलाई प्रश्न गर्ने गर्नुभएको छ। भट्टराईलाई प्रमुख विपक्षी एमालेले उपसभामुखको उम्मेदवार बनाएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?